२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

न मास्क न भौतिक दूरी

कोरोना भाइरस संक्रमणको जोखिममध्येको सहर पोखरा परेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ। सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन अनिवार्य गरिरहेको छ। तर पर्यटकीय सहर पोखरा नयाँवर्षमा मस्त रमाएको छ। यहाँ कोरोनाको संक्रमण नै छैन की भन्ने यहाँको भीडभाडले देखाएको छ।  

नयाँ वर्षको अघिल्लो बेलुकी पर्यटकीय क्षेत्र लेकसाइड खचाखच थियो। बुधबार बिहान लेकसाइडमा हिड्डुल गर्न पनि मुस्किल थियो। गाडीको भीड बढ्दा सवारी चलाउन पनि सकस थियो। लेकसाइड प्रवेशको नाका सहिदचोकबाट लेकसाइड हुँदै हल्लनचोक निस्कँदा निकै जाम खेप्नुपर्ने अवस्था थियो। बाटोमा समुहमा हिडडुल उत्तिकै थियो। गाडीमा भीडभाड उस्तै थियो। मन्दिर दर्शन गर्ने, तालमा डुंगा सयर गर्ने र रेस्टुरेन्टमा खानेको भीडभाड पहिलेजस्तै देखिन्थ्यो। बुधबार दिनभरजसो लेकसाइड क्षेत्रमा भीडभाड थियो।

पोखराकै स्थानीय पनि मंगलबार बेलुकी रमाउन लेकसाइड झरेका थिए। ती बाहेक बाहिरबाट भित्रिएका पाहुना र उनीहरू सवार सवारीको लामले पनि उत्तिकै भीड बढाएको थियो। आन्तरिक पाहुनाको भीडभाडले पोखरा नै ‘कोरोना फ्रि’ जस्तै देखिन्थ्यो। नयाँवर्षको यो अवसर बाहेक अन्य समयमा पनि यहाँ खासै सचेतना अपनाइएको छैन। बजार, यातायात पहिलेकै अवस्थामा सञ्चालनमा छन्। बाटोको भीडभाड पहिले जस्तै छ। बुधबारको भीडभाड त यस्तो थियो की पोखरामा कोरोनाको कुनै संक्रमित छैनन्। कसैको मुखमा मास्क पनि थिएन, अनि भौतिक दूरी पालना त झनै कसैले पालना गरेको देखिँदैनथ्यो। डुंगा सयर गर्न पालो कुर्नेको तछामछाड नै थियो।

सरकारले कोरोनाको दोस्रो लहर झनै तीव्रगतिमा बढिरहेकाले सचेत हुन आग्रह गरे पनि सर्वसाधारणले भने वास्ता नगरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्मा भन्छन्, ‘भारतमा महामारी छ, संसारकै जोखिमयुक्त सहर भारतसँगको खुला सीमासँग हामी छौं। त्यसैले यहाँ जोखिम उत्तिकै छ। तर पुरै वेवास्ता गरिएको छ।’ भारतीय नाका सुरक्षित नहुँदाको यथार्थ अहिले पोखरा सहितका सहरले भोग्नुपरेको उनले बताए।

‘धेरै महिनादेखि लकडाउनमा बसेको बेला चुलो बाल्नु पर्दा सरकारले यसअघि खुकुलो बनायो, त्यो आफैमा आवश्यक थियो। तर जनमानसले कोरोना सकिएको छ भन्ने बुझेका छन्,’ शर्माले भने, ‘कोरोना भाइरस संक्रमण पटक्कै छैन भन्ने मानसिकताबीचमा खोपले पनि बिगा¥यो। खोप लगाउनासाथ सुरक्षित भइन्छ भन्ने सन्देश फैलियो। तर चालचलनको हिसाबले जोखिममा छौ।’ भौगोलिक हिसाबले पनि जोखिममा रहेको भन्ने सर्वसाधारणले भुलेको उनले बताए।

सर्वसाधारणले लकडाउन अवधिमा कडाईका साथ घरभित्र बसेर सहयोग गरेको भए पनि त्यो बेला गुम्सिएको अवस्थाको परिणाम अहिले खुलापन बढेको उनले बताए। ‘नयाँ वर्षको यो भीडभाडको परिणाम केही समयमा देखिन्छ। बाक्लो आउजाउले जोखिम बढाएको छ। तर नागरिक पटक्कै सचेत छैनन्,’ उनले भने। घुम्न आएका पाहुना पनि उस्तै ढुक्क देखिन्थे। ‘लामो समय कोरोनाका कारण घुम्न नपाएकोले अहिले मौका सदुपयोग गरेका हौ,’ काठमाडौंबाट आएकी दिपा शर्माले भनिन, ‘पोखरामा त उत्तिसारो संक्रमण छैन भनेर मास्क पनि लगाइएन। तर सकेसम्म भीडभाडमा नजाने प्रयास भने गरेका हौं। तर कतिपय अवस्थामा सम्भव भएन।’

कोरोना त्रासका कारण लामो समय ठप्प भएको पर्यटन क्षेत्र नेपाली नयाँ वर्षको यो अवसरमा सास फेर्ने सघाउने गरि पाहुना भेट्दा कोरोना बिर्से जस्तै भएको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल भन्छन्, ‘कोरोना त्रासले व्यवसायी थलिएका थिए। तर यो बेला पाहुना पाउँदा व्यवसायीलाई सास फेर्न केही सहज भएको छ। कोरोनाको त्रास भन्दा पनि व्यवसायको चेपुवामा रहेका व्यवसायी पाहुनाको आगमनले राहत महसुस गरेका छन्।’

बरालका अनुसार नयाँ वर्षका अवसरमा भित्रिएका आन्तरिक पाहुनाका कारण होटल र रेस्टुरेन्टमा केही चहलपहल बढेको छ। यो चहलपहल क्षणिक हुने उनको अनुमान छ। ‘व्यवसायका हिसाबले राम्रो हो, तर संक्रमणको अवस्थामा यो डर लाग्दो क्षण पनि हो,’ बराल भन्छन, ‘स्वास्थ्य प्रोटोकल पनि उत्तिसारो मानिएको छैन। सबैतिर भीडभाड उस्तै छ। व्यवसायलाई राहत दिएको छ, तर स्वास्थ्य चुनौती थप्ने त्रास भएको छ।’  

पाहुना आएपछि सेवा पनि दिन कर लागेको बराल बताउँछन्। ‘पाहुनालाई हिड्डुल गर्नै नपाउने गरि सरकारले नै कडाइ गर्न सकेको भए यो अवस्था आउने थिएन। तर व्यवसायी बाच्नुपर्ने अवस्थामा थियो,’ उनले भने, ‘त्यसैले व्यवसायीले पनि खुलखमुला सेवा दिएका छन्। सधैं व्यवसाय बन्द गरेर मात्र भएन। सबै क्षेत्र खुल्दा पर्यटन क्षेत्र मात्र बन्द गर्ने भन्ने कुरा रहेन।’ नियमनकारी निकायले केही कडाइ गरेको भए हेलचेक्रयाँइ कम हुने उनको आँकलन छ। ‘कि त सरकारले निकै नै कडाइ गर्नुपर्दथ्यो। नत्र पाहुनालाई घुम्न आउ भनेर बोलाउने, अनि आएका मान्छेलाई सेवा नदिन पनि भएन,’ बरालले भने, ‘संक्रमणको त्रास बढेको छ। सबैतिरका मान्छे यो बेला पोखरा आउँदा जोखिम थपेको छ। तर, सचेत हुनुपर्छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपी भट्टराई पनि लेकसाइडमा नयाँ वर्ष मनाउन आउनेको भीडले व्यवसायमा चमक थपेपनि कोरोनाको जोखिम पनि बढेको बताउँछन्। ‘सबै क्षेत्र र सबैतिरका मान्छे पोखरा आएका छन्। उनीहरूले मास्क पनि लगाएका छैनन,’ भट्टराइले भने, ‘मन्दिर, पार्क, रेस्टुरेन्ट्मा उस्तै भीडभाड छ।’ अहिले कोरोनाको जोखिम बढ्दै गएको भए पनि आएका पाहुनालाई सेवा दिएर व्यवसायी बाच्ने प्रयासमा लागेको उनले बताए।

प्रकाशित: २ वैशाख २०७८ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App