२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा एकवर्षमा २३४ दुर्घटना, ३८ को मृत्यु, ३८५ घाईते

गाईघाटस्थित जिल्ला ट्राफिक कार्यालय, उदयपुर। तस्बिर: महेश्वर/नागरिक

गएको एकवर्षमा दुर्घटनामा परी उदयपुरमा ३८ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष ०७७/७८ मा सानाठूला सवारी दुर्घटनामा परी ३८ जनाको ज्यान गएको छ भने ३ सय ८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

ट्राफिक प्रहरीको अभिलेख अनुसार ०७७ साउन १ देखि ०७८ असारसम्म २ सय ३४ साना ठूला सवारी दुर्घटनामा परी ३० पुरुष, ५ महिला र ३ बालबालिकाको ज्यान गएको हो। त्यस्तै ६१ पुरुष, १२ महिला र ५ बालबालिका गरी ७९ जना गम्भीर घाईते भएको ट्राफिक प्रहरी गाईघाटका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) लिलाकुमार श्रेष्ठले बताए।

सामान्य घाईते हुनेको संख्या ३ सय ६ जनामध्ये पुरुष २ सय ३, महिला ६४, बालक ३६ र बालिका १३ जना छन्। त्यसैगरी गत आर्थिकवर्ष दुर्घटामा एक चौपाया घाइते भएको तथा दुई चौपायाको मृत्यु भएको अभिलेख ट्राफिक प्रहरीसँग छ।

ट्राफिक प्रहरीले गतविगत वर्षभन्दा ०७७/७८ मा ७ जना बढीको ज्यान गएको जनाएको छ। २०७६/०७७ मा सवारी दुर्घटनामा परी ३१ जनाको ज्यान गएको थियो। ०७६/७७ मा सवारी दुर्घटनाबाट २४ पुरुषसहित ३१ जनाको ज्यान गएको थियो भने ५२ पुरुषसहित ७० जना गम्भीर र १ सय ६४ जना सामान्य घाइते भएका थिए।  

सई श्रेष्ठका अनुसार क्षमताभन्दा बढी यात्रु बोक्ने, तिव्र गतिमा गुड्ने तथा मादक पदार्थ सेवन गरेर नियम उल्लंघन गर्नेहरु दुर्घटनामा पर्ने गरेको पाइएको छ। सवारी नियम, दुर्घटनाको कारण र सडकको अवस्था अनुसार चलाउन ट्राफिक प्रहरीले पटक पटक सचेतना कार्यक्रम चलाए पनि चालक र सहचालकको लापरबाहीका कारण दुर्घटना भएर अकालमा ज्यान गुमाउनेदेखि र्घाते र अंगभंग हुनेसम्मका समस्या आईपर्ने गरेको छ।  

ट्राफिक प्रहरी भुवन राईले पछिल्लो समय गाईघाटमा सवारी साधनको संख्या बढ्दै गएसँगै  दुर्घटना पनि बढ्दो क्रममा रहेको बताए। सवारी सधानको संख्यामा बृद्धि भएपछि वर्षेनी दुर्घटना हुने क्रम पनि बढेको राईको भनाई छ। दुर्घटनाको मुख्य कारण भने ट्राफिक नियम पालना नगर्नु, विना सवारी अनुमतिपत्र (लाईसेन्स्) सवारी चलाउनु, सहचालकलाई सवारी चलाउन दिनु तथा सडकको दुरावस्था पनि उत्तिकै जिम्मेबार रहेको ट्राफिक प्रहरी शम्भु थापाले बताए।

प्रकाशित: १५ श्रावण २०७८ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App