७ वैशाख २०८१ शुक्रबार
समाज

दुई साता नबित्दै फेरि भत्कियो सिवाई पुल

झन्डै १२ वर्ष लगाएर बन्न बेला २ साताअघि बाढीले भाँचेको उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगा नदीमा निर्मित पक्की मोटरेबल पुलका थप २ पिल्लर शनिबारको बाढीले भाँचेको छ। शनिबार बिहानदेखिको मुसलधारे वर्षापछि आएको बाढीले सिवाई र बेल्हा जोड्ने पुलको थप २ वटा पिलर र ३ सल्याप पानीको सतहमा मिलाइदिएको छ।

दुई साताअघि असार २० गते बाढीले एउटा पिल्लर बंग्याउँदा दुईवटा स्ल्याब भाँचिएको थियो। निर्माण नसक्दै भत्केको पुलको अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको विज्ञ प्रााविधिक टोली आएर छानबिन गरी फर्किएको भोलिपल्टै पुनः पुल बाढीले भत्काएको हो।

 डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका सिनियर डिभिजन इन्जिनियर, पुल महाशाखा सिनियर डिभिजनल इन्जिनियर र पुल सेक्टर १ धरानका इन्जिनियरसहितको टोलीले स्थलगत अध्ययन गरेर फर्केलगत्तै पुल पुनः भत्केको हो। टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै पुल थप भाँचिएपछि यो पुलको औचित्य लगभग समाप्त भएको स्थानीयको अनुमान छ।  

शनिबार थप २ पिल्लर र ३ स्ल्याब खसेपछि पुल काम नलाग्ने अवस्थामा पुगेकाले पुल मर्मतभन्दा पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको स्थानीयको भनाइ छ। गाईघाट दिक्तेल सडक आयोजनाको रेखदेखमा निर्माण भइरहेको पुल यही असारभित्र सक्नेगरी काम भइरहेको थियो। निर्माणको अन्तिम चरणमा पुगेर उद्घाटनको तिथिमिति तय भइरहँदा पुल भत्केपछि मर्मत गर्न गठित विज्ञ टोली स्थलगत अध्ययन गरेर शुक्रबार मात्र फर्केको बताइएको छ।  

११ स्पानको २ सय ८० मिटर लामो र साढे ५ मिटर चौडाइको पुलमा १२ पिल्लर र ११ वटा स्ल्याब रहेका थिए। तीमध्ये २ पटकमा बाढीले ३ पिल्ल र ५ स्ल्याब भाँचिएपछि अब पुल लगभग मर्मत गर्दा पनि काम नलाग्ने अवस्थामा पुगेको अनुमान प्राविधिकहरूले गरेका छन्। सुरुमा ९ करोड ७६ लाख रूपैयाँ लागत इस्टिमेट रहेको पुल समयमा काम नसकिएपछि मूल्य समायोजन गर्दै लाँदा ११ करोड २७ लाख पुगेको गाईघाट दिक्तेल आयोजना कार्यालय प्रमुख गोपाल खकुरेलले बताए।  

निरन्तर बाढीकाले प्रवाहले सुरुमा एउटा पिल्लर बंग्याएर दुईवटा स्ल्याब भाँचिएका थिए। तर, पछिल्लो बाढीले अरू पिलर बंग्याएपछि पुल मर्मत गर्न मिल्छ कि मिल्दैन भन्ने अध्ययन गनुपर्ने खकुरेलले बताए। तीन वर्षभित्र बनाइसकेर हस्तान्तरण गर्नेगरी २०६७ मा पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कलंकीले थालेको थियो। डिजाइन र माटो परीक्षण बालाजु काठमाडौं स्वाइल कन्सल्टेन्सीले गरेको पुलको काम कच्ची र गुणस्तरहीन सामग्रीको प्रयोग भएर हो या अन्य कारण भन्ने विषयमा अध्ययनपछि मात्र भन्न सकिने खकुरेलले जनाएका छन्।  

निर्माण कम्पनीले हस्तान्तरण गरेपनि निश्चित अवधिभित्र पुल बिग्रे भत्केमा मर्मत गर्ने जिम्मा ठेकेदारकै हुने प्रावधान छ। तर, यो पुल हस्तान्तरण गर्नुअघि नै पुल भाँचिएपछि कमजोरी देखिएकाले त्यसको अध्ययन गर्न सडक विभागले विज्ञ प्राविधिक टोली गठन गरेर अध्ययन थाल्ने तयारी भइरहँदा अर्को पटक भाँचिएपछि थप अध्ययन गर्नुपर्ने खकुरेलले बताए। पुल निर्माणमा लापरबाही गरेको भन्दै निर्माण कम्पनी महालक्ष्मी / लोकप्रिय जेभीलाई करिब १ करोड जरिवाना यसअघि नै तिराइसकेको पनि बताइएको छ ।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले धेरै लामो समयपछि निर्माणको अन्तिम चरणमा पुगेको पुल भत्कनुले नगरवासीलाई अझै ५/७ वर्ष डुंगाको सहारा लिनुपर्ने बाध्यता लम्बिएको बताए । उनका अनुसार सिवाईमा पुल नभएका कारण हरेक वर्षायाममा नगरपालिका केन्द्र बेलटार आउजाउ गर्न ५ नं. वडावासीलाई डुंगा चढ्नुपर्ने बाध्यता छ। पुल नहुँदा बर्सेनि सिवाई र ज्यामिरेमा डुंगा चलाएर नदी वारपार गर्नुपर्ने बाध्यता रहेकाले सिवाइको पुल छिटो बनाउन ताकेता गर्दै आएको मेयर राईले बताए । तर, बनिसक्दै लागेको पुल पनि बाढीले भत्काएपछि सिवाइमा स्थानीयको पीडा जस्ताको तस्तै भएको छ। वडा नं. ९ र १० लाई जोड्ने ज्यामिरेमा पनि डुंगाको सहाराले नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्न तत्काल पुल बनाउनुपर्ने माग मेयर राईले गरेका छन् ।  

बरुवा पुल पनि जोखिममा

शनिबारकै बाढीले सदरमुकाम गाईघाटदेखि साउने जोड्ने बरुवा खोलाको पुलमा पनि क्षति पुगेको छ। बरुवा खोलाको बाढीले गाईघाट दिक्तेल सडक खण्डको बोक्से–चप्पन जोड्ने पक्की पुलको बाँयापटिको तारजाली लगाइएको भागमा क्षति गरेको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताएका छन्।  

उनका अनुसार बाढीले पुल छेउमा लगाइएको तारजालीसहितको बाँधमा क्षति पुगेको छ। बाढीले क्षति गरेको जानकारी आएलगत्तै जेसिबीसहित गएको टोलीले शनिबार साँझै रोकथामको प्रयास थालेको उनले बताए। समयमै रोकथाम नगरे पुलमासमेत क्षति पुग्ने जोखिम रहेको एसपी बोहराले बताए ।  

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले पुलको छेउमा केही तारजाली भरेको ठाउँमा बाढीले क्षति गरेको जानकारी आएपछि मर्मतका लागि नरपालिका र सरोकारवाला निकायलाई अनुरोध गरेको बताए। उनले हाल क्षति सानै छ तर, पनि वर्षा निरन्तर भइरहे ठूलो समस्यामा परिणत हुन सक्ने देखिएकाले प्रहरी, सशस्त्र र नगरपालिकासँग साझेदारी गरेर तत्काल मर्मतको पहल थालिने बताए। सम्भावित बिपत्तीबाट बँच्न जिल्ला विपत् व्यवस्थापन समितिले उद्धार टोली तैनाथ राखेको पनि सिडिओ सेढाईँले बताएका छन्।  

प्रकाशित: ७ श्रावण २०७८ ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App