१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनाङको पाँचहजार मिटर उचाईमा ७५ जना अलपत्र

फू को हिमालमा यार्सागुम्बु संकलनका लागि गएका गाउँले उतै रोकिए

बाढीपहिरोको चपेटमा परेका मनाङका गाउँलेलाई विहीबार दिउँसो उद्धार गरिँदै । तस्बिरः नागरिक

चारदिनसम्मको लगातारको भारी वर्षाले बाढीपहिरो निम्त्याउँदा मनाङको उच्च हिमाली भेगमा पुगेका ७५ जना गाउँले अलपत्र परेका छन् । यार्सागुम्बु संकलनका लागि गएका उनीहरुलाई हेलिकप्टरले उद्धार गर्ने प्रयास गरेपनि मौसम खराबीले सफल हुन सकेन ।

जिल्ला मनाङको ५ हजार मिटरमाथिको उचाइमा ७५ जना स्थानीय अलपत्र परेको स्थानीय प्रशासनले बताएको छ । फू गाउँको नामु लेक समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइमा पर्छ । त्यहाँ  हिमालमुनि ७५ रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

खराब मौसमका कारण उनीहरुको विहीबार उद्धार हुन नसकेको लामिछानेले बताए । प्रजिअ लामिछानेका अनुसार यार्सागुम्बु संकलनका लागि गाउँलेहरु फू गाउँको उच्च भेगमा पुगेका थिए । ‘गोठमा बसेका उनीहरुलाई उद्धारका लागि हेलिकप्टर जान पनि सकेन,’ लामिछानेले भने, ‘हेलिकप्टर जान सक्ने अवस्था नै रहेन । खराब मौसमले गर्दा उच्च भेगमा पुगेका उनीहरु रोकिएका छन ।’ अधिक वर्षापछि पहिरोको त्रासले उनीहरु एउटा गोठमा रोकिएको उनले बताए । रोकिएका गाउँले बसिरहेको गोठको पहिचान भईसकेको उनले बताए ।  

त्यस्तै तिल्चेमा पनि ५० जना रोकिएका छन् । ओडारमा पनि १०० जना रोकिएका छन । ओडारमा रोकिएका उनीहरु स्कुलमा बसेको लामिछानेले जानकारी दिए । ‘अब तीनठाउँबाट उद्धार गर्न बाँकी छ । मौसममा खराबी हुँदा उनीहरुसम्म पहुँच पुग्नै सकेन,’ लामिछानेले भने, ‘विहीबार दिनभर प्रयास गरियो, तर, मौसम खुल्दै खुलेन ।’

उनका अनुसार विहीबार मनाङमा ३५ जनालाई उद्धार गरिएको छ । सिरानतालबाट २४ र थोचेबाट ११ जनाको उद्धार गरिएको उनले बताए । ‘थोचेमा ढुंगाको कापमा बसेका उनीहरुलाई हेलिकप्टरको सहायताले सुरक्षित ठाउँमा सारिएको छ,’ उनले भने । नासोँ गाउँपालिका–१ को तालगाउँका बासिन्दाको सबैलाई सुरक्षित ठाउँमा सार्न सकिएको पनि प्रजिअ लामिछानेले जानकारी दिए । तालमा ६० घर रहेकोमा सबैजसो घरमा पानी पसेको थियो । मस्र्याङदी खोला नजिकैको तालको यो बस्तीमा तीनदिन अघि नै बाढी पसेको थियो । घरमा बाढी पसेपछि गाउँलेलाई सुरक्षित स्थानमा सारिएको थियो । 

प्रकाशित: ३ असार २०७८ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App