मेलम्ची खोला सधैं शान्त रहन्थ्यो। बरु सँगैको इन्द्रावती नदी बर्खामा कहिलेकाहीं उर्लिएर मात्तिन्थ्यो। स्थानीयलाई कहिल्यै दुःख नदिईकन शान्तसँग बग्ने छवि बनाएको मेलम्ची खोला यो वर्षको मनसुन प्रारम्भ हुनासाथ बहुलायो। हेलम्बु–मेलम्ची उपत्यका तहसनहस बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले हेलम्बु हुँदै मेलम्चीसम्म विनास निम्त्याएको विज्ञ बताउँछन्। विज्ञका अनुसार दायाँ–बायाँ अग्ला पहाडी टाकुराको काखमा उपत्यका जसरी बसेको भ्रेमाथाङ भूकम्पले चिराचिरा परेको थियो। ‘भूकम्पले चिराचिरा भ्रेमाथाङको जमिन वर्षाको पानी छिरेर स्वात्तै बग्यो,’ १० वर्षदेखि मेलम्ची जलाधार क्षेत्रको अध्ययन गरिरहेका वातावरणविज्ञ डा. रविनराज निरौलाले भने।
तल्लो तटीय क्षेत्र जोखिममा रहेकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न विज्ञ सुझाव
मेलम्चीमा बाढी आउनुभन्दा अघिदेखि हिमाली क्षेत्र भ्रेमाथाङ उपत्यका र आसपासमा वर्षा भइरहेको निरौलाले बताए। ‘वर्षाले त्यस क्षेत्रमा भलबाढी आइरहेको थियो। जमिनका चिरा र धाँजामा भलबाढी छिरेपछि पहिरो गयो,’ उनले भने। उनका अनुसार भ्रेमाथाङको चौडाइतिरबाट भीमकाय पहिरो गएको छ।
हेलम्बु गाउँपालिका–१ मा पर्ने भ्रेमाथाङ समुद्र सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा छ। हेलम्बुको अन्तिम बस्ती मेलम्चीघ्याङबाट सात किलोमिटर उत्तरमा रहेको भ्रेमाथाङ दुई किलोमिटर लम्बाइ र डेढ किलोमिटरसम्म चौडाइमा फैलिएको छ। दायाँ–बायाँ अग्ला पहाडबीच उपत्यका जस्तै समथर रहेको भ्रेमाथाङको चौडाइतिरबाट २५ प्रतिशत भूभाग पहिरो बनेर खसेको विज्ञ निरौला बताउँछन् ।
भ्रेमाथाङ चरन क्षेत्र थियो। त्यहाँ मेला पनि लाग्थ्यो। हिउँदमै पुग्न मुस्किल हुने भ्रेमाथाङमा अहिले चरन खोज्दै गाईबस्तु लैजाने र तिर्थ जाने चलन हराएको छ। मेलम्ची खोलाको पानीको स्रोत हिउँ हो। हिमाली क्षेत्रबाट पग्लेर आउने हिँउ र वर्षाको भलबाढी भ्रेमाथाङ भएर झरना जसरी ठाडै बग्छ। निरौलाका अनुसार भ्रेमाथाङ क्षेत्रमा निकै साना हिमताल छन् तर हिमपहिरो छैन।
‘साना हिमताल फुटेर यत्रो विध्वंश हुँदैन,’ उनले भने, ‘भ्रेमाथाङको पहिरो नै मेलम्ची बाढीको कारण हो।’
हेलम्बुदेखि मेलम्ची बजारसम्म झण्डै २५ किलोमिटर दूरीको तल्लो तटीय क्षेत्रमा विनास मच्याउने गरी कसरी बाढी आयो भनेर कसैले यकिन गर्न सकेका थिएनन्। कसैले मेलम्ची खानेपानीको बाँध फुटेको ठाने त कतिपयले मेलम्चीघ्याङमा पहिरो गएर बाढी आएको विश्लेषण गरे।
बाढीमा कालो लेदो माटो (पाँगो) बगेर आएपछि यसबारे निरौलाको अध्ययन केन्द्रित भयो। भ्रेमाथाङ क्षेत्रमा पहिरो गएको अरु कसैले खिचेको तस्बिर भेटेपछि त्यसैतर्फ अध्ययन केन्द्रित गरेको उनी बताउँछन्। ‘जसरी मेलम्ची बजारमा २५/३० फिट उचाइमा लेदो माटो थुप्रिएको छ, त्यो सानो पहिरोको कारण थिएन,’ उनले भने।
मेलम्ची जलाधार क्षेत्रको विषयमा पिएचडी गरेका उनले सन् २०१० देखि २०२० सम्म यहींको हिमाली क्षेत्रमा बसेर अध्ययन गरेका थिए। २०७२ वैशाख १२ को भूकम्पअघि र पछिसमेत अध्ययनको क्रममा भ्रेमाथाङ पुगेका निरौलाले भने, ‘भूकम्पपछि त्यहाँ पुग्दा जमिन चिराचिरा परेको थियो। बाढीको खतरा त्यतिबेलै देखेका थियौं। फर्केर सबैभन्दा नजिकको नाकोते बस्ती सार्न छलफलसमेत चलाएका थियौं। तर सुन्ने काम कतैबाट भएन। अहिले बाढीले नाकोते बस्तीमै क्षति पुर्यायो।’
भूकम्पको असर निकै पछिसम्म पनि देखिने भूगर्भविद् बताउँछन्। भूकम्पले कमजोर बनिसकेको जमिनको धाँजा र चिराबाट वर्षाको भेल छिरेपछि जतिबेला पनि विपद् निम्तिन सक्ने उनीहरूको भनाइ छ। भ्रेमाथाङबाट खसेको पहिरो ठुल्ठूला ढुंगा, रुख बगाउँदै मेलम्चीघ्याङ आएपछि अर्को पहिरो खसालेर मेलम्ची थुनेको पाइएको विज्ञ निरौलाले बताए। ‘गत मंगलबार साँझ ६ बजेदेखि ७ बजेसम्म ४५ मिनेट नदी थुनिएको देखिन्छ,’ उनले भने, ‘थुनिएर बनेको ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा बाढीले विनास निम्तायो।’
असार २ गते स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ बाढीको स्रोत खोज्दै हेलिकोप्टरबाट हेलम्बु क्षेत्र पुगेका थिए। मौसम खराबीका कारण हेलम्बुबाट अघि बढ्न नसकेपछि मेलम्चीघ्याङको पहिरो नै बाढीको कारण हुन सक्ने भन्दै उनी फर्र्किएका थिए। उनको गृहजिल्ला सिन्धुपाल्चोक हो। विज्ञ निरौलाका अनुसार भ्रेमाथाङबाट चार मिटर उचाइमा आएको बाढी मेलम्चीघ्याङमा खोला थुनिएर फुटेपछि ६ मिटर अल्लो बनेर अघि बढेको थियो। ‘थुनिएको खोला फुटेपछि थप शक्तिशाली भएको बाढीले क्रमशः नाकोते, अम्बाथान, तिम्बु, किउल, तालामाराङका बस्ती, पुलपुलेसा सोहोर्दै मेलम्ची बजारसम्म व्यापक क्षति पुर्यायो,’ उनले भने। उनका अनुसार लेदो, ढुंगा, काठपातसहितका गेग्रेन लिएर आएको मेलम्ची बाढी इन्द्रावतीमा मिसिएर मेलम्ची बजारतिर सोझिँदा धैरै भौतिक क्षति भएको हो। लार्के र यांग्री खोला मिसिएर आउने इन्द्रावती र मेलम्ची खेला मेलम्चीको पुरानो बजारबाट एकआपसमा मिसिन्छन्। त्यसपछि खोला इन्द्रावती नामले चिनिन्छ। ‘मेलम्ची र इन्द्रावती आपसमा मिलेपछि एकले अर्कोको बाटो छेक्दा बाढी बजार छिर्यो,’ विज्ञ निरौलाले भने, ‘यो सामान्य पहिरोबाट आएको बाढी होइन।’
अझै ठूलो बाढी आउन सक्ने चेतावनी
मेलम्ची–हेलम्बु उपत्यकामा विनास ल्याउने भ्रेमाथाङको पहिरोले थप बाढी ल्याउन सक्ने चेतावनी विज्ञले दिएका छिन्। तल्लो तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन र नदी किनारका बस्ती खाली गर्न उनीहरूले सुझाएका छन्।
भ्रेमाथाङ उपत्यका खोतलिएकाले जतिबेला पनि पहिरो निम्तिन सक्ने विज्ञ निरौलाले औंल्याए। ‘मनसुन भर्खर सुरु भएको छ। अझै तीन महिना मनसुन हुन्छ,’ उनी भन्छन्, ‘जुनसुकै बेला बाढीपहिरो आउन सक्छ।’
हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न उनले सुझाव दिए। यो क्षेत्र मनसुनमा उच्च जोखिममा रहेको उनले औंल्याए। विनासकारी भूकम्पपछि युएनडिपीले मेलम्ची जलाधार क्षेत्र र यसका जोखिम उल्लेख गरेर मेलम्ची नगरपालिकालाई प्रतिवेदन बुझाए पनि बेवास्ता गर्दा व्यापक क्षेति बेहोर्नुपरेको उनले सुनाए। ‘अहिलेको अवस्था आउने त्यतिबेलै देखेर नदी तटमा बस्ती नबसाल्न, बसेका बस्ती सुरक्षित स्थलमा सार्न प्रतिवेदनसहित सुझाव दिएका थियौं। नटेर्दा यो विनासको सामना गर्नुपर्यो,’ उनले भने। नदी तटीय क्षेत्रमा मनसुन अवधिभर बस्न नदिने र त्यहाँका बस्ती सुरक्षित स्थलमा सानुपर्ने निरौला बताउँछन्। उनले भ्रेमाथाङ र त्यसभन्दा माथिको स्थानको थप अध्ययन हुनुपर्नेमा जोड दिए।
प्रकाशित: ७ असार २०७८ ००:२८ सोमबार