१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मनाङसँग सडक सम्पर्क विच्छेद, तालगाउँको बस्तीलाई ‘अलर्ट’ रहन निर्देशन

मनाङ सदरमुकाम चामेको बस्ती । तस्बिरः नागरिक

लगातारको वर्षाले हिमाली जिल्ला मनाङसँगको यातायात सञ्जाल बिच्छेद भएको छ । लम्जुङको बेसीसहरदेखि मनाङको चामे जाने सडकको ठाउँठाउँमा पहिरो झरेको छ भने काठेपुल पनि बगेका छन । काठेपुल बग्दा मनाङसँगको यातायात सञ्जाल पूर्णरुपमा बिच्छेद भएको छ । मस्र्याङदीमा पानीको वहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत हुन अलर्ट जारि गरिएको छ ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार तीनदिनदेखि मनाङमा निरन्तर वर्षा भईरहेको छ । वर्षाले बाटो अवरुद्ध बनाएको छ । उनका अनुसार धारापानी नजिकै पहिरो झरेको छ । त्यस्तै चामे गाउँपालिका–१ को तिमाङखोला र स्यार्कु खोलाको काठेपुल पनि बगेको छ । भीषण वर्षासँगैको पहिरोले काठेपुल बगाउँदा सवारी आउजाउ गर्न सक्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताए ।  

पुल बगेपछि मनाङबाट लम्जुङ झर्दै गरेका र लम्जुङबाट मनाङ उक्लिदै गरेका अत्यावश्यक सामाग्री बोकेका सवारी सडकमै रोकिएका छन् । अधिक वर्षा भएसँगै मस्याङदी खोलामा पनि पानीको वहाव निकै नै बढेको छ । खोलामा पानीको वहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत हुन अलर्ट जारि गरिएको छ ।  

प्रजिअ लामिछानेका अनुसार मनाङको नासोँ गाउँपालिका–१ को ताल गाउँमा करिब ६० घर छन् । ती घर मस्र्याङदी नदिकै किनारमा छन् । सिरान क्षेत्रमा भीषण वर्षा भएकोले खोलाको वहावको जोखिम रहेको भन्दै तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन भनेको लामिछानेले बताए । स्थानीय प्रहरी र लम्जुङ प्रहरीलाई समेत अलर्ट बस्न भन्दै तालगाउँको बस्तीका बासिन्दालाई सचेत हुन आग्रह गरेको उनले बताए ।

‘तालगाउँको बस्ती खोला किनारसँगै जोडिएको छ । सिरान क्षेत्रमा भीषण र लगातार वर्षा पनि भईरहेको छ । कुनैपनि बेला जे पनि हुनसक्छ,’ उनले भने, ‘त्यही भएर सचेत हुन भनेका छौ । प्रहरीलाई पनि अलर्ट गरेका छौ ।’  

बंगालको खाडीमा न्यूनचापीय क्षेत्रमा विकसित भएको समुन्द्री आँधी ‘यास’ चक्रवातको असर गत मंगलबारदेखि नेपालमा पर्न थालेको थियो । जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा आरोहणमा रहेका आरोहीलाई यसअघि नै मौसममा बदली आउने भन्दै सचेत हुन आग्रह गरेको थियो । त्यसबाहेक हिमाली क्षेत्रमा हिमपात र वर्षा हुने भन्दै सबैतिर सचेत हुन समेत आग्रह गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मनाङले पनि सुचना जारी गर्दै नदी तटिय क्षेत्रमा जोखिम रहेकोले सचेत हुन आग्रह गरेको थियो ।

प्रकाशित: १४ जेष्ठ २०७८ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App