सूर्याेदय नगरपालिका–१३, लक्ष्मीपुरबाट सशस्त्र प्रहरीले ३० बोरा रासायनिक मल बरामद गरेको छ। केही चिया उद्योगले भारतबाट अवैध रूपमा रासायनिक मल ल्याएर किसानलाई बेचिरहेको चर्चा चलेका बेला ‘उद्योगनजिक’बाटै मल बरामद भएको हो।
भारतीय सीमासँग जोडिएको सूर्याेदय नगरमा अवैध रूपमा रासायनिक मल आउनेगरेको छ। प्रहरीको आँखा छलेर ल्याइने मल सूर्याेदय नगरका विभिन्न वडासहित जिल्लाका अन्य गाउँसम्म पुग्छ। तर, कृषि उत्पादनमा नगरलाई अर्गानिकउन्मुख बनाउने अभियान चलिरहेका बेला लक्ष्मीपुरस्थित चियाबारीबाटै भारतीय रासायनिक मल बरामद गरिएको हाे।
लक्ष्मीपुरस्थित एउटा चिया उद्योगनजिकैको पोखरीभन्दा उत्तरपट्टिको भिरालो चियाबारीमा प्लास्टिकले छोपेको अवस्थामा मल फेला परेको सुरक्षा स्रोतको दाबी छ। बरामद मल पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ। ‘बरामद मल कसको हो भन्ने पत्ता लाग्न सकेन,’ स्रोतले भन्यो, ‘तर, मल भण्डारण गर्नेभन्दा पनि सीमाबाट अवैध रूपमा भित्र्याउने चाहिँ को हो भन्नेबारे खोजी गर्दैछाैं।’
पूर्वी भारतीय सीमाक्षेत्रबाट अवैध रूपमा भित्रिएको रासायनिक मल यसअघि पनि पटक–पटक सुरक्षा निकायले बरामद गरेको थियो। तर, अवैध रूपमा ल्याइएको मल गाडी वा कसैको घर र अन्यत्र फेला परेपनि सुरक्षा निकायले त्यसलाई सधैं ‘बेवारिसे’ भन्नेगरेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले पछिल्लो पटक फेला परेको मल पनि कसको हो भन्ने पत्ता नलागेको बताए। ‘मल बरामद भएको सूचना आएको छ तर कसको हो भन्ने पत्ता लागेको छैन,’ उनले भने।
प्रकाशित: २८ वैशाख २०७८ ०४:१७ मंगलबार