१६ चैत्र २०८० शुक्रबार
समाज

उडानमा जन्मदिन मनाउँदा कारबाही

उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो।

कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नगराउने निर्णय गरेको छ। निगमका अनुसार केक काट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो। उक्त उचाइका बेला चारवटै ढोका एयर होस्टेसले छाड्न मिल्दैन। तर जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कारबाही गरेको हो। ग्याली नं. १ (ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ) मा केक काटिएको थियो। जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए। एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए।  

उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबाहीस्वरूप तीन महिनासम्म काम गर्न रोक लगाइएको निगम प्रशासनको भनाइ छ।  

निगमका कार्यकारी निर्देशक डिमप्रकाश पौडेलले मापदण्ड मिचेका कारण उनीहरूलाई कारबाही गरिएको बताए। उनले कोभिड महामारीका बेला जहाजमा केक काट्न नपाइने प्रोटोकल बनाइएको जानकारी दिए। पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं। कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो। कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौं।’ निगमले बनाएको कोभिड उडान निर्देशिकामा भने उडिरहेको जहाजमा केक काट्न नपाउने भन्ने उल्लेख छैन। पछिल्लो समय सिनियर पाइलट विजय लामाले उडानका भिडियो फुटेज र फोटोहरू सार्वजनिक गरेको भन्दै नागरिक उडड्यन प्राधिकरणले फोटो सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ।  

कारबाहीमा पर्नुअघि एयर होस्टेसले उडानमा जन्मदिन मनाएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। सोही कारणले पनि कारबाही गरिएको निगमका अपरेसन डाइरेक्टर दिपुराज जुहार्चनले बताए। जहाजमा केक काटेको यो पहिलो घटना भने होइन। अपरेसन डाइरेक्टर जुहार्चनले नै जहाजमा जन्मदिन मनाएका थिए। उनले याङयुङबाट काठमाडौंका लागि उडेको जहाजमा जन्मदिन मनाउन केके काटेका थिए। 

उक्त भिडियो फुटेज बाहिरिएपछि विवाद भने भएको थियो। त्यसैगरी अहिले एयर होस्टेसहरूले जन्मदिन मनाउँदा उनीहरूमाथि जुहार्चन र पौडेलले कारबाही गरेका छन्। ‘मैले जन्मदिन मनाएको उहिले हो तर अहिले कोरोना छ। अहिले जहाजमा केक काटेर रमाउने बेला होइन,’ जुहार्चनले भने, ‘त्यसैले कारबाही गरिएको हो।’ उनले कोभिड प्रोटोकल पालना नगरेकाले कारबाही भएको दाबी गरे।

उक्त जडानमा ८ जना क्याबिन क्रु थिए। जसले पालैपालो ड्युटी गरेका थिए। तीमध्ये चारजनामाथि मात्र कारबाही भएको छ। उक्त उडानकी चिफ अफ क्याबिन क्रु सुमिली जुहार्चनलाई भने निगम प्रशासनले कारबाही गरेको छैन।  

उडानमा सावधानीसाथ जन्मदिन मनाउँदा अनावश्यक बहाना बनाएर कारबाही गरिएको गुनासो पीडित पक्षको छ। कारबाहीमा परेका चारजनाले आफूहरूले लापरबाही नगरेको बताएका छन्। ‘हामीले यस्तो बेलामा ड्युटी गर्नुपरेको छ, त्यसैमा पनि सामान्य बहाना बनाएर कारबाही गरिएको छ,’ कारबाहीमा परेकी एक एयर होस्टेसले भनिन्, ‘हामीले ड्युटी नै छाडेर त जन्मदिन मनाएका होइनौं, ड्युटी स्थानमै उभिएर मनाएका हौं तर कारबाही भयो।’ ती एयर होस्टेसले महामारीका बेला जीवन जोखिममा राखेर काममा खटिँदा पनि निगमले निरुत्साहित पारेको गुनासो गरिन्। निगमका एक पाइलटका अनुसार पछिल्लो समय व्यक्तिगत प्रतिशोध राखेर अपरेसन डाइरेक्टर र निर्देशकले कर्मचारीलाई कारबाही गर्न थालेका छन्। 

यसअघि पनि सिनियर पाइलटलाई बेवास्ता गर्दै निगमले जुनियरलाई उडान भर्न दिएपछि विरोध भएको थियो। महामारीकै बेला निगमले केही कर्मचारीलाई जागिरबाट समेत निकालेको थियो। ‘निगमले सिनियर पाइलटलाई बेवास्ता गरेको छ,’ ती पाइलटले भने, ‘यसो गर्दा कुन उडान कुन पाइलटलाई दिने भन्नेबारे विवाद सिर्जना हुने गरेको छ।’

प्रकाशित: २२ जेष्ठ २०७८ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App