७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दूषित पानी खाँदै वादी समुदाय

बस्तीमा खानेपानीको अभाव हुँदा वीरेन्द्रनगर नगरपालिका–११ का शान्तिपुर झुप्राका वादी समुदाय खोलाको दूषित पानी खान बाध्य छन्। नजिकै पानीको मुहान नहुँदा उनीहरु झुप्रा खोलाको दूषित पानी खान बाध्य भएका हुन्।

गाउँमा पानीको अभाव हुँदा वर्षाको समयमा बाढीसँगै आउने धमिलो पानी खानु परेको यहाँका स्थानीयको भनाइ छ। ‘नजिकै पानी नहुँदा अहिले पनि खोलाको धमिलो पानी खान्छौं,’ गोल्मा वादीले भनिन्, ‘सरकारले हामीलाई मानव जस्तो व्यवहार गरेन ।’

सरकारले बादी समुदायलाई उपेक्षा गरेकाले खोलाको पानी खान बाध्य भएको उनको भनाइ छ। यहाँ एक सय पाँच घर परिवार छ। ‘दूषित फोहोर पानी खानुहुन्न विभिन्न रोगको संक्रमण फलिन्छ भन्दै सरकारले जनचेतना फैलाउँछ,’ उनी भन्छिन्, ‘तर सफा पानीको व्यवस्था पनि गर्दैन।’

संघ, प्रदेश र स्थानीय तहको चुनावमा नेताहरुले पानी, विद्युतको सुविधा पुर्याउने प्रतिबद्दता व्यक्त गरे पनि त्यो पूरा गर्न नसकेको यहाँका बासिन्दाको भनाइ छ।

गाउँमा एक÷दुईवटा धारा निर्माण भए पनि पानीविहीन भएको यहाँका दिपक वादी बताउँछन्। ‘हाम्रो बस्तीमा पानीको हाहाकार छ,’ उनी भन्छन्, ‘पानी नहुँदा झुप्रा खोलाका दूषित पानी खान्छौं ।’ ‘खोलाबाट धमिलो दूषित पानी ल्याउँछौं,’ उनी भन्छन्, ‘घर ल्याएर उमालेर खान्छौं।’ गाउँका करिब दुई वर्षअघि कुवा निर्माण गरिएको थियो। अहिले उक्त कुवामा धमिलो पानीमात्र भएका स्थानीय बालकुमारी वादीले बताइन्। ‘कुवामा पनि धुमिलो दूषित पानी हुन्छ,’ उनले भनिन्, ‘कुवाभन्दा खोलाको पानी ल्याउन सजिलो हुँदा खोलाकै खान्छौं।’ पूरै वादी बस्ती भएकाले यो गाउँ विकासको दृष्टिले पछि परेको उनको भनाइ छ ।

आफ्नो पहुँच नहुँदा पनि गाउँमा खानेपानीको व्यवस्था नभएको उनी बताउँछन्। २०३६ सालमा यहाँ बस्ती बसेको थियो। भेरी नदीको पुल निर्माण गर्दा बालुवा, गिठ्टी निकाल्न आएका वादी समुदाय यही बस्ती बसाएका थिए।

प्रकाशित: ११ असार २०७८ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App