७ वैशाख २०८१ शुक्रबार
समाज

पोखरा महानगरको कोभिड अस्पतालः ५५ शैयाबाट सेवा सुरु

एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ । पहिलो चरणमा ५५ बेड तयार गर्दै विरामीको उपचार सेवा शुरु गरिने महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए ।  

‘अस्पताल तयार भयो । विरामी भर्ना लिएर उपचार सेवा शुरु गर्छौ’ उनले भने, ‘विरामीलाई बुधबारदेखि नै भर्ना लिएर उपचार शुरु गरिने तयारीमा छौं ।’ संक्रमितको उपचारको लागि महानगरपालिकाले तीन चिकित्सक, चार नर्स तथा दुई पारामेडिक्स टोली खटिनेछ । ‘उपलब्ध जनशक्तिले २५ जना विरामीको उपचार धान्न सक्छन् ।’ उनले थपे, ‘विरामी थपिए स्वास्थ्यकर्मी पनि थप्दै लैजाने छौं ।’  

अस्पतालमा दोस्रोस्तरका विरामीलाई उपचार गरिने छ । सघन(क्रिटिकल) उपचार गर्नुपर्ने विरामीलाई ठूला अस्पतालमा रिफर गरिनेछ । उनका अनुसार क्रिटिकल भन्दा बाहेकका विरामीलाई उपचार गरिने छ । ‘विरामी घर नबसुन् । अस्पताल आउन भन्ने हो । शुरुमै उपचार गरेर अस्पतालबाट घर फर्किउन भन्ने उद्देश्य हो,’ उनको  भनाई थियो । जटिल अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । त्यसले विरामीको ज्यानै समेत जाने गरेको छ ।  

संक्रमित भईसकेपछि स्वास्थ्यमा समस्या देखिने वित्तिकै अस्पतालमा उपचारको लागि जानुपर्ने उनले बताए । ‘समस्या जटिल भएपछि अस्पताल जाने प्रवुत्तिले संकट निम्त्याउँछ,’ उनले भने, ‘क्रिटिकल हुनुभन्दा अगावै उपचार गरेर निको पारेर विरामीलाई घर फर्काउन सकियोस ।’ अस्पतालमा सबै बेडमा अक्सिजनको व्यवस्थापन गरिएको छ । 

‘१०० बेडलाई नै अक्सिजन व्यवस्थापन गरिएको छ । यद्यपी अहिलेलाई ५५ बेड मात्रै सञ्चालन गरेर उपचार शुरु गर्छौ,’ उनले बताए । १०० बेडलाई २० अक्सिजन सिलिण्डर जडान गरिएको छ ।  ४ वटा सिलिण्डर भने रिजर्भमा छ । कास्कीमा कोभिड संक्रमितको संख्या घट्दो क्रम भने कम छ । मंगलबार मात्रै दुईसय भन्दा बढी संक्रमित थपिएका छन् । मंगलबार भने संक्रमितको सख्या अन्य दिनको भन्दा बढी हो ।  

साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको थियो । अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ ले सहयोग गरेको हो । स्वाथ्य महाशाखा प्रमुख शर्माले लायन्स क्लबले बेडसहित आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको बताए । लायन्स क्लब ३२५ बी १ का पूर्व गर्भनर धनराज आचार्यले कोभिड युनिटको लागि ५० बेड (१० डिलक्स बेड), नौ वटा अक्सिजन कन्सन्टे«टरसहित सामान उपलब्ध गराईसकिएको बताए ।पाँच भेन्टिलेटर र हाईफ्लो अक्सिजन मेशिन समेत प्रदान गरिएको छ । कोभिडपछिको अवस्थामा उक्त कोभिड युनिटलाई जनरल अस्पतालमा रुपान्तरण गरिने छ ।

प्रकाशित: २६ जेष्ठ २०७८ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App