coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद

इतिहासमै पहिलो पटक भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी) को छनौटमा विवाद परेको छ। प्रत्येक वर्ष दशैंको विजया दशमीको दिन राष्ट्रप्रमुखबाट पूजाआजा गर्न आउने भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकस्थित ऐतिहासिक मन्दिरमा नकीं छनौटमा विवाद भएपछि अदालतसम्म पुगेको छ।  

प्रत्येक वर्ष आपसी छलफलबाटै नकीं छनौट हुने गरेको र सोही अनुसार यो वर्ष पनि भएकोमा आफनो पालो मिचिएको भन्दै इन्दिरा बनमालाले नेपालको संविधान २९७२ को धारा १४४(१)(२) बमोजिम उपयुक्त आज्ञा आदेश जारी गरी पाउँं भनी उच्च अदालत पाटनमा निवेदन पत्र दर्ता गराएकी छिन्। विवादका कारण अहिलेसम्म त्यहाँं नकीं छनौट हुन सकेको छैन।

नकी छनौट गरिसक्नुपर्ने मिति गुज्रेका कारण यसअघि गर्नुपर्ने विशेष पूजामा दुवै पक्ष दलबलका साथ आई पूजाआजा गरेका थिए।  

मन्दिरमा प्रत्येक वर्ष पालोअनुसार नयाँं नकीं छनौट हुने गर्दछ। साथै नवदुर्गा देवगण भई वर्षभरि विभिन्न स्थानमा गई नाच्न जाने देवगणहरु छनौट हुने गर्दछन्। परिवर्तन हुने नयाँं १९ जना देवगणहरुको हकमा भने विवाद भएको छैन। प्रत्येक वर्ष नयाँं नकीं र पुराना देवगणहरु परिवर्तन भई पालो हस्तान्तरण हुने गर्दछ।  

नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सदस्य तथा नाइकेका छोरा बालकृष्ण बनमालाले बनमाला जातिले मात्र थाहा दिई नकीं तथा देवगण छनोट हुने प्रकिया हुने गरेकोमा यसवर्ष यस्तो हुन नपाएको बताए। यही कारण दर्जनौं प्रहरी घेरामा दुवैजना नकींले हालैेमात्रै विशेष पूजा गरेको उनले स्मरण गरे। मन्दिरभित्र अनेकौ समितिहरु छन्। उनले भने, ‘यस विषयमा ती सबै समितिहरुले कुनै किसिमको पहल नभएका कारण पनि यस किसिमको विवाद चर्किरहेको छ। समितिका विशेष पद पाएकाले आफ्ना जिम्मेवारी नलिएको र समितिलाई आफ्ना स्वार्थका लागि मात्र प्रयोजनमा लिएको छ।’ विवादले पुरै बनमाला तथा भक्तपुरबासीलाई समेत अपठ्यारोमा पारेको उनको बुझाइ छ।

छनौट हुने नकींले नवदुर्गाको मन्दिरमा दैनिक नित्यपूजा र आरती गर्ने गर्छिन्। त्यसबापत उनले पाउने भनेको त्यहाँं चढाएको दक्षिणा मात्रै हो। जुन थोरै हुने बताइन्छ।  

सहमतिमा कुरा नमिलेपछि अब अदालतको फैसला अनुसार नै नयाँं नकीं छनौट हुनेछन्। यसअघिका वर्षहरुमा भए यो समयसम्ममा नकीं छनोट भइ घण्टाकर्ण चहे«पछि (यो वर्ष साउन २२ गते शुक्रबार) बाट लगभग दुई महिना नयाँ नियुक्त देवगणहरुलाई नाचगान सिकाउन सुरु हुने परम्परा छ। यही अनुसार नाचगाण सिकेका नयाँं देवगणहरु वर्षभरि नै भक्तपुरका टोलटोलका साथै काठमाडौं र काभ्रेपलान्चोक जिल्लाका विभिन्न टोलहरुमा पुगेर नवदुर्गा नाच नाच्ने जाने गर्दछन्। 

प्रकाशित: १६ श्रावण २०७८ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App