coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज बिस्का जात्राको मुख्य दिन, ५५ हात लामो लिंगो ठड्याइँदै

८ रात ९ दिन मनाइने भक्तपुरको प्रसिद्ध जात्रा बिस्काको मंगलबार विशेष दिन रहेको छ। ५५ हात लामो लिंगो ठड्याइने हुँदा यस दिनलाई बिस्काको मुख्य आकर्षण मानिन्छ। हजारौं मानिसले भक्तपुर नगरपालिका–५ भेलुखेलमा राखिएको लिंगो डोरीले तानेर ठड्याइन्छ। बिस्का जात्रामा लिंगो ठड्याउने भएकैले यो ठाउँको नामकरण नै ल्योसिंखेल (लिंगो उठाउने ठाउँ) को नामले परिचित छ। 

बिस्का जात्रा मनाउने क्रममा हरेक वर्षको अन्तिम दिन यस ठाउँमा लिंगो ठड्याइन्छ। लिंगो ठड्याउने कार्य साँझ सुरु हुन्छ। तर त्यो लिंगो कति समयमा ठडिन्छ त्यसको कुनै टुंगो हुन्न। सयौं मानिसको संगठित भीडले एकसाथ डोरी तानेर ठड्याउनुपर्ने भएकाले लिंगो ठडिने समय निश्चित नभएको हो। ५५ हात लामो लिंगो ठड्याउन मुस्किल पनि हुने भएकाले कुनैकुनै वर्ष लिंगो ठड्याउन नसकिएको पनि पाइन्छ। कुनै वर्ष लिंगो ठड्याउँदा राति १०÷११ बजेको इतिहास छ। लामो लिंगो भएकाले कहिलेकाहीँ ठड्याउँदा ठड्याउँदै भाँचिएको पनि छ। त्यसकारण एउटा लिंगो जगेडाका रूपमा जात्रास्थलमै राखिन्छ। एउटा भाँचिएको अवस्थामा अर्काे ठड्याउने गरिन्छ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले यो वर्ष नयाँ लिंगो ठड्याउने बताए। यो वर्षका लागि नयाँ लिंगो ल्याइएको उनले जानकारी दिए। प्रत्येक वर्ष पुरानो लिंगो दुईवटा स्टकमा नरहेपछि अर्काे नयाँ लिंगो ल्याउने गरिन्छ। लिंगो भक्तपुरकै लिंगो वनबाट काटेर ल्याउने गरिन्छ।  

कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको छ। त्यसअनुसार पाँच बजेभित्र लिंगो ठड्याइसक्ने उल्लेख छ। तर भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम नहुने निश्चितप्रायः छ। जात्रा शनिबारदेखि सुरु भएको थियो। भक्तपुर नगरको प्रसिद्ध पाँचतले मन्दिर टौमढीअगाडि राखेर बनाइएको भैरवनाथको रथ दिउँसो तान्ने क्रमको सुरुआतसँगै जात्रा सुरु भएको थियो। 

प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिनअगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतले काठैकाठले बनाएको करिब ३० फिट अग्लो भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ भएको थियो। भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतले मन्दिरअगाडि नै रहेको यही भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ।

प्रकाशित: ३१ चैत्र २०७७ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App