८ वैशाख २०८१ शनिबार
समाज

गोरखा दरबार र श्रीनाथकोटमा रोट महोत्सव सुरु

कोरोनाका कारण रौनक छैन

गोरखा दरबारमा रोट बनाउँदै। तस्बिरः नरहरि /नागरिक

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिर र सिरानचोक गाउँपालिको श्रीनाथकोटमा सवा लाख रोट महोत्सव सुरु भएको छ। गोरखा दरबारमा १८ औँ र श्रीनाथकोटमा पहिलोपटक रोट अर्पण सुरु भएको हो। बुधवारदेखि सुरु भएको रोट अर्पण ११ दिन सम्म दुवै ठाउँमा चल्नेछ। गोरखा दरबारमा सिद्धाश्रम शक्तिकेन्द्र र श्रीनाथकोटमा श्री श्री गोरखक्षधाम सिद्धाश्रम केन्द्रले रोट अर्पण आयोजना गरेका हुन्।

सिद्धाश्रम शक्तिकेन्द्रको आयोजनामा हरेक वर्ष चण्डिपूर्णिमाको दिन देखि ११ दिन सम्म चल्ने रोट महोत्सवको कोरोना प्रभावका कारण रौनक भने छैन। यस वर्ष नित्य पुजा अन्र्तगत रोट चढाइएको केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले बताए।  

गत वर्ष देखि कोरोनाको प्रभावले रोट महोत्सव समान्य रुपमा गरिएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए। ‘आन्तरिक रुपमा मात्रै रोट चढाईन्छ, भक्तजन आउने, रोट चढाउने काम बन्द गरिएको छ,’ उनले भने।  

राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले वैशाख पूर्णीमादेखि ११ दिन सम्म रोट चढाउँदै आएको छ। ‘यस अघिको १६ औँ वर्षमा सर्वसाधारण भक्तजनले पनि रोट अर्पण गर्नुहुन्थ्यो,’ सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रिय संयोजक अर्यालले भने ‘गत र यो वर्ष नित्य पुजा अन्र्तगत रोट चढाएर परम्परालाई निरन्तरता मात्रै दिएका छौं।’  

गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पुजापाठ गरेर सयौं भक्तजनको उपस्थितीमा हुने रोट महोत्सव कोरोना प्रभाव र निषेधाज्ञाको असरले केही रौनक छैन। विगतका वर्षमा सदरमुकाम देखि रथ बोकेर गोरखनाथ मन्दिर लगिन्थ्यो । यस वर्ष कलश यात्रा, रथ यात्रा केही भएन। बिगतका वर्षमा २० हजार भन्दा बढिले रोट महोत्सव अवलोकन गरेको दावि केन्द्रको छ।  

गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ। गहुँ, जौ र धेरै जसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ। बिभिन्न ५२ थरीका शक्तिवर्दक मसला मिसाएर रोट बनाईन्छ। रोटमा जाईफल, काजु, ल्वाङ, सुकमेल, दाख, चिनी, खुदो, नरिवल जस्ता मसला मिसाईन्छ। रोटलाई स–सना गोली बनाउँदै घिउमा पोल्ने गर्छन।  

श्रीनाथकोटमा पहिलो पटक सवालाख रोट चढाईँदै  

गोरखानको बाल कृडास्थलको रुपमा श्रीनाथ कोटलाई लिईन्छ। कोरोना प्रभावका कारण नित्य पुजा अन्र्तगत यस वर्ष समान्य रुपमा रोट चढाइएको श्री श्री गोरखक्षधाम सिद्धाश्रम केन्द्र गोरखा महासचिव दिनेश दानीले बताए। त्यहाँ पनि सर्वसाधारण रोट चढाउने, पुजापाठ गर्ने कार्यक्रममा सहभागी छैनन्।  

साधक साधिकाले नित्य पुजा अन्र्तगत बुधवारदेखि रोट चढाउन थालेका छन्। गोरखा दरबारमा जस्तै त्यहाँपनि ११ दिन सम्म रोट चढाईनेछ। ऐतिहासिक सिरानचोक कोट र गोरखा दरबारबीचको धार्मीक, सांस्कृतीक, ऐतिहासिक सम्बन्धलाई बलियो बनाउन रोट महोत्सव सुरु गरिएको आयोजक केन्द्रले जनाएको छ। कोरोना प्रभावका कारण पहिलो पटकको रोट अर्पण कार्यक्रम समान्य रुपमा नित्य पुजा अन्र्तगत संचालन भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए।  

प्राचिन इतिहासलाई हेर्दा परापूर्वकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी शक्ति अर्थात देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्राथना गर्ने गर्दथे। उक्त मण्डली देवीको मन्दिरमा श्रीनाथ बाबाले दैनिक पूजा आरधना गर्ने भएकाले उक्त मन्दिरको नाम पनि श्रीनाथ मन्डली रहन गएको हो भन्ने भनाइ छ। तिनै देवी र श्रीनाथ बाबाको आश्रम लिएर १६औं शताब्दीमा स्थापनमा गरिएको श्रीनाथ मण्डली मन्दिरलाई तत्कालीन राज्यले इष्ट देवताको रुममा पूजा ससम्मान गर्ने गरेको पाइन्छ। अहिले उक्त ऐतिहासिक स्थलको संरक्षणमा सिरानचोक गाउँपालिकाले गुरुयोजना बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए। 

प्रकाशित: १३ जेष्ठ २०७८ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App