१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

खोप खरीदको लागि धरान उपमहानगरद्वारा स्वीकृति माग

संघीय र प्रदेश सरकारबाट कोभिड १९ विरुद्धको आवश्यक मात्राको खोप उपलब्ध हुन नसकेपछि धरान उपमहानगरपालिका आफैले खरीद गर्ने भएको छ ।  

खोप खरीदको लागि आवश्यक स्वीकृति प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग गर्दै पत्राचार गरेको जनाएको छ । मेयर राईले सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन नसकेको कारण आफै खोप खरीद गर्ने उल्लेख गर्दै आइतबार मन्त्रालयलाई स्वीकृतिको लागि पत्राचार गरेका हुन् । उक्त पत्रको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ पठाएका छन् ।

मेयर राईका अनुसार कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको कारण आफै किन्ने योजना बनाइएको हो । उनले १८ वर्षमाथिका एक लाख नागरिकलाई आफ्नै स्रोतबाट खोप दिने योजना रहेको बताए । एक लाख नगरवासीहरुको लाग पहिलो र दोश्रो मात्राको खोप लगाउन दुई लाख डोज खोप आवश्यक पर्ने उपमहानगरको भनाई छ । पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर शुरु भएयता धरानमा १ हजार ६८६ जनामा संक्रमण भइसकेका छन् भने सक्रिय सक्रमितको संख्या ५७० हाराहारी रहेको छ । यस्तै, ३८ जनाले ज्यान गुमाईसकेका छन् ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्मको खोप अभियानमा पहिलो डोज लगाएकाहरुलाई धरानमा अझैसम्म दोस्रो डोज दिइएको छैन । धरानमा दोस्रो डोज लगाउनु पर्नेको संख्या १४ हजार हाराहारीमा रहेको उनको भनाई छ ।  

प्रकाशित: १७ जेष्ठ २०७८ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App