२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धान नपसाएपछि काटेर गाईवस्तुलाई घाँस

किराको कारण बाला नलागेपछि घाँसका लागि धान काट्दै चिसापानी खुटाका किसान । तस्बिर सौजन्य : बाजिन्द्र बिष्ट

किराको प्रकोपका कारण धान नपसाएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका किसानले धान काटेर गाईवस्तुलाई खुवाउन थालेका छन्। खाइनखाई दश नंग्रा खियाएर रोपेको वर्षे धानमा लाइजस्तो देखिने स-साना कालो रंगको किराको प्रकोप फैलिएका कारण धान पसाउन नसकेपछि किसानले काटेर गाईवस्तुलाई घाँस दिन थालेका हुन्। 

सावा खोला किनारका धान झुल्ने फाँटमा हाल किराको प्रकोपका कारण सप्रन नसकेको धानको बोट मात्र देख्न सकिन्छ। लहलह बाला झुल्नेबेला धानको बोट रित्तो भएपछि अधिकांश किसान घाँस खुवाएर हिउँदे धान रोप्ने तयारीमा जुटेका छन्। धान नपसाउँदा सावा खोला किनारमा अधिया तथा ठेक्कामा धान खेति गरेर जिविका चलाउँदै आएका किसान सबैभन्दा बढी मारमा परेका छन्। 

सो स्थानका करिब १०/११ घर किसानको भने धानको बिउ नै मासिएको स्थानीय किसान जितबहादुर कार्कीले बताए। ‘४०/५० मुरी धान फल्ने केही किसानको दुई चार–दुई चार मुरी धान फल्लान्। नत्र १०/११ घर किसानको केही बाँकी छँदैछैन,’ कार्कीले भने, ‘मेरो २२ रोपनी खेतमा वर्षमा ४० देखि ४५ मुरी धान फल्थे। यसपल्ट बिउँ पनि मासियो। वर्षे रोपाईका लागि बिउँ अन्तै भनिसकेको छु। सबैको उस्तै समस्या भएपछि चित्त बुझाएर बसिरहेका छौँ।’ कार्कीले गाउँबाट गाईवस्तु लगेर धान काटेर घाँस खुवाउँदै हिउँदे धान रोप्ने तयारी गरिरहेका छन्। 

किराको कारण चिसापानी खुटाका जितबहादुरसहित गोबिन्द अधिकारी, चन्द्रबहादुर पौडेल, कृष्ण खड्का, उमेश नेपाली, सुमन खड्का, जितबहादुर बिक, रमेश तामाङ लगायतका खेत बाँझिएको छ।

जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सीमाबाट बग्ने सावा खोलाको किनार धान उत्पादनका लागि चर्चित छ। सो स्थानमा उत्पादन भएका धानले स्थानीय बजारलाई समेत धान्ने गरेको छ। तर, यसपल्ट वर्षे धानको उत्पादन ‘शून्य’ बनेको किसानको गुनासो छ। खेतमा कुनै कुनै बोटमा मात्र फाट्टफुट्ट धानको बाला लागेको छ। धान रोप्न गरिएको मेहेनत खेर गएपछि किसान चिन्तित छन्। नपसाएको धानको बोट धेरैजसो किसानले काटेर घाँस बनाइरहेका छन्। कतिपय किसानले भने बिउँ आउने आशामा त्यसै छाडेका छन्। सुरुमा धानको बिरुवा राम्रो थियो। गोडमेल गरेपछि मल हाल्दा सोचेजस्तो बिरुवा नआएपछि तीन पल्टसम्म यूरिय मल हालियो। सामान्य मात्रामा धानको झाङ आयो तर टुप्पामा किरा लागेका कारण पसाउन नसकेको किसानको भनाई छ। लाइ किरा मार्ने विषादी ल्याएर हालेका ठाउँमा समेत धान नपसाएको कार्कीले बताए।  

अधिया कमाउँदा किसान गोविन्द अधिकारीले सावा खोला किनारका खेतमा हरेक वर्ष १३/१४ मुरी धान फलाउँथे। तर, यसपल्ट उनको धानको बिउँ नै मासियो। धान पसाउन नसकेपछि काटेर गाईवस्तुलाई घाँस दिएको अधिकारीले बताए। ‘६ पाथी बिउँको १३/१४ मुरी धान हात पर्थ्याे। तर, यसपल्ट फलेन। पाक्नुभन्दा महिना दिन अगाडि नै काटेर वस्तुलाई घाँस दिएँ,’ उनले भने, ‘अधिया गरेर बाँचेका हामीले अब के खानु, के खाएर बाँच्नु, के खाएर अरु कमाइ लाउनु!’  

सावा खोला किनार आसपासमा खेत भएका १५/२० घर किनारको खेतमा लगाइएको धानमा किराको समस्या देखिएको हो। सो क्षेत्रका करिब तीन सय रोपनी खेतका धान नपसाउँदा किसानमा भोकमरीको चिन्ता सुरु भएको स्थानीय युवा नेता बाजिन्द्र बिष्टले बताए। जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाको सावा खोला किनार आसपासका खेतमा मात्र नभएर कतिपय खोलाभन्दा माथिका खेतमा समेत समस्या देखिएको छ। 

बिष्टले पाक्नुभन्दा महिना दिन अगाडि नै धान काटेर घाँस खुवाउन बाध्य अवस्थाका किसानको पहिचान गरि राहत तथा क्षतिपूर्तीको व्यवस्था गर्न स्थानीय सरकार समक्ष माग गरेका छन्।

प्रकाशित: १३ असार २०७८ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App