१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

निषेधाज्ञा पालन गराउन डिजे बाजा रोक्न खोज्दा झडप, डिएसपिसहित सात प्रहरी घाइते

सांकेतिक तस्बिर

निषेधाज्ञाको समयमा ठूलो भीडभाड गरी डिजे बाजा बजाइरहेको सूचनाको आधारमा सम्झाई बुझाई गर्न गएको प्रहरीमाथि स्थानीयले ठूलो आक्रमण गरेको छ। आक्रमणबाट डिएसपिसहित सात प्रहरी घाइते भएका छन्।  

रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा आइतबार साँझ प्रहरी र स्थानीयवासीबीच ठूलो झडप भएको हो। झडपमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि द्वारिका घिमिरेको करङको हड्डी भाँचिएको छ। डिएसपि घिमिरेको गरुडास्थित रौतहट ग्रान्डी अस्पतालमा आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

स्थानीय जयलाल सहनीका छोरा सुजित सहनी, भैरो राय यादवकी छोरी तथा राजाराम सहनीको छोरा गरी तीन जनाको बिहेमा डिजे बाजा बजिरहेको तथा सयौँको संख्यामा मानिसहरु भेला भई डिजे बाजामा नाचिरहेको सूचना प्रहरीले पाएको थियो। इलाका प्रहरी कार्यालय शिवनगरबाट गएको प्रहरी टोलीले निषेधाज्ञाको समयमा यसरी धेरै जनाको भीडभाड गर्न नहुने र कम्तीमा मास्क लगाएर दूरी अपनाएर बिहेको काम गर्नुपर्ने भनी सम्झाउन खोज्दा जयलाल सहनीका छोरा सुजित सहनीको बिहेको लागि बजिरहेको डिजेबाजामा नाचिरहेका मानिसहरुले प्रहरीमाथि आक्रमण गरेका थिए।

प्रहरीमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गरुडा नगरपालिका २ का दिलिप सहनी र सुनील सहनी तथा कटहरिया नगरपालिका ६ फत्तेपुरका राधा साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाह सोमबार बिहान झडपमा घाइते डिएसपि घिमिरे तथा प्रहरीहरुसित रौतहट ग्रान्डी अस्पतालमा स्वास्थ्यको अवस्थाको बारेमा बुझेका छन्। डिएसपि घिमिरेको स्वास्थ्य अवस्था खतरामुक्त रहे पनि चिकित्सकको सल्लाहअनुसार थप उपचारको लागि बाहिर पठाउनुपर्ने पनि हुन सक्ने एसपि शाहले बताएका छन्।  

निषेधाज्ञाको समयमा सम्झाई बुझाई गर्न गएका प्रहरीमाथि आक्रमण गर्नेहरुमाथि निषेधाज्ञासम्बन्धी र नयाँ कानुनबमोजिम कारबाही चलाउने एसपि शाहले बताएका छन्।  

जिल्ला प्रशाासन कार्यालय रौतहटले डिजे नबजाउन तथा एउटा बिहेमा बढीमा १५ जना सहभागी हुने निषेधाज्ञासम्बन्धी सूचनामा सार्वजनिक गर्दै आएको छ। निषेधाज्ञाको समयमा कुनै पनि कानुनलाई नमान्ने तथा प्रहरीमाथि आक्रमण गर्नेहरुमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग जिल्लामा हुन थालेको छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App