३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सुदूरपश्चिममा कोराेना संक्रमण भयावह बन्दैः एक सातामा ४० को मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमण पछिल्लो एक सातायता तीव्र रुपमा बढेको छ । संक्रमणले अक्सिजनको सपोर्टमा राख्नुपर्ने गम्भिर प्रकृतिका बिरामीको संख्या र मृत्युदर पनि ह्वात्तै बढेको छ । गम्भिर प्रवृतिका संक्रमितलाई अक्सिजनसहितको शैया पाउनै मुस्किल हुने अवस्था सृजना भएको छ । 

दोश्रो लहरको नयाँ भेरियन्टको कोरोनाको संक्रमणले पछिल्लो एक सातामा मृत्यु हुनेको संख्या बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाको दोश्रो लहरको संक्रमणले वैशाखको दोश्रो सातादेखि मृत्यु हुने क्रम बढेको हो । पछिल्लो एक साताको अवधिमा मात्र कोरोनाको संक्रमणले ४० जनाको ज्यान गएको छ ।

गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको सुदूरपश्चिममा संक्रमण देखिएको दुई महिना पछि २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको थियो । दोश्रो लहर सुरु हुन अघिसम्म कोरोनाको संक्रमणले सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ५७ जना मात्र रहेको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक छ । यो सुदूरपश्चिमका अस्पातलमा मात्र मृत्यु भएको संक्रमितको संख्या हो । कोरोनाको दोश्रो लहर सुरु भएपछि वैशाख १ गतेदेखि शनिबार (वैशाख १८ गते) सम्म ४३ जनाको कोराेनाको संक्रमणले मृत्यु भएको निर्देशनालयका हेमराज जोशीले बताएका छन् । 

कोराेना संक्रमणले वैशाख ४ गते १ जनाको मृत्यु भएकोमा वैशाख ९ गते दुई जनाको मृत्यु भएको थियो । पछिल्लो एक सातामा कोराेनाको संक्रमणको मृत्युदर ह्वात्तै बढेको हो । पछिल्लो एक सातामा मात्र ४० जनाको कोरानाको संक्रमणले ज्यान गएको निर्देशनायलको तथ्यांक छ । पछिल्लो ३ दिनमा २६ जनाको ज्यान गएको जोशीले बताए । शनिबार १० जना, शुक्रबार ७ जना र बिहीबार ९ जनाको ज्यान गएको छ । भने आईतबार दिउँसोसम्म संक्रमणले ५ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिममा अहिले सम्म १८ हजार ८ सय ९८ जना संक्रमित देखिएका छन् । ती मध्ये १ हजार ८ सय ५२ सक्रिय संक्रमित रहेका छन् भने १६ हजार ९ सय ४६ निको भएका छन् । यस्तै १ सय जनाको मृत्यु भएको छ ।

दोश्रो लहरको कोराेनाको संक्रमणले बिरामीलाई निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने र अक्सिजनको सपोर्ट चाहिने खालको गम्भिर बिरामीको चाप अस्पतालमा बढेको सेती प्रादेशिक अस्पतालका कोराेना उपचार बिभाग प्रमुख शेरबहादुर कमर बताउँछन् । यस पटकको काेरोनाले कम उमेरका व्यक्तिमा पनि जटिल लक्षण देखिएको उनले बताए । कोराेनाको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिमका अस्पतालमा अक्सिजन, आईसियु तथा भेन्टिलेटर नपाएर ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएको छ । अस्पताल भरिभराउ भएर संक्रमितलाई शैया पाउन पनि मुस्किल भएको छ ।

प्रकाशित: १९ वैशाख २०७८ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App