१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

अझै अघि बढेन बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम

चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमा निर्माण प्रस्ताव गरिएको बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम अझै अघि बढेको छैन। २०७६ जेठ १५ गते सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रममा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको कामअघि बढाउने प्रस्ताव गरिएको थियो।  

तर हालसम्म सामान्य छलफल गर्ने भन्दा अरु काम भएको छैन। आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि पनि सरकारले यो कार्यक्रमलाई प्रस्ताव गरेको छ। सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।  

सुरुङ निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको योजनाले यसअघि गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। निर्माणको लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दूरी २४ किलोमिटरको हुने छ।  

नेपाल चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा सुरुङ निर्माण पनि परेको छ। गल्छी–रसुवागढी सडकको स्तरोन्नति कार्यको नेतृत्व लिइरहेको योजनाले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनका आधारमा नेपाल–चीनबीच सुरुङ निर्माण हुने सम्झौता हुने देखिएको थियो।  

एक किलोमिटर बराबर दुई अर्ब रुपयाँ खर्च हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। सुरुमा स्याफ्रुदेखि मैलुङसम्म सुरुङ निर्माण गर्ने योजना थियो। २०७६ असोजमा भएको द्विपक्षीय सम्झौता अनुसार बेत्रावतीदेखि रसुवागढीसम्म नै सुरुङ निर्माण हुने छ।  

काठमाडौंसँग जोड्ने नजिकको नाका भएकाले यस क्षेत्रमा रेलमार्ग तथा सुरुङ मार्ग बनाउन आवश्यक रहेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। नेपालमा हालसम्म २४ किलोमिटर लामो सुरुङ निर्माण नभएको छैन। ‘निर्माणको हिसाबले निकै चुनौतिपूर्ण छ’, उनले भने, ‘ चुनौति छ भन्दैमा नबन्ने चाहिँ होइन।’  

यसको निर्माणका लागि आयोजनाले निरन्तर सहयोग र सहकार्य गर्नेछ। सुरुङ निर्माणको काम सुरु भएपनि सडकको स्तरोन्नतिको काम पनि निरन्तर सञ्चालन हुने योजनाले जनाएको छ। सुरुङ मार्ग निर्माण भएपछि द्विदेशीय व्यापारमा सहज हुने विश्वास लिइएको छ।  

बेत्रावती–रसुवागढी, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। गल्छीदेखि रसुवागढीसम्मको सडक साँघुरो र लामो दूरीको छ।  

चीनले पछिल्लो समय रसुवागढी नाकालाई प्राथमिकतामा राखेको छ। गएको वर्ष भएको समझदारीमा अधिकांस आयोजना रसुवागढी नाका तर्फका छन्। अन्तरर्देशीय प्रसारण लाइन, केरुङ–काठमाडौं रेलमार्ग, केरुङ–काठमाडौं सुरुङ मार्ग प्राथमिकतामा परेका छन्। त्यसैगरी चीन सरकारको लगानीमा रसुवागढी नाका नजिकै सुख्खा बन्दरगाह निर्माण भइरहेको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App