१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘नो पार्किङ’ मै पार्किङ

‘नो पार्किङ’ लेखिएको साइन बोर्ड नजिकै पार्किङ गरिएका सवारी साधन र इन्सेटमा प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरी । तस्बिरः पुष्पराज/नागरिक

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्लाका सडक किनारमा ‘नो पार्किङ’ लेखिएका साइन बोर्ड ठाउँ–ठाउँमा राखिएका छन्। ति साइन बोर्डको बेमतलवी गर्दै सवारी चालक धमाधम त्यही बोर्ड नजिकै गाडी हुइँकाउँदै झ्याप्प ब्रेक लगाउँछन् र गाडी साइड लगाउँछन् र यात्रु खोज्न थाल्छन्। त्यही सडक किनारमा तीन जना जनपद प्रहरी, एक जना ट्राफिक प्रहरी र दुई जना नगर प्रहरी उभिएका छन्। प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरी रमिते बनेर हेरिरहने यो दिपायल पिपल्ला बजारको दृश्य हो।

‘नो पार्किङ’ लेखिएको सडक किनारमै आफूखुसी सवारी साधन पार्किङ गरिँदा त्यसले दिपायल पिपल्लाको शोभा विगार्नुका साथै साँघुरो सडक, त्यसमाथि किनारमै राखिएका सवारी साधनले झनै दुर्घटनाको जोखिम बढाएको स्थानीय व्यवसायी गणेश बोहरा बताउँछन्। ‘नो पार्किङ’ लेखिएकै ठाउँमा सवारी साधन रोकिँदा ट्राफिक प्रहरी, प्रहरी र नगर प्रहरी कसैले पनि चासो नदेखाएको बताउँदै उनले भने,‘जब दुर्घटना हुन्छ, त्यसपछि मात्रै उनीहरु तात्छन्, फेरि सेलाउँछन्।’ एक/दुई पटक जरिवाना काट्ने गरिए पनि त्यसपछि भने फेरि ‘नो पार्किङ’ मै गाडी पार्किङ गरिने गरिएको उनी बताउँछन्।  

सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना भय निम्त्याउन थालेको भन्दै पिपल्ला बजारमा केही दिन अघि ‘नो पार्किङ’ एरिया तोक्दै साइन बोर्ड राखिएको थियो। त्यो साइन बोर्ड र एरियाको बेमतलब गरिँदै सवारी साधन पार्किङ गरिँदा त्यसले दुर्घटना भय निम्त्याउन सक्ने व्यवसायीहरु बताउँछन्। दिपायल बजारको मुख्य सडक खण्डमा अव्यवस्थित रुपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जाम हुने सम्भावना बढेको स्थानीयको गुनासो छ। स्थानीय तह, ट्राफिक प्रहरीले ‘नो पार्किङ’ एरिया त तोके तर पार्किङ गर्ने स्थल नदेखाइदिँदा सवारी साधन कहाँ लगेर राख्ने थाहै नभएको एक सवारी चालकले गुनासो पोखे। ‘सडक किनारमा गाडी नरोक भन्छन्,’ उनले भने,‘तर यो ठाउँमा पार्किङ गर्नु भन्ने नदेखाइदिँदा हामी अलमलमा परेका छौँ।’  

पछिल्ला वर्षहरुमा दिपायल पिपल्ला बजार परिवर्तन हुन थाले पनि पार्किङ व्यवस्थापनका लागि भने उस्तै रहेको अर्का स्थानीय महेश कठायतले बताए। उनले भने,‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुँदा सडक किनारमै पार्किङ गरिनुपर्ने बाध्यता सवारी चालकलाई छ।’ सडक किनारमै लहरै सवारी साधन पार्किङ गरिँदा ठूला बस तथा सवारी साधनलाई ओहोर दोहोर गर्न समस्या पर्ने गरेको हो।

केही दिन सडक विस्तारको काम भइरहेकाले आफूहरुले ‘नो पार्किङ’ लेखिएको स्थलमा पार्किङका लागि सहज बनाइदिएको जिल्ला ट्राफिक कार्यालय डोटीका प्रमुख सई अशोक खड्का बताउँछन्। ‘अहिले पिपल्ला बजारमा सडक मर्मतको काम भइरहेको छ,’ त्यसैले पनि हामीले ‘नो पार्किङ’ स्थललाई ध्यान दिएका छैनौ।’ सडक मर्मतको काम सकिएपछि भने पुनः ‘नो पार्किङ’ एरियामा पार्किङ गर्न नपाउने भनेको उनले बताए। ‘अहिले हामीले नियमनमा केही खुकुलो मात्रै पारेका हौ,’ उनले भने,‘अब फेरि कडाइ गर्छौँ।’

प्रकाशित: २२ चैत्र २०७७ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App