१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

फेरिँदै मध्यपुरको मुहार

लामो वर्ष देशभरका स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको बेला भक्तपुरको मध्यपुर थिमि नगरपालिका पनि अस्तव्यस्त थियो। तर स्थानीय निकायको निर्वाचनसँंगै देशभर जस्तै मध्यपुर थिमि नगरपालिकाले पनि जनप्रतिनिधि पायो। जनप्रतिनिधि पाएसँगै यो नगरपालिकाले बिस्तारै मुहार फेर्न थालेको छ।  

नगरभित्र रहेका ऐतिहासिक मन्दिर, पाटी, ढुंगेधारा, इनार, बिहार, पार्क, दरवार, पोखरी आदि पुनर्निर्माणले तीव्रता पाएको छ। स्थानीय तहको नेतृत्व जनप्रतिनिधिले सम्हालेपछि नगरभित्रका ऐतिहासिक सम्पदाले पुनर्निर्माण तथा जीर्णोद्धार कार्य सुरु भयो।  

मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधिको आवागमनपछि नगरमा पोखरी १५, इनार २०, मन्दिर २३, ढुंगेधारा २६, पाटी ३७, बिहार ५, पार्क १३ वटा र दरबार ३ वटा निमार्ण तथा जिर्णेद्धारा गरिएको जानकारी दिए।  

नगरभित्र २५ वटा पुखु (पोखरी) रहेकोमा १५ वटा पुनर्निमार्ण भएको उनले बताए। उनले जसमध्ये ५ वटाको काम सकिसकेको र बाँकी १० वटा पोखरीको काम समापनको क्रममा रहेको जानकारी दिए। सम्पदा निर्माण तथा जिर्णोद्धारका लागि हालसम्म नगरपालिकाले ७५ करोड रूपैयाँ खर्च गरिसकेको बताउँदै नगर प्रमुख श्रेष्ठले आउँदो वर्षका लागि थप ३५ करोड रूपैयाँसमेत विनियोजन गरिएको जानकारी दिए।

मध्यपुर थिमि नगरले उपभोक्ता समितिमार्फत विष्णुकुण्ड पुखुः, निगु पुखु, कयकुताः पुखुः, पलिस्वाँ पुखुः, कुमारी पुखुः दक्षिण बाराहीस्थित क्वाछें पुखुः को संरक्षण गरेको छ । त्यसैगरी, कोलाखु पुखुः, वामुने पुखुः गुँला पुखुः, देवु पुखुः, खपलाँ पुखुः, खाँसी पुखुः नछुटोल पुखुः निर्माणाधीन छन्। पोखरी संरक्षणका लागि मात्र नगरपालिकाले करिब ८ करोड रुपैयाँ खर्च गर्ने नगर प्रमुख श्रेष्ठले बताए।

अस्तित्वविहीन अवस्थामा पुगेका सम्पदाहरूलाई जोगाउँदै अन्य भग्नावशेषमा परिणत ऐतिहासिक धरोहरलाई उभ्याउने कार्य भइरहेको छ यहाँं। नगरपालिकाले प्रयोगविहीन फोहोरले ढाकिएका २० वटा इनारको संरक्षण गरेको छ। इनार संरक्षण तथा जीर्णोद्धारका लागि नगरले करिब १ करोड ७५ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।  

कला, सम्पदा र संस्कृतिले भरिपूर्ण भईकन पनि मध्यपुर थिमि ओझेलमा परेका थिए। यहाँका सम्पदाहरूले खासै चर्चा पाउन सकेका थिएनन्। नेतृत्वको अभावले ऐतिहासिक सांस्कृतिक मठमन्दिर, बौद्ध बिहार, पोखरी, पार्क, ढुंगेधारा, इनार संरक्षण नहुँदा अस्तित्वविहीन बन्न पुगेको थियो। पछिल्लो समय नगर प्रमुख श्रेष्ठको नेतृत्वले सम्पदा संरक्षणको अभियान नै चलाएर मठमन्दिर, बौद्ध बिहार, पोखरी, पार्क, ढुंगेधारा, इनारको जीर्णोद्धा÷पुनर्निर्माण र नगरभित्रको भित्री सडकमा ढुंगा छपाइले मध्यपुर थिमिको मुहार फेरिएको छ।

नगरपालिकाले बालकुमारी मन्दिर पुनर्निर्माणलगायत २३ वटा मठमन्दिर संरक्षण जीर्णोद्धार तथा पुनर्निर्माण गरिसकेको जनाएको छ। मठमन्दिर संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले करिब १३ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । नगरपालिकाले गुरुयोजना बनाएर पाटी (फल्चा), सत्तल, मन्दिर, पुराना दरबार, ढुंगेधारा, पोखरी, प्रवेशद्वार सिँढी र डबली मौलिक शैलीमा पुनर्निर्माण तथा संरक्षण गरिरहेको छ ।

नगर क्षेत्रका ३७ वटा पाटी (फल्चा) पुनर्निर्माण गरेको नगरपालिकाले जनाएको छ । जीर्ण अवस्थामा रहेको पाटी संरक्षणका लागि नगरपालिकाले करिब १२ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको नामबाट परिचित मध्यपुर थिमिको शंखधर चोक नजिकैको भिरालो जग्गा डम्पिङ साइडका रूपमा प्रयोग थियो। स्थानीयको फोहोर त्यही भिरालो जग्गामा जम्मा भएको थियो । करिब दुई वर्षयता उक्त क्षेत्र ३ ढुंगेधारासहितको हरियाली सुन्दर पार्कमा परिणत भएको छ । त्यस्तै, बोडेस्थित कुमारी पार्कको अवस्था पनि उस्तै थियो। डम्पिङस्थल हाल सुन्दर पार्क भएको छ। शंखधर पार्क, कुमारी पार्क, भैरव पार्क, गयः दोफो, विष्णुकुण्ड पार्क निर्माण कार्य सम्पन्न भएको र लोकन्थली बालउद्यान, आलाचुक पार्क, नीलवर्ण पार्क, तस्वोताः पार्क, नाट्यश्वरी पार्क, सानो थिमि ग्रिन पार्क, वनदेवी पार्कलगायत निर्माणाधीन छन्। पार्क निर्माणका लागि नगरले करिब ४ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।

नगरपालिकाले ठूला सम्पदाहरूको मात्र नभई साना सम्पदालाई समेत उत्तिकै महत्वका साथ संरक्षण गरेको छ। भग्नावशेषमा परिणत ढुंगेधारा (हिटी) संरक्षणमा लागेको छ। नगर क्षेत्रभित्र २६ वटा धारा निर्माण तथा जीर्णोद्धार गरिएको छ। ढुंगेधारामा आधुनिक प्रक्रियाबाट खोल्न, बन्द गर्न मिल्ने गरी पाइप जडानसमेत गरेको छ। ढुंगेधारा संरक्षण तथा जीर्णोद्धारका लागि नगरपालिकाले करिब ९ करोड रुपैयाँ खर्च गरेको छ। त्यसैगरी, नगरको पुरानो बस्तीमा ढुंगा छपाइलाई समेत निरन्तरता दिएको छ।

नगरपालिकाले बिहीबार पत्रकारलाई गराएको सम्पदा पदयात्रा कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यी सवै जानकरी गराएका थिए। सो क्रममा नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिका बालकुमारीस्थित बालकुमारी मन्दिर प्रांगणमा रहेको ऐतिहासिक बालकुमारी पुखू (पोखरी) को पुनर्निर्मित ढोकामा गजुर प्रतिष्ठापन पनि गरे। सो क्रममा नगर प्रमुख श्रेष्ठले पूजा गरी गजुर प्रतिष्ठापन गरेका थिए।  

विहान नगरको शंखरधर चोकबाट सुरु भएको पदयात्रा बोडे पुगेर समापन भएको थियो। पदयात्रामा नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायत झण्डै पाँच दर्जन पत्रकारहरुको जनसहभागिता रहेको थियो।

प्रकाशित: १ श्रावण २०७८ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App