coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यसरी हुन्छ 'नागरिकतामा झेल'

गृह मन्त्रालय मातहतबाट जारी हुने नागरिकको राष्ट्रिय पहिचान खुल्ने प्रमाण नागरिकताको हिसाबले मोरङको रंगेली भन्ने ठाउँको निवासी देखिने एकजना वीरगन्जका व्यवसायी पवन भँगेरिया अहिले एकाएक चर्चामा आएका छन्। उनी मोरङ रंगेलीको ठेगाना देखाएर वंशज नागरिकता लिएका छन् भने उनका आफ्नै दाजु कैलासप्रसाद भँगेरिया भारतीय नागरिक हुन्।  

एउटै आमाबाबुबाट जन्मेको दु्ई सन्तानमध्ये जेठा छोरा भारतीय र कान्छो वंशज नेपाली नागरिकताधारी भएको प्रमाण स्थानीय सञ्चार माध्यममा सार्वजनिक भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले यसबारेमा खोजबिन सुरु गरेका छन्। आफ्नो बुवा रामअवतार प्रसादले अंगीकृत नागरिकता लिएकोले आफू उनको सन्तान भएको नाताले वंशजको नागरिकता लिएको पवन भँगेरियाले दाबी गरे। ‘मेरो बुवाको नागरिकताको आधारमा मैले पनि नागरिकता पाएँ, तर थाहा छैन यो कुरा किन इस्यु बन्यो,’ भँगेरियाले प्रतिक्रिया दिए, ‘नेपाली नागरिकता लिन योग्य भएपछि प्रमाणका आधारमा पाउने नागरिकता मैले नि लिएको हुँ।’ जिल्ला प्रसाशन कार्यालय पर्साले भने यस विषयमा तथ्य केलाउने काम सुरु गरेको छ।

‘यस विषयमा जिल्ला प्रसाशन कार्यालय पर्सामा धेरै पहिले उजुरी परेको भन्ने कुरा थाहा हुन आएपछि मैले मुद्दा फाँटका कर्मचारीलाई सो फाइल खोज्न लगाएँ, तर भेंटिएन,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले नागरिकलाई भने, ‘मैले कार्यालयमा भएका पुराना कर्मचारीको पनि फाइल खोज्नमा सहयोग लिएँ, नभेंटिएपछि के भएको होला भन्ने कुरा ठ्याक्कै थाहा हुन पाएन।’ यस्ता मुद्दामा जुन जिल्लाबाट नागरिकता जारी भएको हुन्छ त्यस सम्बन्धी उजुरवाजुर आएमा सम्बन्धित जिल्लालाई नै अनुसन्धानका लागि पठाइदिने चलन रहेकोले यस मुद्दामा पनि त्यहीँ भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारीको अहिलेसम्मको आँकलन छ।  

भारत बिहारको मुज्जफरपुर जिल्लाको अखाडाघाट घर भएका रामअवतार प्रसादका दुई सन्तान हुन कैलाशप्रसाद र पवन। कैलाश प्रसादले अहिले पनि भारत बिहारको मुज्जफरपुर जिल्लाकै आधिकारिक वासिन्दा रहेको खुलेको छ। यता भाइ नेपालको वंशज नागरकि भएर यहाँ कारोबार गर्दै आएका छन्। स्रोतका अनुसार भारतमा कानुन विपरीतको गतिविधिमा भाइ पवनको नाम मुछिएपछि भारतीय सुरक्षा निकायले नै उनको खोजिनीति सुरु गरेको थियो। पछि उनी नेपालमै नागरिकता लिएर बसोवास गरेको खुलेको थियो। त्यतिबेला वीरगन्जको आदर्शनगरमा मनाकामना नामको मोटरपार्टसको कारोबार गर्र्ने फर्म खोलेर भँगेरियाले कारोबार गर्ने गरेका थिए। अहिले पनि उनी विभिन्न व्यवयाय सञ्चालन गर्ने गरेका छन्।

‘मेरो बुवा मोरङमै रउटा चामल उद्योगमा कर्मचारी हुनुहुन्थ्यो, बुवाले तत्कालीन कानुनअनुसार नागरिकता लिनुभएको थियो, धरानमा एउटा जग्गा पनि किन्नुभएको थियो, पछि त्यो जग्गा बेचियो,’ पवनले नागरिकसँग भने, ‘हो मेरो परिवारका अरू सदस्यहरू भारतीय नागरिक छन्, उनीहरू भारतमा बसेको हुनाले त्यहाँका नागरिक हुन्,म नेपालमा छु, यहाँको नागरिक हुँ।’

प्रकाशित: २१ श्रावण २०७८ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App