७ वैशाख २०८१ शुक्रबार
समाज

नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन्। नयाँ वर्षको क्रममा बन्दीपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ। 

गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले बताए। 'अहिले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बाक्लिँदै गएको छ,' उनले भने। उनका अनुसार अहिले दैनिक तीन सय भन्दा बढी आन्तरिक पर्यटक बन्दीपुर भित्रिएका छन्।

नयाँ वर्षलाई लक्षित गरी बन्दीपुरका होटल व्यवसायीले छुटका कार्यक्रमसमेत ल्याएका छन्। नयाँ वर्षका क्रममा होटल व्यवसायीले साङ्गितिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्। 'ठूलो स्टेज कार्यक्रम त केही छैन, तर सबै व्यवसायीले आफ्नो होटल अगाडि खाना महोत्सव साथसाथै साङ्गितिक कार्यक्रम गर्ने सोच बनाएका छन्,' गुरुङले भने।

बन्दीपुरमा होटल सङ्घमा आवद्ध ७७ होटल छन्। बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ।

बन्दीपुरले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ। चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।  बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उनले बताए। उनका अनुसार गत वर्ष एक हजार १०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ। रासस

प्रकाशित: ३० चैत्र २०७७ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App