६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क निर्माण हुने भएको छ। दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क निर्माण गर्न लागिएको हो।

करिब ५ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न हुने फनपार्क प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार शिलान्यास गरेका छन्। स्थानीय अनुज खड्का, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य निरजमानसिंह बस्नेतलगायत चार युवाको लगानीमा हलेसीमा फनपार्क निर्माणको काम सुरु गरिएको हो। दर्शनका निम्ति हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई घुमफिरका लागि उपयुक्त मनोरन्जन स्थलका रूपमा फनपार्कको योजना अगाडि सारिएको निर्माता खड्काले बताए।

दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने हलेसीमा निर्माण हुने फनपार्कमा टायर गार्डेन, जंगल रिसोर्ट, पाइनापल (भुइँकटहर) गार्डेन, चिडिया घर, मिनी मार्केट, बेम्बो कटेज, नाटक गृह, रोधीघर, सेल्फिजोन र बोतल हाउस निर्माण गरिने छन्। यस्तै, पर्यटकको मनोरञ्जनका निम्ति रुखमाथि निर्माण गरिएको ट्री हाउस, बाँसबाट बन्ने हवाईजहाज, बस तथा अन्य सामग्री, फोटो खिच्नका निम्ति आकर्षक कलाकृति, पुराना टायरद्वारा निर्माण गरिने टायर गार्डेन, बियरका खाली सिसी प्रयोग गरेर निर्माण गरिने आकर्षक घरटहरालगायत संरचना भौतिक निर्माण गर्ने योजना छ। 

यसका अलवा पार्कमा नेपालमा थोरै मात्र पाइने र विश्वभरबाट संकलन गरिएका पन्छीको संग्रहालय पनि राखिने खड्काले बताए। ‘दर्शनका निम्ति टाढा–टाढाका मानिस पैसा खर्च गरेर हलेसी आउँछन्। तर हलेसीमा दर्शनबाहेक रिफ्रेसमेन्टको अन्य कुनै विकल्प उपलब्ध छैन,’ खड्काले भने, ‘त्यसैले हामीले यो फनपार्क बनाउन लागेका हौं। दर्शन गर्ने दर्शनार्थी एवं पर्यटक घुमफिर गर्ने, रमाइलो गर्ने थलोको विकास गर्ने हाम्रो सामूहिक सपना र योजना हो।’  

हलेसी मन्दिरबाट उत्तर–पश्चिममा निर्माण हुने सो फनपार्कमा रुखमा झुन्डिएको चराको गुँड आकृतिको मान्छे बस्न मिल्ने टहरा, उत्पादन पनि दिने र आकर्षक देखिने भुइँकटहर तथा घिउकुमारीको गार्डेन र विभिन्न प्रजातिका फुलबारी पनि निर्माण गर्ने उद्देश्य छ । फनपार्क निर्माता समूहमा सकेसम्म खोटाङका युवालाई प्राथमिकता दिने जनाइएको छ । फनपार्क निर्माणमा क्रमशः १० देखि १५ जना युवा समेट्ने योजना छ । स्थानीय युवाले लगानी गर्न नचाहेको खण्डमा बाहिरी जिल्लाका लगानीकर्तालाई भित्र्याइनेछ । सामूहिक लगानीबाट एउटा आकर्षक पर्यटन गन्तव्य थलोको निर्माण गर्न लागिएकाले इच्छुक युवा संलग्न हुन सक्ने निर्माता बस्नेतले बताए ।  

सो फनपार्कको शिलान्यास गर्दै मुख्यमन्त्री राईले देशको विकासमा पर्यटनको महत्वपूर्ण भूमिका रहने भएकाले पर्यटनको विकासमा स्थानीय युवा अग्रसर हुनुपर्ने बताएका छन्। हलेसीमा केही युवाको सक्रियतामा बन्न लागेको फनपार्कले सिंगो समाज र देशमा सामूहिक लगानीको उदाहरण प्रस्तुत गरेको मुख्यमन्त्री राईको भनाइ थियो । युवा  एकजुट भए असम्भव केही नहुने मुख्यमन्त्री राईले बताएका छन्। सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले सरकारले निजी क्षेत्रलाई समेत प्रोत्साहित गर्दै समृद्धिको लक्ष्य हासिल गर्न लागिपरेकाले युवाले यसमा हातेमालो गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २५ चैत्र २०७७ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App