२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

क्याप्शन

इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोपविज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो।

 कार्यक्रममा भूगर्भविद् डा रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गरेकाे अध्ययनसमेत प्रस्तुतिमा जोड्दै मेलम्ची नदी किनारका बस्ती जोखिम रहेको सोही बेला नै जानकारी दिएको बताए। उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताए। भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए। 

सो अवसरमा साविक वस्तीमा पुनः बस्ती बसाल्नु खतरा हुने विज्ञको राय रह्यो। जलवायुविज्ञ डा रविन निरौलाले नदीका लागि ‘बफर जोन’ छाड्नुपर्ने मत राखे। उनले नदीको धार हालसम्म यकिन नभएकाले अझै जोखिम रहेको बताए। इसिमोडका जलवायु परिवर्तनविज्ञ अरुणभक्त श्रेष्ठले भू–उपग्रहमार्फत लिएको नक्सा अध्ययन गर्दा मेलम्ची नदीको मुहान क्षेत्रमा हिउँ तथा सानो हिमतालसमेत रहेको र अहिले हिउँ पग्लिएको साथै तालसमेत फुटेको जानकारी दिए।

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा. सुवोध शर्माले अबका कदमका लागि अध्ययन समूह गठन गर्नुपर्ने प्रस्ताव गरे। सोहीअनुसार इसिमोडका जलवायु परिवर्तन विज्ञ श्रेष्ठको संयोजकत्वमा विभिन्न क्षेत्र र विज्ञ सम्मिलित ११ सदस्यीय समूह गठन गरिएको छ। विपद् व्यवस्थापनका लागि अबका दिनमा गर्नुपर्ने कामका बारेमा अध्ययन गरी यस समूहले सुझाव पेस गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए। 

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले विस्थापनमा परेकालाई व्यवस्थापनमा जोड दिइएको बताए। मौसमविज्ञ डा अर्चना श्रेष्ठ, युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंह, वातावरण मानवशास्त्री डा गोविन्द बस्नेत, पूर्वसूचना प्रणालीविज्ञ डा. राजेन्द्र अधिकारी, जलवायुविज्ञ डा धर्म उप्रेतीले प्रकोपसम्बन्धी प्रस्तुति राखेका थियो। रासस

प्रकाशित: २१ असार २०७८ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App