१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बर्खाले बस्ती डुबान, नदीका बाँध कटान

जिता खोलाको बाढी गाउँ पस्ता डुबानमा परेको तिलाठीकोइलाडी गाउँबस्ती । तस्विरःमिथिलेश/नागरिक<br>

निरन्तरको वर्षाका कारण सप्तरीको जिता नदीको बाढी गाउँ पस्दा तिलाठीकोइलाडी गाउँपालिकामा करिब तीन सय घर डुबानमा परेका छन्।

तिलाठीकोइलाडीको लबटोलीया, गोरियारी, तेलियाही,जटीटोल, तोपालगायत बस्तीका तीन सय घर डुबानमा परेका हुन्। निरन्तरको वर्षाका कारण जिता र खाँडो नदीमा आएको बाढी बस्तीमा पसेर घर डुबाएको छ।

नदीको पानी बस्तीमा पस्दा बहादुर मुखियाको घर डुबेको छ। चुल्हो, खाद्यान्न, लत्ताकपडा भिजेका छन्। ओढ्ने ओछ्याउने सबै भिजेर मुखिया परिवार घरमै थुनिएका छन्। जरना गोइठा सब भिजगेलै(दाउरा गुइठा सबै भिजिसक्यो) मुखियाले भने,‘ने चुल्ही रहलै ने जलाबन आ ने चाउर दाईल आब कि खा क रहबै(न चुल्हो जोगियो न दाउरागुइठा, चामल दाल पनि भिजेपछि अब के खाएर बस्नु)।’

यस बस्तीका बहादुर मुखिया, बाबुलाल मुखिया, लक्ष्मण मुखिया, रघु मण्डलको जीवन कष्टकर बनेको छ। घर पानीले भरिएको छ। बस्तीबाट बाहिर निस्किने अवस्था छैन। घर भित्र भएको अन्नपात भिजेपछि उनीहरुलाई हातमुख जोड्न समस्या छ।  

१६ जनाको परिवार रहेको रघु मुखिया भन्छन्,‘सियान त केहनो क रात काइट लेबै मुदा बौवा बुची कोना क भुके रहतै(घरका अभिभावकहरु त भोकभाकै रात काटिहाल्छौ तर बच्चाहरु भोकभोकै कसरी निदाउन सक्छन्)। अहिलेसम्म कोही पनि खानेकुरा वितरण गर्न नआएकाले यहाँका डुबान पीडितहरु चिन्तित छन्।

यस गाउँका सर्वसाधारण वर्षेनी डुबानको नियति भोग्न बाध्य भएपनि स्थानीय सरकार राहतमा उदासिन बनेको स्थानीय बुद्धिजिबी गिडु सिंहले बताए। स्थानीय सरकार यहाँका डुबान पीडित सर्वसाधारणको पीडामा मलम लगाउन विफल बनेको उनको भनाई छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार खाँडो र जिता नदीमा पानीको सतह बढेर बाढी गाउँ पस्दा हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठीकोइलाडी गाउँपालिका र सप्तकोशी नगरपाकिलाका बस्तीहरु डुबानमा परेका छन्। अहिले बिस्तारै बस्तीमा पानीको सतह घट्दै गएको छ।

तिलाठीकोइलाडी गाउँपालिकाका डुबान पीडितहरुलाई आवश्यक राहत(खानेकुरा) व्यवस्थापन गर्न पालिकालाई निर्देशन दिइसकेको छु प्रजिअ आचार्यले भने,‘बस्तीका मानिसलाई अन्यत्रै सार्नुपर्ने अवस्था छैन। बिस्तारै जनजिवन समान्य बन्दैछ।’

यता, कमला नदीको बाढीले बाँध कटान थालेपछि धनुषाको पूर्वी क्षेत्रका स्थानीय त्रसिद बनेका छन्। सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो। बाढीका कारण ६ सय मिटर बाँध जोखिममा परेको छ।

बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए। बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाको गाउँहरु डुबानमा पर्ने खतरा बढेको छ। बाँध बचाउन नेपाली सेना र सशस्त्र प्रहरी मंगलबार बिहानैदेखि परिचालन गरिएको प्रजिअ बास्तोलाले बताए।

धनुषातर्फ किरतपुर र ढोलबज्जमा कमलाको बाढी बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए। कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए। कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट नभएको उनले बताए। गत आर्थिक वर्षमा हामीले माग गरी पठाएको विपद् नियन्त्रण गर्ने अपातकालिन बजेट अर्थ मन्त्रालयले कटौती गरेका कारण बाँध बचाउन समस्या भएको उनले बताए।  

झरीमा छाता ओढेर कमला नदीको बाढीले कटान गरिरहेको तटबन्ध निरीक्षण गर्दै पूर्वमन्त्री मात्रिकाप्रसाद यादव ।

पूर्वमन्त्री एवं यस क्षेत्रका सांसद मात्रिकाप्रसाद यादवका अनुसार अर्थ मन्त्रालयले तत्काल ५० लाख रुपैयाँ निकासा गरी प्रभावित क्षेत्रमा काम सुरु भैसकेको छ। यादवले भने,‘हामीले कमला नदीको बहावमाथि निरन्तर निगरानी गरिरहेका छौं।’ तटबन्ध मर्मत तथा निर्माणका विषयमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग कुरा गरिसकेको समेत उनले बताए। 'मन्त्रीबाट तटबन्ध समस्याको दिर्घकालिन सामाधानका लागि आस्वान पाएको छुँ,' यादवले भने।

अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित देशकै पुरानो चन्द्रनहरको बाँध भत्काएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। नहर भत्किएपछि बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका  १, २, ४ र ११ वडाका घरहरु डुबानमा परेका छन्। ती घरमा ३ फिटसम्म पानी जमेको छ। सोमबार साँझबाट बस्तीको पानी घट्दै गएपछि मासिनहरु समान्य जिवनमा फर्किएको प्रजिअ आचार्यले बताएका छन्।

प्रकाशित: ५ श्रावण २०७८ १५:४१ मंगलबार

बर्खा बस्ती डुबान बाँध कटान