१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भाडाको घरमा स्थानीय सरकार

सिन्धुलीको तीनपाटन गाँउपालिकाको निर्माणधिन भवन। तस्बिर: अनिल/नागरिक

सिन्धुलीका चार ओटा स्थानीयतहको कार्यालय अझै भाडामा छ। नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामाअझै चार वटा स्थानीयतहले भाडाको घरबाट कार्यालयको प्रशासनिक काम सञ्चालन गरिहेका छन्। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झन्डै पाँचवर्षे कार्यकाल पुरा हुनै लाग्दा समेत सिन्धुलीका चार स्थानीय तहको कार्यालय भाडामै सञ्चालित रहेका छन्। 

यहाँको दुधौली नगरपालिका, तीनपाटन गाँउपालिका, घ्यालेख गाँउपालिकाले भाडाकै घरमा कार्यालय सञ्चालन गरिहेका छन्। यस्तै सुनकोसी गाँउपालिकाको समेत आफ्नै भवन निर्माण सम्पन्न भएको छैन। भाडामा सञ्चालित स्थानीय तहका धमाधम कार्यालय भवन निर्माण भइरहेको र अबको केहि समयमा आफ्नै भवनमा कार्यालय सञ्चालन हुने जनाएका छन्। 

भौगोलिक हिसाबमा नेपालकै दोस्रो ठुलो गाँउपालिकाको रुपमा रहेको तीनपाटन गाँउपालिकाको सुविधा सम्पन्न भवन निर्माण भइरहेको गाँउपालिकाले जनाएको छ। गाँउपालिकाको प्रशासनिक भवन धमाधम निर्माण हुदै छ, गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले भने, 'अबको केहि महिनामै सुविधा सम्पन्न भवनबाट कार्यालय सञ्चालन गर्छौ।' विगत दुई वर्षदेखि झन्डै पाँच करोड ५३ लाख रुपैयाँको लागतमा गाँउपालिकाको भवन निर्माण भइरहेको उनले जनाए। सम्झौता अनुसार ठेकेदारले २०७९ सालअसार २५ गते निर्माण सम्पन्न गरि भवन निर्माणको जिम्मा लिइएको भए पनि धमाधम निर्माण कार्य भइरहेकाले अबको केहि महिनामै नयाँ भवनमा कार्यालय सञ्चालन गर्न सकिने उनले बताए।  

वार्षीकरुपमा १९ लाख रुपैयाँ भाडा बुझाउँदै आएको गाँउपालिकाको भवन निर्माण भएपछि सबै सेवा एउटै भवनभित्रबाट दिन सकिने गाँउपालिकाले जनाएको छ। भाडामा लिएर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई पनि समस्या र झन्झट भएको सेवाग्राही बताउछन्। धेरैवटा भवनबाट गाँउपालिकाले सेवा दिएकाले सेवाग्राहीलाई समस्या भएको र नयाँ भवन बनेपछि सहज हुने गाँउपालिकाले जनाएको छ। गाउँपालिकाको झण्डै दुई विगाहा जग्गामा गाउँपालिकाको प्रशासनिक भवनसहित अन्य एकिकृत भवन निर्माण भइरहेको छ। यस्तै दुधौली नगरपालिकाले भने दुई ठाँउमा प्रशासनिक भवन र विषयगत कार्यालयको भवन दुई बर्षदेखि निर्माण भई रहेको जनाएको छ। 

नगरपालिकाका मेयर घनश्याम राउतले दुई ठाँउमा निःशुल्क जग्गा उपलब्ध भएकोले दुई तीर भवन बनाउनु परेको बताए। नगरपालिकाको आफ्नै पाँच करोड रुपैयाँ लगानीमा प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ, उनले भने अबको तीन/चार महिनामा यो भवनको निर्माण कार्य सकिने छ। अर्को विषयगत कार्यालयको भवन भने नगरपालिका र संघिय सरकारको गरी १५ करोड रुपैयाँ लागतमा धमाधम निर्माण भई रहेको छ। यो भवनभने निर्माण पुरा गर्न अझै दुई वर्ष लाग्न सक्ने नगरपालिकाले जनाएको छ। 

अहिले नगरपालिकाले कार्यालय सञ्चालन गर्न लिएको भवनको मासिक रुपमा दुईलाख रुपैयाँ भाडा बुझाउदै आएको छ। त्यस्तै घ्याङलेख गाँउपालिकाले पनि एक करोड रुपैयाँको लागतमा दुई ठाँउमा भवन निर्माण गरिहेको जनाएको छ। अहिले विद्यालयको भवन भाडामा लिएर पालिकाको सेवा प्रवाह गर्दै आएको र भाडा बापत मासिक ३० हजार रुपैयाँ विद्यालयलाई बुझाउदै आएको गाँउपालिकाले जनाएको छ। यस्तै सुनकोशी गाउँपालिकाले धमाधम भवन बनाइरहेको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताइन्। गाँउपालिकाको भवन धमाधम निर्माण भइरहेको छ, उनले भनिन्, अबको केहि महिनामा गाँउपालिकाको आफ्नै भवन निर्माण सम्पन्न हुन्छ। कमलामाई नगरपालिका, गोलन्जोर गाँउपालिका, फिक्कल गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका र मरिण गाँउपालिकाको आफ्नै भवनबाट सेवा दिइरहेका छन्।  

प्रकाशित: १४ श्रावण २०७८ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App