२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेश: तराईसँग जोडिँदै पहाड

रामपुर–कपुरकोट सडक (जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) अन्तर्गत पर्ने सन्धिखर्क–पकले–धारापानी–चुजाठाँटी सडक । तस्बिरः गणेश/नागरिक

लुम्बिनी प्रदेश सरकारले प्रदेशका पहाडी जिल्ला जोड्ने प्रदेश लोकमार्ग रामपुर–कपुरकोट सडक (जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) प्रदेश गौरवको आयोजना तीव्र गतिमा अगाडि बढाइएको छ। लुम्बिनीका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्व जोड्ने गरी रामपुर–कपुरकोट सडक निर्माणको काम अगाडि बढाइएको हो।

यो सडक पाल्पाको रामपुरदेखि सुरु भएर सल्यानको कपुरकोटसम्म पुग्ने छ। आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरिएको उक्त सडकको काम अहिले करिब ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। पहाडबाट तराईमा बढ्दो बसाइँसराइलाई रोक्ने, उत्पादनमा वृद्धि गर्ने र तिनको बजारीकरण गर्ने एवम् नयाँ धार्मिक एवम् पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले यो आयोजना सुरु भएको प्रदेश सरकारले जनाएको छ। 

यसको कूल लम्बाइ तीन सय किलोमिटर छ। जसमध्ये पाल्पामा एक सय १२, अर्घाखाँचीमा ७८, प्युठानमा ६७, रोल्पामा ३५ र सल्यानको सीमादेखि कपुरकोटसम्म आठ किलोमिटर दूरी पर्छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रमको प्रदेशस्तरका प्रमुख राजमार्गहरुको विस्तार गर्ने कार्यक्रम भित्ररामपुर–तानसेन–हार्थोक–छहरा–सन्धिखर्क–प्युठान–चकचके–भिंग्ररी–स्वर्गद्वारी–होलेरी–कपुरकोट सडक आयोजना कायम गरी पाँच करोड बजेट विनियोजन भएको थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा यस सडकअन्तर्गत पाल्पा र अर्घाखाँचीको लागि १० करोड रूपैयाँ तथा प्युठान र रोल्पाका लागि १० करोड रूपैयाँ बजेट विनियोजन भएको लुम्बिनी प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक हितेन्द्र रायमाझीले जनाए। उनका अनुसार सोही वर्ष नै अर्घाखाँचीस्थित सन्धीखर्क–धारापानी–चुजाठाँटी सडकखण्डमा १८, पाल्पास्थित तानसेन–रिडी–वाइपास सडकखण्डमा ३.५ किलोमिटर, प्युठानस्थित दाखाक्वाडी–बज्रिबांग–भिग्री सडकखण्डमा ६, र रोल्पास्थित निगालपानी–दहवन सडकखण्डमा ११.५ किलोमिटर लम्बाइमा काम हुने गरी प्रदेश योजना आयोगबाट बहुवर्षीय आयोजनाको रूपमा स्वीकृत भएको छ।

रामपुर–आर्यभञ्ज्याङ–बर्तुङ–होलाङ्दी–ढुंगाखानी–हार्थोक–छहरा–तिनगिरे–अर्घाखाँची सिमाना हुँदै डाँडाकटेरी–दुर्गा–घुम्ती–नरपानी–ढिकुरा–पोखेडाँडा (बन्चरेगौंडा)–पकले–धारापानी–ढाकावाङ–राज्मे–चुजाठाँटी (प्युठान सिमाना)–खलंगा–बिजुवार–दाखाक्वाडी–भिंग्री–स्वर्गद्वारी–रोल्पा सिमाना–होलेरी–दहवन–निगालपानी–सल्यान सिमाना–कपुरकोट रामपुर–कपुरकोटअर्थात् जीवराज आश्रित कृष्णसेन इच्छुक मार्गको रेखांकन गरिएको छ। उक्त सडकअन्तर्गत सन्धीखर्क–धारापानी–चुजाठाँटी सडकको काम ८० प्रतिशत सम्पन्न भएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक रायमाझीले जानकारी दिए। उनका अनुसार टेवा पर्खाल तथा १९ वटा ह्युम पाइप कल्भर्ट निर्माण भएको,  १५ किलोमिटर लम्बाइमा डीबीएसटी भएको छ। 

त्यस्तै दुर्गाफाँट–तिनगीरेखण्ड दुईवटा ठेक्काबाट १.१३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ। ११.५ किलोमिटर लम्बाइमा यहाँ १० प्रतिशत काम सम्पन्न भएको छ। तानसेन–रिडी–वाइपास सडक तथा पाल्पा जिल्लाको बाँकी खण्डको निर्माणसमेत ३.२ किलोमिटर सडकमा प्रथम कोट डीबीएसटी कालोपत्रे भएको र डीबीएसटीको दोस्रो कोटपश्चात् पूर्णरूपमा कालोपत्रे हुने सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ। उक्त कार्यालयका अनुसार यहाँ ८० प्रतिशत काम सम्पन्न भएको छ।

प्युठानस्थित दाखाक्वाडी–बज्रिबाङ–भिग्री सडक ६ किलोमिटर ब्याक कटिङ गरी सडक चौडा बनाइएको छ। टेवा पर्खाल र नौवटा ह्युम पाइप कल्भर्टको काम पूरा भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्युठान खण्डमा २५ प्रतिशत काम सम्पन्न भएको छ। निगालपानी–दहवन सडकखण्डमा भने काम सुचारु हुन सकेको छैन। बोलपत्र मूल्यांकनको विषयमा निर्माण व्यवसायीहरु सर्वोच्च अदालतमा पुगेकाले यहाँ काम सुचारु हुन नसकेको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक रायमाझीले जनाए। अदालतबाट उक्त विषय टुंगो लाग्नासाथ काम सुचारु हुने उनको भनाइ छ।

यो सडकले लुम्बिनीका पहाडी जिल्लालाई तराईसँग जोड्ने सहज हुनेछ। प्रदेशभित्रका जिल्लालाई जोड्न र यहाँको उत्पादनलाई बजारीकरण गर्न सहज हुने स्थानीयको भनाइ छ। यस सडकलाई यहाँको विकासको मेरुदण्ढका रूपमा लिइएको छ। बजेटको स्रोत अभाव हुँदा १० वर्षसम्ममा सडक निर्माण सम्पन्न हुने यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। ‘बजेटको सीमा बढाउँदा छिटै सम्पन्न हुने देखिन्छ,’ उनले भने, ‘तर प्रदेशमा बजेको स्रोत कम छ।’ 

यस सडकले स्थानीयको दैनिकीसँगै आवतजावतमा सहजता आउने उनले बताए।

प्रकाशित: २४ श्रावण २०७८ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App