३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुदूरपश्चिममा एकैदिन ३० जना संक्रमितको मृत्यु

वैशाख महिनामा २ सय ६० को मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले शुक्रवार एकैदिन ३० जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा कोरोनाको संक्रमण र मृत्यु दर बढ्दै गएको छ। कोरोना संक्रमणले बिकराल रुप लिदै गएको सुदूरपश्चिममा अस्पातलमा शैया र अक्सिजनको अभावले अवस्था नियन्त्रण बाहिर जान थालेको चिकित्सकले बताएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणले  शुक्रवार कैलालीमा १२, कंचनपुरमा ८, डडेल्धुरामा ३, अछाममा २,बझाङमा १, दार्चुला २ ,डोटीमा १ र अन्य जिल्लाको १ गरि ३० जनाको ज्यान गएको छ। सुदूरपश्चिममा शुक्रवार २१ सय ७४ को परिक्षण गर्दा ८ सय १० नयाँ संक्रमित थपिएका छन्।

सुदुरपश्चिममा दोश्रो लहरको कोरोनाको संक्रमणले वैशाख १६ गतेदेखि मृत्युदर एक्कासी बढेको हो। वैशाख १६ गते १० जना, वैशाख १७ गते ८ जना, वैशाख १८ गते १० जना, वैशाख १९ गते १२ जना, वैशाख २० गते १४ जना, वैशाख २१  गते ८ जना, वैशाख २२ गते ११ जना, वैशाख २३ गते १७ जना, वैशाख २४ गते १३ जना, वैशाख २५ गते १५, वैशाख २६ गते १८ जना र वैशाख २७ गते १७, वैशाख २८ गते ३१, वैशाख २९ गते १४, वैशाख ३० गते १७ र वैशाख ३१ गते ३० जनाको ज्यान गएको थियो।

वैशाख १६ गते यता १६ दिनमा मात्र २ सय ४५ जनाको कोरोना संक्रमणले ज्यान गएको छ। सुदूरपश्चिममा ९ हजार ९ सय ११ सक्रिय संक्रमित रहेका छन्।

गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र  २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोरोनाले ५७ जनाको मात्र मृत्यु भएको श्वास्थ्य निर्देशनालायका हेमराज जोशीले बताएका छन्। वैशाखको ४ गते पहिलो र वैशाखको ९ गते दोश्रो संक्रमितको मृत्यु भएको सुदूरपश्चिममा वैशाख महिनामा मात्र २ सय ६० जनाको संक्रमणले ज्यान गएको छ। सुदूरपश्चिममा कोरोना संक्रमणले जम्मा ३ सय १७ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा दोश्रो लहरको कोरोनाको संक्रमणले अवस्था भयावह बनेको छ। सुदूरपश्चिमका सरकारी तथा निजी अस्पताल भरिभराउ भएका छन्। आईसियु, भेन्टिलेटर भरिएका छन् भने समान्य बेड पनि खाली छैन्न। अक्सिजन नपाएर हाहाकार भएको छ। संक्रमित अक्सिजन नपाएर छट्पटिरहेका छन् भने अस्पतालमा भर्ना भएका कयौ संक्रमित अक्सिजन नपाएर ज्यान गुमाईरहेका छन्। श्वास फेर्न गाह्रो हुने, नियोमिनया हुने भएर अक्सिजनको सपाेर्ट चाहिने जटिल प्रकृतीका बिरामीको संख्या बढेको छ।  कोरोनाको संक्रमणको बढ्दो चाप र बेड, अक्सिजन, जनशक्ती लगायतको अभावले स्थिती नियन्त्रण बाहिर जान थालेको उपचारमा संलग्न चिकित्सकले बताएका  छन्। 

प्रकाशित: ३१ वैशाख २०७८ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App