१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा कोराेना घट्दैः २५ संक्रमित थपिदा १ सय ३७ जना निको

स्वास्थ्य कार्यालय उदयपुर । तस्बिरः महेश्वर

पछिल्लो समय उदयपुरमा कोभिड संक्रमित घट्दै गएका छन् भने निको हुने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २४ महिलासहित ४५ जना संक्रमित थपिदा निको हुनेको संख्या १ सय ३७ पुगेको छ ।  

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार नयाँ थपिएका संक्रमितहरुमा चौदण्डीगढी नगरपालिकाका ६ महिलासहित १७, त्रियुगा नगरका ५ महिलासहित ११, बेलका नगरका २ महिलासहित १० र लिमचुङबुङ गाउँपालिकाका १ महिलासहित ५ जना रहेका छन् । उनीहरु अघिल्लो दिन परीक्षण गर्दा संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । सुबेदीका अनुसार पछिल्लो ३ दिनयता संक्रमतिभन्दा निको हुनेको संख्या बढ्दै गएको हो ।  

अघिल्लो दिन अहिलेसम्मकै सबभन्दा बढी ४ सय ७९ जना निको भएका थिए । शनिबार निको हुने १ सय ३७ संख्या त्यसपछिको दोस्रो ठूलो हो भने बिहीबार ९१ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्ला निको हुनेसहित जिल्लामा हालसम्म ४ सय ९६ महिलासहित १ हजार १ सय १२ जनाले कोभिडलाई पराजित गरेर घर फर्केका छन् ।  

शनिबार थपिएका ४५ सहित सक्रिय संक्रमतिहरुको उदयपुर कोभिड अस्पताल बेलटार, सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसन र धरान तथा बिराटनगरमा उपचार भईरहेको छ । अस्पतालमा भन्दा दोब्बर बढी संक्रमितहरु होमआईसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

हाल त्रियुगा नगरपालिकाका १ सय १ महिलासहित २ सय ३९ को उपचार भईरहेको छ भने २ सय ९४ महिलासहित ५ सय २८ निको भईसकेका छन् । बेलकाका ६० महिलासहित १ सय २२ उपचारमा छन् भने ६० महिलासहित १ सय १२ जना निको भएका छन् । त्यस्तै चौदण्डीगढीका ४९ महिलासहित ९३ जनाको उपचार भईरहेको छ भने ८४ महिलासहित १ सय ७८ जना निको भईसकेका छन् । कटारीका २० महिलासहित ४५ उपचारमा रहँदा ४५ महिलासहित १ सय ७ निको भएका छन् ।  

स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलका अनुसार गाउँपालिकातर्फ लिमचुङबुङका १८ महिलासहित ४१ जना उपचारमा रहँदा ३२ महिलासहित ६४ जना निको भएका छन् । रौतामाईका ९ महिलासहित १४ उपचारमा छन् भने २५ महिलासहित ७८ जना निको भईसकेका छन् ।  त्यसैगरी ताप्ली गाउँपालिकाकाका २ महिलाको उपचार भईरहेको छ भने ३ महिलासहित १० जनाले कोभिडलाई परास्त गरिसकेको लुईटेलले बताएका छन् ।  

स्वास्थ्यले जिल्लामा पछिल्लो ३ दिनयता कोभिडबाट कसैको मृत्यु नभएको जनाएको छ । यसअघि मृत्यु हुनेको संख्या ४८ छ । त्रियुगाका ७ महिलासहित २४, चौदण्डीगढीका ४ महिलासहित ९, कटारीका २ महिलासहित ४, बेलकाका ४ पुरुष, उदयपुरगढीका १ महिलासहित ३, रौतामाईका १ महिलासहित ३ र लिमचुङबुङका १ पुरुषको ज्यान गएको लुईटेलले बताएका छन् ।  

उदयपुरमा वैशाख सुरुदेखि कोभिड फैलिन थालेपछि २५ गतेदेखि सुरु भएको निषेधाज्ञा आउँदो असार ७ गते लागू गर्ने निर्णय भएको छ । पछिल्लो पटक शुक्रबार रातिदेखि थपिएको सातादिनको निषेधाज्ञा केही खुकुलो पार्दै विहान ७ देखि १२ बजेसम्म खाद्यान्न, दूधजन्य, पेट्रोलियम पदार्थ, फलफूल र तरकारीलगायत अत्यावश्यक सामग्री बेच्न खुल्ला गरिएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App