२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोकना र बुङमतीको अस्तित्व जोखिममा

सम्पदा

नेवारी कला संस्कृतिको बेजोडता भएको खोकना। रातो मच्छिन्द्रनाथको बासस्थान– बुङमती ! पाइलैपिच्छे भेटिने कला–संस्कृति विम्वहरू। यी दुई वस्ती ललितपुरका असली परिचायक हुन्। प्राचीन सभ्यता बोकेका यी वस्ती नभए ललितपुरलाई कला नगरी भनेर चिनाउने अन्य आधार कमै होलान्। तर, भूकम्पपछिको पुनर्निमाणको कामले भने यी वस्तीको मौलिकतालाई नराम्रोसँग प्रभावित पारेको छ। पुनर्निर्माण गर्दा मौलिक वस्तीको चिनारी नै ध्वस्त हुँदैछ। भूकम्पले लडाएका मौलिक भवन र संरचना उठाउँदा रैथाने आकार मेटिँदैछ। संस्कृति र नेवारी समुदायको खास बासस्थान पाइने यो वस्तीलाई नै ताकेरै सरकारले पाँच मुख्य योजना अघि बढाएको छ।  

फास्ट ट्रयाक, बाग्मती करिडोर, त्रिशुली हाइटेन्सन लाइन, बाहिरी चक्रपथ र सुरूङ मार्गको योजनाका कारण खोकना र बुङमती बस्तीको ४२ रोपनी ऐतिहासिक क्षेत्रफल मिचिने मात्रै होइन यी रुटमा पर्ने मन्दिर र मौलिक ठाउँहरू भत्कदैछन्। स्थानीयले विरोध गर्दागर्दै बाग्मती करिडोर र त्रिशूली हाइटेन्सनका काम सुरु भइसकेका छन् भने फास्ट ट्रयाक तर्फको काम पनि सुरु भइसकेको छ। जसले बुङमती र खोकनाको मौलिकता भत्काउनेमा आंशका छैन। मौलिकता जोगाएर विकास निर्माणका काम गर्नुको साटो सरकारले नै यी बस्तीलाई तारो बनाएर ठूला आयोजना अघि बढाएपछि स्थानीय चिन्तित छन्। ‘सरकारले विकास गर्दा मौलिक क्षेत्रलाई नै तारो बनाएको छ, हामीले विकास निर्माणमा अवरोध गर्दैनौं,’ स्थानीय रुकेशकृष्ण महर्जनले भने, ‘तर सम्पदा र ऐतिहासिक क्षेत्रलाई सरकारी निकायले संरक्षण गर्नैपर्छ।’ उनले बुङमती र खोकना क्षेत्रमा भूकम्पपछि बनेका घरहरूमा पनि मौलिकता कम हुँदै गएको बताए।  

सरकारका योजनाप्रति विरोध गरे तापनि स्थानीयको आवाज सरकारी निकायले सम्बोधन गर्न सकिरहेको छैन। विकास निर्माणका कार्य गर्दा स्थानीयले पुज्दै आएका मुर्तिहरूको जरो उखेलिन्छ। यी योजनाको रुटमा धर्माकरको मूर्ति र शिव लिंगरूपी ढुंगाको मूर्ति छ। खोकनाको ऐतिहासिक शिखली जात्रा हुने स्थल कुदेश र १३ सय वर्षअघिको इनार पनि यही ठाउँमा छ। यी सबै परिचायकहरू आधुनिक विकासले निमोठ्न थालेको स्थानीयको भनाई छ। ‘योजना मध्ये सबैभन्दा बढी असर फास्ट ट्रयाकले पार्ने देखिन्छ,’ खोकनाका स्थानीय अशोक महर्जनले भने, ‘हाल यो सडकको काम तीब्र गतिमा सेनाले गरिरहेको छ। हामीले बस्ती र ऐतिहासिक क्षेत्र तर्र्काएर विकासका योजना सञ्चालन गर्न भनिरहेका छौं। प्रशासनले पेलेरै भए पनि मौलिकतामा डोजर लगाउँदैछ।’

विकासले सांस्कृतिक हमला गरिरहेको विषयमा विज्ञहरू खुशी छैनन्। संस्कृतिविद् सत्यमोहन जोशीले मौलिक वस्तीमा डोजर लगाउन र आधुनिक विकास गर्दा ठूलो असर पार्न नहुने बताए। उनले भने, ‘अहिले पुरानो मौलिकता विस्तारै कम हुँदै गएको छ, सरकारले आफ्ना योजना बनाउँदा पनि मौलिक बस्तीको ख्याल गरेको छैन, यो पक्ष दुःखद छ।’  

अर्का सम्पदाविद् हरिराम जोशीले बुङमती र खोकना मौलिकताको गहना नै भएकाले त्यस क्षेत्रको मौलिकता गुम्न नदिन सबैले प्रयास गर्नुपर्ने बताए। ‘खोकना र बुङमतीमा आफ्नै रैथाने संस्कृति र कलाहरू छन्,’ उनले भने, ‘बाहिरी पाहुँना र अथितिको सत्कार पनि यी बस्तीमा पुग्दा फरक ढंगले हुन्छ, त्यसैले मौलिक बस्तीलाई राज्यले पनि संरक्षण गर्न जान्नुपर्छ।’

उनका अनुसार खोकना तोरीको तेलका लागि प्रख्यात मानिन्छ। यहाँ चिउरा मिल, ढिकी, जातोलगायत मौलिक औजारको प्रयोग हालसम्म पनि छ भने मौलिक संस्कृति र चलन पनि कायमै छ। त्यस्तै, बुङमतीमा रातो मच्छिन्द्रनाथसँग सम्बन्धि प्रतिक र बिम्बहरू धेरै छन्। टोलैपिच्छे फरक फरक पर्व र चलन छ। त्यसकारण पनि बुङमती मौलिक मानिन्छ। तर यी बस्तीमा सरकारले पछिल्लो समय ठूला योजनाको काम थालेको छ जस्ले बस्तीको मौलिकता नै गुम्न सक्ने खतरा छ।  

खोकनामा परेको फास्ट ट्रयाक बाटो आइई र इआइए रिपोर्टविपरीत मानिएको छ। यो योजनाले सिकाली (शिखली) जात्रा हुने कुदेश (बस्तीको तल्लो भाग) मिचिने भएको छ। करिब १७ सय वर्षपहिले सुरु भएको यो जात्रा हुने स्थान फास्ट ट्रयाकले भत्काउन नहुने स्थानीयको माग छ। त्यही ठाउँमा गत महिना १३ सय वर्षअघिको इनार पनि फेला परिसकेको छ। सरकारले स्थानीयलाई प्रतिआना डेढ लाख मुआब्जा दिएर सेवा सडक निर्माणको काम थालेको छ। खोकनानजिकै फर्सिडोलमा अहिले फास्ट ट्रयाक निर्माण कार्य भइरहेको छ। यसलाई जसरी पनि रोकेर रुट परिवर्तन गर्नुपर्ने संस्कृति संरक्षणमा काम गर्दै आएको नेपा भ्याली संस्थाका संयोजक सुरज महर्जनले बताए। उनले सडक विभागले स्थानीयलाई डेढ लाख मुआब्जा दिएर फास्ट ट्र्याक खन्न लागेको र अन्य माग पनि नसुनेको बताए।  

उनका अनुसार यसको अनुसन्धान जापनिज आर्कियोलोजिस्टले पनि गरिसकेका छन्। तर, पुरातत्व विभागले यसबारे चासो दिएको छैन। फास्ट ट्र्याककै कारण ३० हजार वर्षअगाडि बनेको कटुवाल दह पनि मिचिने भएको छ। 

प्रकाशित: १५ वैशाख २०७८ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App