२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ

भारतमा कोरोना संक्रमण बढेलगत्तै भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान थालेका छन्। दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

नेपाल–भारतका सीमा जोडिएका प्रमुख जिल्ला अधिकारीहरूले भारतीय सीमा नाका बन्द गर्ने प्रस्ताव गरेका बेला विमानस्थलबाट भने निर्वाध रूपमा भारतीय नागरिहरू भित्रिएका हुन्। कोरोना संक्रमण नभएको पिसिआर रिपोर्ट लिएर आएका भारतीयलाई नेपाल प्रवेश गर्न दिइएको अध्यागमन विभागले जनाएको छ। तर भारतीय विमानस्थलबाट नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहलाई समेत कोरोना संक्रमण देखिँदा पनि विमानस्थलमा चेकजाँचलाई कडाइ गरिएको छैन।

प्रहरीका अनुसार कतिपय नागरिकहरूले नक्कली पिसिआर रिपोर्ट पेस गरी नेपाल प्रवेश गरेको र उनीहरू नेपालको गेस्ट हाउसमा बस्दा समेत संक्रमण फैलाउन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले भारतीयहरूमाथि निगरानी बढाएको छ। नेपाल आएकामध्ये ६८ भारतीय नागरिकको पिसिआर रिपोर्ट नक्कली भएको भन्दै विमानस्थलले फर्काएको थियो।  

अध्यागमन विभागका अनुसार दुई महिनायता भारतीय नागरिकहरूले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक बाहिरिएका हुन्। ‘दुई महिना भारतीय नागरिकहरू आउने क्रम बढेको छ उनीहरू नेपालको अध्यागमन कानुनअनुसार आएकाले उनीहरूलाई आउन र जान रोक लगाइएको छैन,’ अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने।  

अध्यागमन विभागका अनुसार दुई महिना अगाडिका तुलनामा अहिले धेरै भारतीय नागरिक आइरहेका छन्। भारतीय नागरिकहरूको संख्या बढेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन गृह मन्त्रालयमा छलफल गरेको भए पनि कुनै निर्णय गरेको छैन। ‘गृह मन्त्रालयमा यो विषयमा छलफल भएको छ तर रोक लगाउने विषयमा कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिएमसी) ले निर्णय गर्नुपर्छ,’ मन्त्रालय स्रोतले भन्यो।  

कोरोना संक्रमणका कारण ३ फ्रेबुअरीदेखि साउदी अरबले भारतबाट हुने सीधा उडान रोकेको छ । भारतीय नागरिकहरूलाई साउदीलगायत देश जान रोकेपछि उनीहरू पीसीआर रिपोर्ट लिएर नेपाल आउने र १० दिन नेपाल बसेर पुनः पिसिआर रिपोर्ट बनाएर तेस्रो मुलुक जाने गरेका हुन्। काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ कियरमा नक्कली पिसिआर रिपोर्ट बनाएको भन्दै छापा मारेको थियो। त्यही हेल्थ कियर सेन्टरका नाममा जारी भएको पिआर रिपोर्ट लिएर विमानस्थल पुगेका १ सय ७२ जनालाई अध्यागमन विभागले फिर्ता गरेको थियो। 

त्यसमध्ये ६८ जना भारतीय नागरिक रहेको स्रोतको दाबी छ । चारजना प्रहरी आफैं सेवाग्राही बनेर पिसिआर रिपोर्ट लिन सिनामंगलस्थित सुरिया हेल्थ कियरमा पुगेका थिए। ९ हजार रुपैयाँ तिरेपछि स्वाब नदिई नेगेटिभ रिपोर्ट दिएपछि प्रहरीले प्रयोगशालाका ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। त्यहाँबाट परीक्षण गरिएका चारजनाको स्वाब संकलन गरी पठाएकोमा चारैजनाको कोरोना संक्रमण देखिएको छ। अध्यागमन स्रोतका अनुसार यही अप्रिल महिनामा ६ हजार भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएका थिए।

मार्च महिनाभरिमा ५ हजार १ सय ९२ जना भारतीय नागरिक गएका थिए। संक्रमण बढेको बेला भारतीय नागरिकहरू आएका छन् तर नेपालको अध्यागमन कानुन र स्वास्थ्य मापदण्ड पूरा गरेपछि उनीहरूलाई नेपाल प्रवेशको अनुमति र बाहिरिने अनुमति दिइएको हो, विमानस्थलमा रोक नलगाउँदासम्म यो प्रक्रिया चल्छ,’ अध्यागमन विभागका प्रवक्ता ढकालले भने । उनका अनुसार कोभिडका कारण अहिले समस्या उत्पन्न भएको छ।

त्यस्तै विमानस्थल सुरक्षा गार्ड कार्यालयका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले फ्रन्टलाइन बसेर काम गर्नुपर्ने भएकाले जोखिम रहेको बताए । ‘भारतीय नागरिकको संख्या दिनदिनै बढेको छ। यसले सुरक्षा जोखिम बढाएको छ स्वास्थ्य सुरक्षामा चुनौतीको सामना गर्नुपरेको छ,’ एसएसपी बाँस्तोलाले भने। भारतीय नागरिकहरूले ल्याएको पिसिआर रिपोर्ट सही हो कि गलत हो वा नक्कली हो कि सक्कली हो भन्ने छुट्ट्याउन पनि असजिलो पनि प्रहरीले जनाएको छ।

अध्यागमन विभागले नो अब्जेक्स लेटर लिएर तेस्रो मुलुक जान अनुमति दिएको थियो तर भारतीय दूतावासले नेपाल सरकारलाई हवाई मार्ग हुँदै नेपाल आएका भारतीय नागरिकलाई तेस्रो मुलुक जान नो अब्जेक्सन लेटर नचाहिने निर्णय गर्न आग्रह गरेपछि पिसिआर रिपोर्टकै आधारमा जान दिएको छ। ‘नो अब्जेक्सन लेटर लिन भारतीय नागरिकको भारतीय दूतावासमा चाप बढेपछि दूतावासले यस्तो सहमतिपत्रबिना नै तेस्रो मुलुकमा जान अनुमति दिन नेपाल सरकारलाई आग्रह गरेको थियो त्यसकै आधारमा उनीहरूलाई जान दिएको हो,’ अध्यागमन स्रोतले भन्यो।

नेपाल प्रहरीले हजारौं नागरिक स्थलमार्ग हुँदै नेपाल आएको र नेपालमा १० दिन बसेका रिपोर्ट बनाएर सिधै जाने गरेकाले पनि नेपालमा झन जोखिम बढेको गृह मन्त्रालयमा रिपोर्टिङ गरिसकेको छ । ‘हामीले भारतीय नागरिककै कारण मुलुक भयावह अवस्थामा पुग्छ भन्ने रिपोर्टिङ गरेका छौं तर सरोकारवाल निकायले अझै निर्णय गर्न सकेको छैन,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। 

स्रोतका भारतमा संक्रमण बढ्दै गएको र मृत्युदर पनि बढ्दै गएपछि धनाढ्य भारतीय नागरिकहरू सहजै नेपाल आउने र उनीहरू तेस्रो मुलुक जान थालेका छन् । ‘दिल्लीबाट काठमाडौ आउन सकेनन भने उनीहरू स्थलमार्गबाट नोल आउने गरेका छन्, स्थलमार्ग हुँदै आएका भारतीय नागरिकले तेस्रो मुलुक जान त्रिभुवन विमानस्थलमा नो अब्जेक्सन लेटर देखाउनुपर्छ, त्यसका लागि उतैबाट दूतावासमा लेटर बनाउन लगाउने र पिसिआर रिपोर्टसमेत बनाएर तेस्रो मुलुक जाने गरेको सूचनाबारे गृह मन्त्रालय र सिसिएमसीको बैठकमा रिपोर्टिङ गरिएको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । प्रहरीका अनुसार दुई महिनाअघि बाटै भारतीय नागरिकलाई कडाइ गर्न आग्रह गरिएको थियो। तर सरोकारवाला निकायले बेवास्ता गरेको प्रहरीको दाबी छ। भारतीय नागरिकको नोपल आउने संख्या बढ्दै गएपछि नेपाल वायु सेवा निगमले बैग्लोर मुम्बईबाट पनि उडान सुरु गरेको छ।

प्रकाशित: १३ वैशाख २०७८ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App