२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले रौतहटको खेतीयोग्य जमिन डुबानमा

फाइल तस्बिर

रौतहटका मुख्य नदीहरुमा आएको बाढीले जिल्लाको तल्लो भागमा खेतीयोग्य जमिनलाई डुबानमा पारेको छ। बागमती, बकैया र लमाहा नदीमा आएको बाढी खेतीयोग्य जमिनमा पसेको छ भने मानव बस्तीमा पस्ने खतरा पनि उत्पन्न भएको देखिएको छ।  

बागमती र बकैया नदीमा पानीको सतह डेन्जर जोनभन्दा माथि बगिरहेको देखिएको छ। वर्षाको पानीले खोलानाला भरिएकोले खेतको पानी खोलानालामा जान नपाउँदा खेतीयोग्य जमिन डुबानमा परेको छ भने खतराको सतहभन्दा माथि बगिरहेको बाढीको पानीले खेती डुबानमा थप मद्दत गरेको पाइएको छ। लमाहा खोलाको पानी बागमतीमा पस्न नपाउँदा खोलाको सतह नाघेर हजारौँ बिघा खेतीलाई डुबानमा पारेको छ।

बाढीले दुर्गा भगवती गाउँपालिका ५ बडरहबाको दलित बस्तीलाई चारैतिरबाट बाढीको पानीले घेरिसकेको र बस्तीका मानिसलाई कतै पनि निकास नभएको वडाध्यक्ष धर्मनाथ चौधरीले जानकारी गराएका छन्। दलित बस्तीमा बाढीबाट जोगिन बनाइएको सेफ सेन्टरमा अधिकांश परिवार अहिले शरण लिएको हुँदा योभन्दा बढी पानी आएमा निकै अप्ठ्यारो हुने चिन्ता पनि वडाध्यक्ष चौधरीले व्यक्त गरेका छन्।

बाढीको पानी सदरमुकाम गौरतिर बढीरहेकोले गौरवासीमा त्रास देखिएको छ। विगतमा पनि गौरमा बाढीको पानीले अप्ठ्यारो पार्ने गरेकोमा ठूलो बाढी आएमा समस्या हुने देखेपछि स्थानीयवासी त्रासमा रहेका छन्। भुइँतल्लामा रहेका पसलका साहुहरुले पसलको सामान जोगाउने उपाय गरिरहेको र कतिपय मानिसले बाढी आएमा हुन सक्ने खाद्यान्न लगायतका सामग्रीको कमीलाई विचार गर्दै सामानहरु घरमा थन्क्याउन थालेका छन्।  

पहाडी जिल्लामा भएको ठूलो वर्षाको कारण बागमतीमा आएको बाढीले रौतहटतर्फ गढीमाई नगरपालिकाको दुई ठाउँमा तटबन्ध जोखिममा परेको देखिएको छ। पानीको बहाव तीव्र भएपछि गढीमाई नगरपालिका ६ धरमपुरस्थित पुलभन्दा दक्षिणतिर रहेको स्पर अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको तथा समनपुरस्थित बागमती पुलनजिकको संरचनाहरु कमजोर हुँदा भत्काउने बढी सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। यसैगरी बकैया नदीमा आएको बाढीले बौधीमाई नगरपालिकाको इनर्वा गाउँनजिक बाँध काट्ने सम्भावना बढेर जाँदा बाँधलाई जोगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको कर्मचारीहरु आपतकालीन कार्यमा जुटेको प्रजिअ यादवले बताएका छन्।  

बागमती नदीमा विहान ६५० मिली लिटर क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो भने दिउँसो ४ बजे ५५० क्यू सेकमा आए पनि डेन्जर जोनभन्दा माथि बगिरहेको हुँदा नदीको तटीय क्षेत्रमा सर्वसाधारण जनताहरुलाई जान नदिन अभिभावक र समाजका अगुवाहरु सचेत हुनुपर्ने प्रजिअ यादवले अपिल गरेका छन्।

प्रकाशित: १७ असार २०७८ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App