रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् । वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन गरिरहेका एक्जाभेटर तथा तिनका चालकलाई छुटाउन पहल गरिरहेका छन् ।
वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव तथा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका जनप्रतिनिधिको टोली आइतवार जिल्ला समन्वय समिति रौतहटको कार्यालय गौरमा एक्जाभेटर र चालक छुटाउन दबाब दिएका छन् । शुक्रबार प्रहरीले बागमती नदीमा अवैध उत्खनन गर्दै गरेका आठ एक्जाभेटरसहित सात चालकलाई छुटाउन दबाब दिएका हुन् ।
दुवै नगरपालिकाका जनप्रतिनिधिले बागमती नदीमा नगरपालिकाको निर्णयअनुसार नै गिटी तथा ढुंगा झिकेको जिकिर गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएको सामग्री छुटाउन जिससलाई निर्माण व्यावसायी तथा निर्माण कम्पनीहरुले पनि दबाब दिएको देखिएको छ ।
जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम एकबाल राय यादवले आफूलाई एक्जाभेटर छुटाउन जनप्रतिनिधिदेखि निर्माण कम्पनीसम्मले दबाब दिएको स्वीकार गरेका छन् । प्रहरीले एक्जाभेटर नियन्त्रणमा लिएर जिससमा बुझाएपछि नियमानुसार र समितिको निर्णयअनुसार मात्र आफूले केही गर्न सक्ने भन्दै आफू एक्लैले केही नगर्ने दबाब दिनेलाई बताउने गरेको उनले बताएका छन् ।
जनप्रतिनिधिहरुसँगै एक्जाभेटर र चालक छुटाउन दबाब दिन गएका निर्माण व्यावसायी संघ रौतहटका पूर्व अध्यक्ष नागेन्द्र साहले विकास निर्माणको काममा प्रहरीले प्रशासनले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन् । निर्माण व्यावसायी साहले नदीजन्य पदार्थ उत्खनन गर्ने चालक र मेसिनलाई नियन्त्रणमा लिइनु गलत भएको तर्कसमेत दिएका छन् ।
जिल्लामा विकास निर्माणको अर्बौँको योजना कोभिडको कारणले अलपत्र अवस्थामा रहेको र निषेधाज्ञा जारी भएपछि स्थानीय तहले विकास निर्माणको कार्य रोकेर महामारी नियन्त्रणमा सक्रिय रहेको समयमा क्रसर उद्योगहरुले खोलाको अवैध उत्खनन गर्दै जथाभावी भन्डारण गरेका छन् । खोलामा अवैध उत्खनन तथा भन्डारण गरिएको गुनासो भएपछि रौतहट प्रशासनले गत शुक्रवार हस्तक्षेप गरेपछि निर्माण व्यावसायी तथा जनप्रतिनिधिहरु आक्रोशित बनेका हुन् ।
जिल्लाको दर्जनौँ ठाउँमा अवैध उत्खनन गरी पहाडजस्तो अग्लो गिटी र ढुंगा अवैध रुपमा भन्डारण गरिएको भन्दै सर्वसाधारणले सबै जफत गरी अवैध दोहन र भन्डारण गर्नेमाथि कारबाहीको माग गरिरहेको समयमा जनप्रतिनिधि तथा निर्माण व्यावसायीहरु उल्टै पक्राउ परेकालाई छुटाउन दबाब दिइरहेका छन् ।
वृन्दावन नगरपालिकाका प्रमुख राम स्नेही यादवले नगरपालिकाले नियमबमोजिम नदीजन्य पदार्थको उत्खनन गर्ने ठेक्का लगाएको र नपाको स्वीकृत कार्यबमोजिम नै खोलामा मेसिन प्रयोग गरिएको बताएका छन् । “उत्खननको क्रममा केही तलमाथि भएको हुन सक्छ त र खोला बन्द हुने अन्तिम समयमा प्रशासनले मेसिन र चालक पक्राउ गरेर दुख दिने काम गरेको” आरोप मेयर यादवको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि सिद्धविक्रम शाहले गत शुक्रवार प्रहरीले नियन्त्रणमा लिएका चालकलाई छुटाउन कतैबाट दबाब नआएको बताउँदै सबै काम नियमानुसार हुने र अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।
प्रकाशित: २४ जेष्ठ २०७८ ०१:२२ सोमबार