२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना हिरोलाई 'शहीद मनोज जोशी प्रतिभा पुरस्कार'

शहीद मनोज जोशी प्रतिभा पुरस्कार ग्रहण गरेपछि ल्याब टेक्निसियन शेखर अधिकारी र सवारी चालक युवराज गुरुङ ‘काजी’ । तस्बिर सौजन्य : दिलीप खत्री

खोटाङमा कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा अग्रणी भूमिका खेल्ने स्वास्थ्यकर्मी र चालकलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा आफ्नो ज्यान जोखिममा राखेर सेवा गर्ने जिल्ला अस्पताल खोटाङका ल्याब टेक्निसियन शेखर अधिकारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवारी चालक युवराज गुरुङ ‘काजी’लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो। 

शहीद मनोज स्मृति दिवसको अवशरमा शुक्रबार दिक्तेल अस्पतालचोकस्थित समाधिस्थलमा आयोजित माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रममा ल्याव टेक्निसियन अधिकारी र चालक गुरुङलाई जनही पाँच हजार राशीको पुरस्कार प्रदान गरिएको हो। उनीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले पुरस्कार हस्तान्तरण गरेका हुन्। बिगतका वर्ष मनोजमार्ग सरसफाई, अस्पतालका बिरामीलाई फलफूल वितरण, व्याटमिन्टन, चेस, कविता, गजल र हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम गर्दै मनोज जोशी स्मृति दिवस मनाउने गरिएकामा यसपल्ट कोभिड–१९ का कारण समाधिमा माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रम मात्र आयोजना गरिएको मनोज स्मृति प्रतिष्ठानले जनाएको छ।  

२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो। तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुबिधा नदिइएको विरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो।

विरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन्। दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ। लामो समयदेखिको मागका बाबजुद जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो।  

त्योबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुर्व्यवहार गरेका थिए। सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए। सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाउँदै आएको छ। 

दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराकारुपमा जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो। वास्तबिक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए। यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमा परिचित थिए।  

जोशीलाई शहीद घोषणा गर्ने माग पुरा भए पनि दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए।

प्रकाशित: १५ श्रावण २०७८ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App