coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिओपीको आगजनी : कामदारको लापरवाहीको आशंका

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा कसैले जानाजान आगजनी नगरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले अनुसन्धानका क्रममा आम मानिसले शंका गरे जस्तो अन्य कसैले आगजनी गरेको नदेखिएको बताए।  

‘बाहिरको मान्छे आएर आगजनी गरेको देखिदैन’ उनले भने, ‘कामदारबाटै कमि कमजोरी भएको हो कि जस्तो देखिन्छ।’

उनले निर्माणाधीन भवनमा काम गरिरहेका छ जना कामदारलाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ भैरहेको जानकारी दिए। उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएकामध्ये चार भारतीय र दुई नेपाली नागरिक छन्। उनीहरु काम गरिरहेको अवस्थामा बिहान साढे १० बजे निर्माणाधीन भवनमा अचानक आगजनी भएको थियो।  

हाल रहेको स्थानबाट बिओपी मोहना नदी पारी करिव एक किलोमिटर दक्षिणतर्फ सीमा क्षेत्र नजिकै सार्ने क्रममा भवन निर्माणको काम भैरहेको छ। बिओपी हाल सत्ती भन्सार कार्यालयको जग्गामा अस्थायी रुपमा राखिएको छ।

बिओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम भट्टले समेत कामदारकै कमीकमजोरीका कारण आगजनी भएको हुनसक्ने बताए। उनले कामदारले धु्रमपान गरेको वा वेल्डिङको काम गर्दा लापरवाही भएको हुनसक्ने आशंका गरे। उनका अनुसार भवन निर्माणको काम अन्तिम चरणमा रहेको थियो।  

उनले अन्य कसैले आगजनी गर्न चाहेको भए रातिको समयमा त्यस्तो घटना हुनसक्ने बताए। ‘यदि कसैले जलाउन चाहेको भए राति यस्तो काम गथ्र्यो’ उनले भने, ‘दिउसोको समयमा यस्तो काम कसैले गर्न सक्दैन।’

उनले आगजनीबाट करिव १० लाख रुपैयाँ क्षति भएको जानकारी दिए। उनका अनुसार मर्मतको काम भोलिबाटै सुरु हुन्छ। उनले आगजनीबाट काठ र कर्कटपाता जलेको भएपनि भवनको फाउण्डेसनमा कुनै असर नपुगेको बताए।

आगजनी टीकापुर नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: ३१ असार २०७८ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App