२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्गमका मन्दिर असुरक्षित, हराउँछन् बहुमूल्य धातु र मूर्ति

फाइल तस्बिर

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ काँडास्थित बुरामष्टको मन्दिरमा आइतबार राति चोरी भयो। मन्दिरबाट तीन लाख पाँच सय ४० रुपैयाँ नगद, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भए। मन्दिरको उत्तरतर्फको गेट फोडेर चोरी भएको बुरामष्ट क्षेत्र विकास कोषका अध्यक्ष ध्रुवराज केसीले जनाए। यसभन्दा अघि डोल्पाको विकट क्षेत्र मानिने काइके गाउँपालिका–१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाबाट मूर्तिहरू चोरी भएका थिए।

तीन÷चार सय वर्ष पहिला राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएका वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले बताए। चैत २४ गते स्थानीय उक्त मन्दिरमा गएर पूजाआजा गरेका थिए। त्यसको एक महिनापछि स्थानीय घेगा पर्वमा लिंग चढाउन जाँदा मूर्ति हराएको थाहा भएको उनले बताए। ‘चैतमा पूजाआजा गरेर गाउँले फर्किएका थिए,’ उनले भने, ‘पर्वको समयमा लिंगो हाल्न जाँदा ढोका खुला अवस्थामा थियो।’ भित्र गएर हेर्दा पुरातात्विक महत्व बोकेका मूर्ति हराएको उनको भनाइ।

मन्दिरको ढोका फोरेर मूर्ति चोरी भएको प्रहरीले जनाएको छ। धार्मिक आस्थाको धरोहर मानिने यो मन्दिर गाउँभन्दा करिब चारघण्टा टाढा जंगल बीचमा छ। ‘मन्दिरभन्दा नजिक चारघण्टा दुरीमा कोलागाउँ पर्छ,’ वडाध्यक्ष लामाले भने, ‘मन्दिरमा असुरक्षाका कारण मूर्ति चोरी भयो।’ यहाँ प्रत्येक वर्ष भदौ ११ गतेदेखि तीन दिनसम्म मेला लाग्ने स्थानीयको भनाइ छ। यसभन्दा अघि करिब २० वर्ष पहिला पनि यी मूर्ति चोरी भएका थिए। हराएको भोलिपल्ट मन्दिर नजिकै मूर्ति फेला परेका थिए। ‘साउन/भदौमा गोठालोले पत्ता लगाएको थियो,’ उनले भने, ‘हराएको कुरा तत्कालै थाहा पाएपछि खोजी सुरु गरिएको थियो। यसपालि भने कहिले हरायो भन्ने नै थाहा नभएको र चोरी गर्ने भागेको भए समस्या हुने स्थानीयको भनाइ छ। हराएका मूर्ति मान्छेभन्दा ठूला भएको वडाध्यक्ष लामाले जनाए।

सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरू बताउँछन्। यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ। मूर्ति चोरीका विषयमा अनुसन्धान भइरहेको डोल्पाका प्रहरी निरिक्षक हरिराम डाँगीले जनाए। ‘केही व्यक्ति शंकाको घेरामा आएका छन्,’ उनले भने, ‘हामीले ति व्यक्तिहरूलाई सोधपुछ गरिरहेका छौं।’ मन्दिरहरू बस्तीभन्दा टाढा हुँदा बढी असुरक्षित हुने गरेको उनको भनाइ छ। मन्दिरबाट मूर्तिलगायत बहुमूल्य धातु चोरी गरेर विदेशसम्म लिने गरेको पाइन्छ।  

कर्णालीका धार्मिक मन्दिरहरूको अवस्था कस्तो स्थितिमा छन् यसको लेखोजोखा छैन। यस्तै २०५७ कात्तिक १ गते राति डोल्पाकै त्रिपुरासुन्दरीस्थित बाला त्रिपुरासुन्दरी मन्दिर चोरी भएको थियो। सोलुखुम्बु पाबाचे गुम्बाका २४ वर्षीय लाक्या छिरिङ घोक्वा, डोल्पा रिमीका १६ वर्षीय भीमबहादुर विकलाई पुरातात्विक मूर्ति चोरी गरेको ठहर गर्दै जिल्ला अदालतले ७५ हजार जरिवानासहित पाँच वर्ष कैद ठहर गरेको थियो। डोल्पाको से–फक्सोण्डो गाउँपालिका–३ मा रहेको सेलरी सम्दो गुम्बाबाट पनि बहुमूल्य मूर्ति चोरी भएका थिए।

राज्यले मन्दिरलाई संरक्षण गर्न नसक्दा दुर्गम क्षेत्रका मन्दिरहरू असुरक्षित हुँदै गएका छन्। ‘बस्तीभन्दा मन्दिर टाढा हुन्छन्,’ प्रदेश प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले भने, ‘त्यहाँ मान्छेको आवतजावत हुँदैन, त्यही मौकामा चोरी हुन्छ।’ मन्दिरमा पैसा राख्नुभन्दा बैंकमा राख्दा सुरक्षित हुने उनी बताउँछन्। यसभन्दा अघि जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरबाटसमेत मूर्तिहरू हराएका थिए। २०७३ सालको मंसिर १२ गते खलंगा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए। चोरीमा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर मुद्दा चलाएको छ। 

प्रकाशित: २६ जेष्ठ २०७८ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App