२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागी पीडितलाई लायन्सको राहत

बराहताल गाउँपालिका–२ सिस्नेरीका आगलागी पीडितहरुलाई लायन्स क्लबले राहत सामाग्री वितरण गरेको छ। शुक्रबार दिउँसो आगलागीबाट सिस्नेरीका नौ घर जलेर खरानी भएका थिए। कर्णाली एरियाका लायन्स क्लवहरुले आगलागी पीडितहरुका लागि बस्तीमै पुगेर ओड्ने–ओछ्याउने र लगाउने लत्ताकपडा वितरण गरेका थिए।

‘नयाँ वर्षको अवसर पारेर दुःखमा रहेका आगलागी पीडितहरुलाई दुई–दुई थान सिरक, डसना, तन्ना र सुत्केरीका लागि पोषण प्याकेज वितरण गरेका हौं,’ कार्यक्रम संयोजक तथा एरिया चिफ हरिहर बस्नेतले भने, ‘आवश्यकता अनुसार आगामी दिनहरुमा पनि पीडित परिवारलाई सहयोग गर्नेछौं।’  

आगलागीबाट घरबार विहिन भएका पीडितहरु परिवारहरु खुल्ला चौरमा रेडक्रसले दिएको प्लाष्टिकको पालमा बसेका छन्। दिउँसोको समयमा घरमा कोही नभएको बेला भएको आगलागीका कारण पीडितहरुले अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पनि बाहिर ल्याउन पाएनन्। राहत वितरणपछि डिष्ट्रिक कोअर्डिनेटर टिकाराम चपाईले पीडितहरुलाई थप सहयोगको खाँचो रहेको बताए। यातायात नपुगेको सिस्नेरीमा राहत पुर्‍याउन पनि सकस छ।  

‘आगलागी पीडितहरुसँग खानलाई अन्न छैन्, लगाउन र ओड्न ओछ्याउनलाई कपडा छैन्,’ उनले भने, ‘कष्टपूर्ण दैनिकी विताइरहेका पीडितहरुलाई सबैको सहयोगको खाँचो छ।’ आगलागीका कारण घरबार विहिन हुँदा सुत्केरी र बालबालिका थप समस्यामा रहेको बताए। ‘स्कुले बालबालिकाका पाठ्यपुस्तक र पोशाक पनि आगोले खरानी भएको पाइयो,’ उनले भने, ‘बस्तीका सुत्केरीको पीडा पनि उस्तै छ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले संघकातर्फबाट पनि आगलागी पीडितलाई सहयोग गर्ने बताए । ‘आगलागी भएको बस्तीका पुरुषहरु कमाउन कालापहाड हुनुहुन्छ, घरमा महिला र बालबालिका मात्रै पायौं,’ उनले भने, ‘उहाँहरुलाई खाद्यान्नलगायतको सहयोग संघकोतर्फबाट गछौं।’ उनले सिस्नेरीका आगलागी पीडितहरुलाई सबैको साथ र सहयोगको खाँचो रहेको बताए। ‘खरको ठाउँमा टिनको छाना भइदिएको भए आगलागीको जोखिम कम हुन्थ्यो,’ उनले भने, ‘सरोकारवाला निकायसँग गाउँलाई खरको खानामुक्त बनाउने अभियानका लागि पनि पहल गछौं।’

राहत वितरण गर्न लायन्सका डिपार्टमेन्ट चिफ किशोर रेग्मी, बराहताल गाउँपालिका–२ का वडाध्यक्ष योवराज कार्की, लायन्स क्लव अफ गढीका अध्यक्ष लक्ष्मण कँडेल, दोभानचौरका अध्यक्ष धनबहादुर विष्ट, लायन्स क्लव अफ सुर्खेत रोयलका अध्यक्ष घनश्याम खड्कालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २ वैशाख २०७८ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App