१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा महानगरको लक्ष्यः विकटलाई निकट बनाउने सडक

महानगरसँगै जोडिएका केही वडा विकट छन् । विकटका वडालाई सहरको निकट ल्याउन पोखरा महानगरपालिकाले सडक सञ्जालले जोड्ने योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको लागि अधिकांश बजेट सडक विस्तारमा खर्चिने योजना बनाएको छ । महानगरकै दुर्गम मानिएको वडालाई कनेक्टिङ सडक योजनाको उच्च प्राथमिकतामा राखिएको छ ।  

महानगरले खास गरी ‘विकटलाई निकट’ बनाउने ध्येयसहित सडक योजनाहरुलाई आगामी आर्थिक वर्षको मुख्य एजेण्डा बनाई कार्यान्वयन गर्ने दिशातर्फ उन्मुख छ । ‘विजयपुर–माझठाना–बेगनास सडक, कात्रे–बाम्दी–घाँटीछिनासडक, बैदाम–पामे–घाँटीछिना सडक, कास्कीकोट गुन्टेचौर, वनपाले पँदेली कृषि सडक, चितेपानी पुरुञ्चौर रैकर ढाब मर्दी सडक, ठूल्ढुंगा सुर्ताने चैनपुर सुरौंदी सडक, पानी टंकी देउराली भञ्झ्याङ सडक, रैकर बेगनास सडक, भलाम–मौजा सडक लगायत कनेक्टिङ सडकहरु प्राथमिकतामा छन्’ पोखरा महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले भनिन ।  

महानगरपालिकाले बेगनासताल–तालचोक सडक खण्डलाई चार लेनको बनाउने योजना अघि सारेको छ । योजनालाई विश्व बैंकले आर्थिक सहयोग गर्ने छ । १ अर्ब ५३ करोडको लागतको बोलपत्र समेत आह्वान भईसकेको छ । त्यस सडक आयोजनाालई नेपाल सरकारको सशर्त अनुदानबाट सञ्चालन गरिने उल्लेख गर्दै महानगरपालिकाले २४ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर मन्जुदेवी गुरुङले बताईन् ।  

काहुँखोला पहिरो पानी सडक, खत्रीपहरो खोलावेशी सडक, जनचेतन चिलाउने खर्क, बास्कोट वडा कार्यालय सडक, वडा कार्यालय २२ देखि भुम्दीहुँदै तारेभीर, राधाकृष्ण मार्गहुँदै तिनकुने सडक प्राथमिकता रहेको महानगरको बजेट वक्तव्यमा उल्लेख छ । सडकहरुले पोखराको ग्रामीण भूगोललाई सहरको केन्द्रसम्म, यसैगरी कास्कीका अन्य गाउँपालिकाहरु तथा छिमेकी जिल्लाहरुलाई पोखराको मुख्यबजार क्षेत्रसम्म जोड्न रक्त सञ्चारको काम गर्ने उपमेयर गुरुङको भनाई थियो । ‘आगामी आर्थिक वर्षको लागि प्रस्तावित कनेक्टिङ सडकतर्फ१ अर्ब २० करोड बजेट प्रस्ताव गरिएको छ,’ उनले सुनाईन् ।  

सहरी तथा ग्रामीण क्षेत्रमा वडा कार्यालयहरुले तोकेको प्राथमिकताको आधारमा साना तथा छोटो दुरीका सडकहरु निर्माण गर्ने प्रस्ताव गरिएको छ । प्रत्येक वडामा एउटा सडक आयोजना पर्ने गरी बजेट विनियोजन गरिएको छ । प्रचलित कानुन बमोजिम जनसहभागिता जुटाइ उपभोक्ता समितिहरुले निर्माण गर्न सक्ने यस्ता सडक आयोजनाहरुको लागि आवश्यक बजेटको व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ । महानगरमा ३३ वटा वडा छन् । ती वडा मध्ये केही वडामा भने अझै पनि कालोपत्रे सडक भने छैन् ।  

आर्थिक वर्षमा सहरी सडकमा अन्य निकायसँगको समन्वयमा कार्यान्वयन गर्ने अस्फाल्ट पिच कार्यक्रमको लागि एकमुष्ट ७ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । अस्फाल्ट गरिएका सडक कम्तिमा पनि २ वर्ष खन्न स्वीकृति नदिइने महानगरले बताएको छ । खानेपानी तथा सडक डिभिजन कार्यालय बीचको समन्वय नहुदाँ कालोपत्रे गरिएको सडक खण्ड खानेपानीले पाईप विस्तार गर्न खन्ने प्रवृत्तिले सडकको आयु घट्दै गएको छ । सडकको दिगोपनको लागि महानगरलो अस्फाल्ट कालोपत्रे गर्ने योजनालाई निरन्तरता दिएको छ ।  

‘हामी बनाउँछौं हाम्रो महानगर’ भन्ने नाराका अझ प्रभावकारी बनाउन महानगरले २० करोडको बजेट व्यवस्था गरेको महानगरको भनाई छ । ‘मेयर गौरवको आयोजना’ को रुपमा लिइएको आरटिओ सडक निर्माणमा आइपरेको प्राविधिक समस्याको मध्यमार्गी समाधान पहिचान गरी उक्त सडकको निर्माण कार्य अगाडि बढाइएको पनि वजेटमा उल्लेख गरिएको छ ।

पोखरा महानगरपालिकाको गहनाको रुपमा रहेको बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण हँुदैछ । विश्व बैंकको आर्थिक सहयोगमा यो सडक निर्माणको लागि १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ । उक्त सडक निर्माण भएपछि सो क्षेत्र पोखराको नयाँ न्युरोडको रुपमा विकसित हुने उपमेयर गुरुङको अपेक्षा छ । तालचोक बेगनास क्षेत्रको भौतिक विकासको अलावा बेगनासतालमा हुने पर्यटकीय गतिविधि विस्तार भई उक्त क्षेत्र पर्यटकीय हबको रुपमा विकासित हुने पनि उनले बताई । नेपाल सरकारको सर्शत अनुदानबाट संचालन गरिने उक्त सडक आयोजनाको लागि आगामी आर्थिक वर्षमा २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित: १३ असार २०७८ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App