१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षामन्त्रीलाई कारबाही गर्न मुक्ति समाज वाग्मतीको माग

नेपाल उत्पीडित जातीय मुक्ति समाज वाग्मती प्रदेश कमिटीले जातीय विभेदका आरोपीलाई संरक्षण गरेको भन्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ।  

सञ्चारकर्मी रुपा सुनारलाई कोठा भाडामा दिने सन्दर्भमा जातीय विभेद गरेको आरोपमा पक्राउ परि हिरासतमा रहेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउनका लागि शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकीमा पुगी आरोपी सरस्वती प्रधान हिरासतबाट मुक्त भएपछि उनलाई सरकारी गाडीमा राखी आफैले घरसम्म पुर्‍याएका थिए।  

संविधान र छुवाछुत ऐनको धज्जी उडाउँदै हिरासतमा रहेकी प्रधानलाई छुटाएर आफैसँग लिएर गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्तारुढ पार्टीको भातृसंगठन मुक्ति समाजको विज्ञप्तीमा भनिएको छ, ‘शिक्षामन्त्री जस्तो राजकीय ओहदामा आसिन व्यक्तिले पदीय मर्यादा, आचरण र सपथलाई ठाडै उल्लंघन हुने गरी गरेको घृणित कार्यको हाम्रो संगठन घोर निन्दा तथा भत्सर्ना  गर्दछ।’

दलित समुदायले सामाजिक सद्भावलाई खलल पार्न नचाहेको र कुनै जाती वा समुदायलाई आक्षेप नलगाएको बताउँदै मुक्ति समाजले घरभाडामा दिने क्रममा विभेद गर्ने घरबेटी सरस्वती प्रधानमाथि थप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाही गर्न पनि माग गरेको छ।  

मुक्ति समाज नेपालका सचिवालय सदस्य तथा वाग्मती प्रदेश कमिटीका संयोजक टेक घतानीको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ, ‘राज्यको उच्च पदस्थ व्यक्ति भएको र संविधान तथा प्रचलित कानुनलाई हातमा लिई जुन हर्कत गर्नुभएको छ यो हर्कतले शिक्षामन्त्रीको रुपमा रहन लज्जाबोध हुने ठहर गर्दै आवश्यक कारबाहीका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछौं।’

मुक्ति समाज वाग्मती प्रदेश कमिटीले रुपा सुनारलाई न्याय दिन र विभेदकारी शिक्षामन्त्रीलाई कारबाहीका लागि आन्दोलनको तयारी गरेको छ। मुक्ति समाज नेपालका सचिवालय सदस्य तथा वाग्मती प्रदेश कमिटीका सचिव सुशील विकेले दिएको जानकारी अनुसार मुक्ति समाजले सुनारलाई न्याय र विभेदकारी शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै वाग्मती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र १३ वटै जिल्लाका एमालेका जिल्ला अध्यक्ष मार्फत पार्टीका महासचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। 

 

प्रकाशित: १७ असार २०७८ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App