२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाका कारण सुनसान होली

तस्बिरः मिथिलेश/नागरिक

हरेक वर्ष होलीले रंगिने लहान यो वर्ष सुनसान रह्यो। यहाँका मुख्य सहिद चोक, अस्पताल चोक, नयाँ बजार, पुरानो बजार चोक लगायत ठाउँ होलीमा सधैं रंगिन हुन्थ्यो। दुर्गा मन्दिर क्षेत्र साँस्कृतिक कार्यक्रमले गुञ्जिन्थ्यो।

तर यसवर्ष कोरोना भाइरसको संक्रमणको जोखिमले मानिसहरु होली खेल्न समूहमा बाहिर निस्किएका छैनन्। ‘हरेक वर्ष साथीभाइसँग रमाइलो गथ्र्याैं तर यसपालि सबैलाई कोरोनाको संक्रमणसँग डर छ,’ स्थानी रन्जीत यादवले भने। 

होली सुनसान बनेपछिको असर व्यापारीहरूले पनि झेलेका छन्। पोहोरभन्दा पनि यसपालीको व्यापार बेहाल भयो होलीको टिसर्ट कुर्ता बिक्री गर्ने रामसुफल साहले भने,‘गत वर्ष पाँच सय टिसर्ट बिक्री गरेको थिएँ। यसपाली २० वटा मात्र टिसर्ट बिक्री भयो।’ कोरोनाका कारण टिसर्टको व्यापार मात्र होइन रंग अबिर, पिचकारीलगायतका होली सामग्रीको व्यपार समेत बेहाल बन्यो। ठेलामा होली सामग्री बिक्री गर्ने रमेशले भने, 'यसपालीको व्यपार कोरोनका कारण चौपट भयो। पूरै घाटा लाग्ने भयो,’ उनले भने।

लहानमा मात्र होइन प्रदेश २ का अधिकांश जिल्लामा होली सुनसान रह्यो। हरेक वर्ष १५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरमा भव्यताका साथ होली मनाउने गरिन्थ्यो। तर सरकारले कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपछि मानिसहरू हुलमा होली खेल्न निस्केका छैनन्।’ कोरोना भाइरसको डर भए पनि सचेत हुँदै अलिअलि होेली खेलेको देखिन्छ। सधैं समूहमा होली खेल्दै आएकाहरु पनि यसपाली आफूलाई सीमित गरेका छन्। नजिकका साथी, परिवारका सदस्यमै यसपाली अधिकांशको होली समेटिएको छ।

लहानको दुर्गा मन्दिर नजिक आयोजना हुँदै आएको मटका फोर कार्यक्रम पनि कोरोनाका कारण बिथोलिएको छ। प्रशासनले कोरोना संक्रमण फैलिन नदिन भिडभाड गरेर होली नखेल्न सर्कुलर जारी गरेपछि कार्यक्रम स्थागित गरिएको आयोजकले बताए।  

प्रदेश २ का प्रायः सबै जिल्लाका सहरहरुमा हरेक वर्ष होलीको अवसरमा कन्सर्ट, मटका फोरजस्ता कार्यक्रम आयोजना हुँदै आएको थियो। यो वर्ष कुनै कार्यक्रम नहुँदा सहरहरु सुनसान र खल्लो देखिएको लहानका रमेश साहले बताए। 'कोरोना भाइरसले गर्दा यस्तो भएको होला। अस्तिदेखि माइकिङ गरेर होलीमा भीडभाड नगर्न भन्दै सूचना जारी गरिएको छ,’ उनले भने।

पूर्व पश्चिम राजमार्गमा केही युवाहरु रंग अबिर लगाएर घुमेको देखिएपछि विगत वर्ष जस्तो होरीया गाएर हुलका हुल मानिस सडकमा देखिएन। कोरोनाकै त्रासले सामूहिक रूपमा कतै होली खेलिएको छैन।

प्रदेश २ मा आइतबारबाट मनाउन सुरु भएको होली पर्व मंगलबारसम्म मनाइन्छ। यहाँ बसोबास गर्दै आएका पहाडी समुदायले आइतबार होली मनाए। सामान्यतया फागुपूर्णिमाको भोलिपल्ट मधेसमा होली मनाउने चलन रहेकाले सोमबार मनाइयो। उक्त दिनका लागि संघीय सरकारले सार्वजनिक बिदा दिएको छ । यता, प्रदेश सरकारले मंगलबार होली बिदा दिएकाले उक्त दिन पनि खेलिने भएको छ । यो वर्ष कोरोनाका कारण वीरगन्जमा समेत होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको छैन।  

कोरोनाका कारण सर्वसाधारणले समूहमा होली नखेल्ने भएपछि चोकमा लाग्ने सडक मेलामा अबिर, रङ, लोला, पिचकारीलगायत होलीमा प्रयोग हुने सामग्री किनमेलमा कमी आएको व्यापारीहरुले बताउँछन्। सडकमा होलीमा प्रयोग हुने सामग्रीको पसल राखेर व्यपार गर्नेहरु यस वर्ष होलीका सामग्री बिक्रीमा ७५ प्रतिशतले कमी आएको बताएका छन्।

प्रकाशित: १६ चैत्र २०७७ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App