१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाईघाट–दिक्तेल खण्डको कालोपत्रे सडक चिरा पर्दै भासियो

गाईघाट दिक्तेल खण्डको खाँबुमा भासिएको कालोपत्रे सडक। तस्बिर: महेश्वर/नागरिक

सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल खण्डको कालोपत्रे सडक भासिनुका साथै चिराचिरा परेर भत्किएको छ। सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने लोकमार्गको त्रियुगा नगरपालिका १५ खाँबुमा पर्ने साउने–रानीबास खण्डको सडक चिरा पर्नुका साथै भासिएको छ।

गाईघाटदेखि ३५ किलोमिटर माथि खाँबुको रातमाटेस्थित सडकको लगभग २५ मिटर दूरी  चिरा पर्नुका साथै २० मिटर हाराहारी दूरी पूर्णरुपमा भासिएको त्रियुगा १५ का वडाध्यक्ष नीरबहादुर मगरले बताए। उनका अनुसार साउन पहिलो सातादेखि परेको अविरल वर्षापछि सडक भत्किएको हो। सातादिनभन्दा बढी समय दिनहुँजस्तो मुसलधारे वर्षाले जमिनको सतह गलाएपछि साउन दोस्रो सातातिर सडक भासिएको उनले बताए।

सो सडक आर्थिकवर्ष ०७७/७८ मा मात्र कालोपत्रे गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ। निर्माणाधीन सडक साउनेदेखि दिक्तेलसम्मै स्तरोन्नतिसहित कालोपत्रे भईरहेको छ। गाईघाटदेखि साउनेसम्मको खण्ड दुईवर्षअघि नै कालोपत्रे भईसके पनि ६ महिनाअघि मात्र कालोपत्रे भएको साउने–रानीबास खण्डमा काम सकेलगत्तै भत्किएपछि आउजाउमा समस्या भएको छ। काम सकिएको केही समयपछि नै सडक भत्केपछि गाईघाट–दिक्तेल, गाईघाट–रौता आउजाउ गर्न समस्या भएको हो।  

सडक भासिएकाले १५ नं. वडाबासीलार्य सदरमुकाममा गाईघाटस्थित नगरपालिका केन्द्र आउजाउ गर्न पनि असहज भएको वडाध्यक्ष मगरले बताए। उनका अनुसार सडक भासिनुमा पुरिएको जमिन, पाँगो माटो र प्राविधिक इस्टीमेटमा कमजोरी भएको हुनसक्ने अनुमान गरिएको छ। भत्केको सडकको गाईघाट दिक्तेल सडक योजना कार्यालयलाई तत्कालै जानकारी गराईसकेको र यथासिघ्र मर्मत गर्न अनुरोधसमेत गरेको वडाध्यक्ष मगरले बताएका छ्न्।  

योजना कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले सो ठाउँमा भौगर्भिक समस्याकै कारण सडक भासिएको हुनसक्ने बताए। उनका अनुसार त्यहाँ डाँडै पाँगो माटो भएकाले लगभग २ सय मिटर खण्डमा सडक भासिने, चिरा पर्ने र भत्कने गरेको छ। गतवर्ष पनि सोही ठाउँ आसपास केही भाग भासिएको र यसपालि पनि भासिएको खकुरेलको भनाई छ। भत्केको सडक मर्मत गर्न प्राविधिक खटाईसकेको र कामचलाऊ मर्मत चाँडै गर्ने भए पनि दीर्घकालीन मर्मतका लागि भने प्राविधिकलाई विस्तृत सर्भेक्षण गरेर मात्र अघि बढ्ने योजना रहेको उनले सुनाए।  

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारका यातायात मन्त्री अशोककुमार राईको पहलमा निर्माण सुरु भएको १ सय ३३ किलोमिटर लामो गाईघाट–दिक्तेल सडकलाई सगरमाथा लोकमार्ग नामाकरण गरिएको छ। उदयपुरतर्फ गाईघाटदेखि रौतामाई गाउँपालिका ५ फोक्सिन्टारसम्म ५३ किलोमिटर र बाँकी ८० किलोमिटर खोटाङतर्फ फोक्सिन्टारदेखि महुरे हुँदै दिक्तेलसम्मको सडकको पछिल्लो ५ वर्षयता स्तरोन्नतिसहित कालोपत्रे गर्ने क्रम चलिरहेको छ।  

दुई सदरमुकामलाई सोझो यातायातले जोड्ने लक्ष्य लिएको लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुलको काम ढिलो हुँदा बेलिब्रीजको भर पर्नुपर्ने बाध्यता छ। हिउँद याममा पानीको सतह घट्दै गएपछि बेलिब्रीज जडान गरेर ६ महिना सोझो यातायात सञ्चालन भए पनि वर्षायाममा पानीको सतह बढ्ने भएकाले बेलिब्रीज खोल्नुपर्ने हुँदा वर्षेनी ६ महिना यातायात सम्बन्ध टुट्ने गरेको छ। फोक्सिन्टारस्थित निर्माणाधीन पुलको काम सुरु भएको ५ वर्ष बित्दा पनि ३० प्रतिशतभन्दा बढी हुन सकिरहेको छैन। फुल छिटो बनाउन दुवै जिल्लाबासीले पटक पटक गुनासो गरे पनि ठेकेदार कम्पनीले चासो नदिएका कारण पुल बन्न नसकेको स्थानीयको दुखेसो छ।

प्रकाशित: २२ श्रावण २०७८ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App