coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अमेरिकन हतियारसहित पूर्व लडाकू पक्राउ

अवैध हतियारसहित पक्राउ परेका चौधरी। तस्बिर: महेश्वर/नागरिक

यहाँका एक माओवादी पूर्व लडाकू अवैध हतियारसहित पक्राउ परेका छन्। पूर्व लडाकु तथा हाल जनता समाजबादी पार्टी उदयपुरका जिल्ला सदस्य त्रियुगा नगरपालिका ३ मोतिगडाका ५० वर्षीय प्रशुराम चौधरी अमेरिकन स्वचालित पेस्तोल र त्यसमा जाने ५ राउण्ड गोलसहित पक्राउ परेका हुन्। 

मोतिगडास्थित चौधरीकै कान्छी श्रीमतिको घरमा अवैध हतियार लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको टोलीले गएराति साढे १० बजे खानतलासी लिँदा लुकाई राखेको ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र त्यसमा लाग्ने ९ एमएमको ५ राउण्ड गोलीसमेत फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।  

तत्कालीन नेकपा (माओबादी)को १० वर्षे सशस्त्र द्वन्द्वताका लडाकु रहेका चौधरी पार्टी शान्तिपूर्ण राजनीतिक मुलधारमा आएपछि माओबादीकै जिल्ला कमिटी सदस्य, पार्टीनिकट मजदुर संघ जिल्ला संयोजक भएर काम गरेका थिए। ०७७ माघ ४ गते उनी संघीय समाजबादी पार्टीमा प्रवेश गरेर जिल्ला सदस्यको भूमिकामा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी चौधरीलाई सार्वजनिक गरेको छ। कार्यक्रममा उनको घरबाट बरामद हतियार, गोली र बिभिन्न घरमा पेस्तोल, गोली, पार्टीनिकट संघसंगठनका चन्दा रसित फेला परेको जनाएको छ। प्रहरी प्रमुख एसपी भीम दाहालले चौधरीको घरबाट नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघको ८ ठेली चन्दा रसिद, नेकपा (माओवादी केन्द्र) को ३ थान रसिद र अखिल नेपाल मजदुर संघ लेखिएको ८५ थान सदस्यता रसिद पनि फेला परेको बताए।  

एसपी दाहालका अनुसार जनयुद्धकालदेखि नै आफुसँग हतियार रहेको स्वीकार्दै चौधरीले कान्छी श्रीमतिसँग बेमेल भएका कारण आफु पक्राउ परेको स्वीकारेका छन्। दुई छोरीकी आमालाई कान्छी श्रीमती बनाएर घर भित्र्याएर अलग्गै राखेको र झट्केली छोरीसँग सप्तरीको सुरुङ्गा नगरपालिका ८ का २३ वर्षीय बबि चौधरीको प्रेम सम्बन्ध रहेकाले उसैलाई फसाउन हतियार राख्दा पक्राउ परेको दाहालले बताए। 

‘कान्छी श्रीमतीसँग लामो समयदेखि बेमेल रहेछ’ एसपी दाहालले भने ‘त्यसमाथि झटकेली छोरीसँग प्रेम सम्बन्धमा रहेका सप्तरीका युवा बिहे नगरी ज्वाईजस्तै ढुक्क घरमा बसेकाले फसाउन हतियार राख्दा आफै पसे।’  

स्वचालित हतियार र गोलीसहित बिभिन्न संघसंगठनका रसिद फेला पर्नुले चौधरीलाई अवैध चन्दा असुलीमा संलग्न भएको अनुमान पनि प्रहरीले गरेको छ। उनलाई हिरासतमा राखेर हात हतियार तथा खरखजना ऐन अनुसार कारबाही गर्नेगरी अनुसन्धान सुरु भएको दाहालले बताएका छन्।

प्रकाशित: ३ असार २०७८ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App