१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोबाट बच्ने उपायबारे अभ्यास

पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–११ को चप्पन सामुदायिक वनछेउको बरुवा खोलाकिनारमा कृत्रिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो।  

वर्षायाम सुरु भएकाले सम्भावित पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने उद्देश्यले वल्र्डभिजन इन्टरनेसनलको साझेदार संस्था जाल्पा एकीकृत विकास समाज (जिड्स) को आयोजनामा पहिरो अभ्यास प्रदर्शनी गरिएको हो। सशस्त्र प्रहरी बलका जवान तथा पहिरोसम्बन्धी आयोजित तीनदिने प्रशिक्षक प्रशिक्षण तालिममा धेरैले भाग लिएका थिए।

प्रदर्शनीको क्रममा त्रियुगा नगरपालिका–१० मा पहिरो जाँदा बेपत्ता भएका ५४ वर्षीय अमानसिंह राई घाइते भएका र दुईजनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो। पहिरोले घाइते भएकाहरूलाई सशस्त्र प्रहरी बलका निरीक्षक राजेन्द्र बस्नेत नेतृत्वको टोलीले घटनास्थलबाट उद्धार गरी अस्पताल भर्ना गरेको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।  

वर्षाको समयमा पहाडी भेगमा पहिरो जाने अत्यधिक सम्भावना भएकाले त्यसबाट बच्न र पूर्वतयारी गर्ने उद्देश्यले वल्र्डभिजनको सहयोग र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा जिड्सले सिमुलेसन आयोजना गरेको कार्यक्रम संयोजक अजयकुमार साहले बताए। उनका अनुसार बुधबारदेखि सुरु तीन दिने ‘जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तालिम’को क्रममा पहिरोबाट बच्न पूर्व तयारी, घाइतेको उद्धार र उपचारबारे जानकारी गराउन नमुना अभ्यास प्रदर्शनी गरिएको हो।  

जिड्सका अध्यक्ष पुष्पराज पोखरेलका अनुसार पहिरोसम्बन्धी सिम्युलेसन नेपालमै यो पहिलो पटक हो। यसअघि आगलागी, बाढी र भूकम्पबारे धेरै चोटी सिम्युलेसन गरिए पनि पहिरोबारे पहिलो पटक गरिएको पोखरेलले जानकारी गराए। उदयपुर अधिकांश पहाडी भूभाग भएको जिल्ला भएकाले पहिरोको जोखिम धेरै रहेको हुँदा जिड्सले यो पहिरोलक्षित सचेतना, पूर्वतयारी, उद्धार र राहत कार्यक्रम अघि सारेको पोखरेलले बताए।  

पहिरो विशेषज्ञ रामकुमार दाहालले यस्तो नमुना अभ्यास प्रदर्शनीले पहिरो व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए। मानव जीवनमा आइपर्ने विपद्हरूमध्ये पहिरो पनि एक भएको भन्दै उनले हरेक वर्षायाममा पहाडी भेगमा पहिरोको जोखिम हुने भएकाले यसबाट बच्न यस्ता सचेतनामूलक कार्यक्रम उपलब्धिमूलक हुने धारणा राखे। मनसुनको समयमा पहिरोको जोखिम उच्च रहेकाले यससम्बन्धी  

लक्षित वर्ग सचेत हुँदै  प्रतिकार्यका लागि स्थानीय स्तरमै जनशक्ति तयार गर्न आयोजित प्रशिक्षक प्रशिक्षण तालिमका दाहाल सहजकर्ता हुन्।  

वल्र्डभिजन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहहरूको समन्वयमा संस्थाले जिल्लामा ‘पहिरो सामना किताब परियोजना’ सञ्चालनमा ल्याएको छ। सोही परियोजनाअन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिम, पहिरो सिमुलेसन आयोजना गरिएको साहले बताए। सो तालिममा विभिन्न संघसंस्था, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी,  विद्यार्थी र पत्रकारसहित २५ जनाको सहभागिता रहेको छ।  

प्रकाशित: २६ असार २०७८ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App