८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बाँझो जमिनमा नर्सरी

बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन्। मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा बनाएका हुन्।  

वार्षिक एक लाख पचास हजार रुपैयाँ भाडा तिरेर नौ रोपनी बाँझो जग्गा भाडामा लिएर उनीहरुले नर्सरी स्थापना गरेका हुन्। पाखो जग्गालाई स्काभेटरले  सम्माइ खनजोत गरी नर्सरी बनाएका हुन्। गत हिउँददेखि शुरुआत भएको रुबिना एण्ड दीक्षा नर्सरीमा अहिले बर्खा यामका लागि फलफुलका बिरुवा उत्पादन भएका छन्। खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ।  

नर्सरी बनाउन लागि  २२ लाख रुपैयाँ लगानी भएको सञ्चालक गुरुङले बताए। “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भने “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ।”  

सेमि हाइटेक प्रबिधीको प्लाष्टिक घरमा विभिन्न प्रजातिका फुलका विरुवा तयार पारिएको छ। बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक  पुनले बताए। जिल्ला दररेट अनुसार टिम्मुरको विरुवा प्रतिगोटा ५७ र दाँते ओखरका विरुवाको प्रतिगोटा ११५ रुपैयाँ मूल्य निर्धारण भएको छ। उनीहरु सामुदायिक वन उपभोक्ता महासंघका अभियन्तका रुपमा जिल्लामा परिचित छन्। वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा रुपान्तरण गरेको उनीहरुले बताए।  

नर्सरीलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तार कार्यक्रम अन्तरगत एक लाख १५ हजार रुपैया अनुदान उपलब्ध गराएको थियो। दुई सेमि हाइटेक प्रबिधीको पलास्टिक घर बनाएका छन्। गत हिउँद याममा प्याजका बिरुवा उत्पादन गरेका थिए।  

म्याग्दी र आसपासका क्षेत्रका कृषकलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा बनस्पतिका बिरुवा आपुर्ति गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरेको उनीहरुले बताए।। पछिल्लो समय यहाँका कृषक नर्सरी ब्यवसायतर्फ आकर्षित भएका छन्।रासस 

प्रकाशित: २३ जेष्ठ २०७८ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App