५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गाईघाटमा फुटपाथ पसल राख्न नपाइने

सडक पेटीका फुटपाथ पसल हटाउँदै नगर प्रहरी। तस्बिरः महेश्वर/नागरिक

लामो समयदेखि अस्तव्यस्त सदरमुकाम गाईघाट बजारको सडकपेटी नगरपालिकाले व्यवस्थित गरेको छ। मदन भणडरी लोकमार्गले कालोपत्रे गरेपछि पैदल यात्रुका लागि रेलिङसहितको पर्याप्त फराकिलो पेटी राखे पनि पैदल हिड्नै नमिल्ने फुटपाथ पसल ३ दिनयता हटाइएको हो।  

यसअघि सडकपेटीमा व्यापारीहरुले हिड्नै नमिल्ने गरी फुटपाथ पसल राखेका कारण पैदल हिड्न गाह्रो भएर दुर्घटनाको जोखिम मोल्नु परेको थियो। लोकमार्गजस्तो व्यस्त र कालोपत्रे सडक त्यसमाथि सदरमुकाम पनि परेकाले अत्यन्त व्यस्त हुने सडकपेटीमा जताततै फुटपाथ पसल राखेकाले पैदल यात्रुलाई आउजाउ गर्न धेरै समस्या थियो।  

तरकारी, फलफुल, सब्जी, झोला, छाता तथा नाङ्ले पसल व्यापारीसँगै सटरवालालेसमेत पेटी नै ढाक्ने गरी बाहिर सामान बेच्न राखेपछि पैदल यात्रुलाई समस्या भएको गुनासो आएको लामो समयपछि नगरपालिको व्यवस्थापन गरेको हो। फुटपाथ पसलले यात्रुलाई हिड्न गाह्रो विषयमा सर्वत्र गुनासो बढेपछि नगरपालिकाले नगरप्रहरी र सुरक्षाकर्मी परिचालन गरेर सडक ‘क्लियर’ गरेको हो। 

तर, लगातार ३ दिनसम्म प्रयास गरेपछि मात्र सडक पेटी सुचारु भएको छ। मदन लोकमार्ग नबन्दासम्म हटियाजस्तै लापरबाही बजार लगाउन अभ्यस्त गाईघाटका व्यापारीलाई पेटीबाट हटाउन धेरै पटकको प्रयासमा सफल भएको नगरप्रमुख बलदेव चौधरीले बताए। पहिलेदेखि फुटपाथमा फसल राख्न बानी भएका व्यापारीहरु लोकमार्ग भएर सडक व्यस्त हुँदा पनि पैदलयात्री हिड्ने पेटी कब्जा गर्ने बानी हटाउन सामान्य बल नै प्रयोग गर्नुपरेको मेयर चौधरीले बताए। 

पेटी व्यापारीले कब्जा गरेको विषयमा जनगुनासो बढेको कुरालार्य स्थानीय पत्रपत्रिकाले निरन्तर खवरदारी गर्दै समाचार प्रकाशन गरेपछि नगर जनप्रतिनिधिको ध्यानाकर्षण भएपछि नगरपालिकाले  फुटपाथ पसल हटाएको स्थानीय बताउँछन्। धेरै पटक कराएपछि, पत्रपत्रिकाले लेखेपछि मात्र नगरपालिकाले फुटपाट पसल हटाएको गाईघाटका गणेश राईले बताए। उनका अनुसार हरेक बुधबार हटिया लाग्ने गाईघाटमा सडकपेटीलाई व्यापारीले आफ्नै पेवा ठान्ने गरेकाले यस्तो समस्या आएको हो। बल्ल नगरपालिकाले फुटपाथमा व्यापार गर्न नपाउने कडाई गरेपछि पैदल हिड्न सहज हुने उनले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले लोकमार्ग भईसकेकाले लामो र छोटा दूरीका हल्कादेखि भारी सवारीसाधनहरु निरन्तर चल्ने सडकमा फुटपाथ पसल राख्दा दुर्घटाको जोखिम हुने भएकाले हटाइएको बताए। उनले पहिलेजस्तो नभई अव बजारक्षेत्रको सडकपेटीमा पसल राख्न नहुने भएकलो बन्देज गरिएको बताएका छन्।

मदन लोकमार्गसँगै बैंक लाईन, विद्युत लाईन, लोकतान्त्रिक चोकदेखि मुख्य चोक हुँदै त्रियुगा बसपार्कसममको गाईघाट–बसपार्क लाईनमा पनि फुटपाथ व्यापार गर्न पूर्णतः बन्देज लगाइएको छ। पसल व्यापार हुटाउनुका साथै अवदेखि सडकपेटीलाई नियमित सरसफाईसमेत गरिने भएको छ। त्यसका लागि नगरले सरसफाई कर्मचारी नियमित खटाउने भएको छ। फुटपाथमा पसल राख्न नछाड्नेहरुलाई नगर प्रहरीले सम्झाउने नमाने पक्राउ गरी सामान जफत गर्ने र त्यत्तिले पनि नमाने प्रहरी लगाएर हटाउने नगरपालिकाले जनाएको छ।  

गाईघाटमामदन भण्डारी लोकमार्गको बरुवा खोला पुलदेखि आँखा अस्पतालसम्मको डेढकिलोमिटर खण्ड पर्छ। धरानदेखि चतारा, बेलटार, गाईघाट, कटारी हुँदै सिन्धुली जोडिएको हुनाले यो मार्ग खुर्कोट हुँदै राजधानी आउजाउ गर्ने सवारीको चाप अत्याधिक बढेको छ। पूर्वपश्चिम महेन्द्र लोकमार्गको बिकल्प सडक भएकाले पनि यो सडक कोविड कहरमासमेत रात दिन सवारी चाप नघटेको ट्राफिक कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १८ असार २०७८ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App