४ वैशाख २०८१ मंगलबार
समाज

बाघ भागेपछि यात्रुमाथि बन्देज

मान्छे खाएर आतंकित बनाएको बाघ खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको उक्त बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको थियो। निकुञ्जको खैरी पोस्ट क्षेत्रमा राखिएको खोरबाट मंगलबार बिहान ६ बजेतिर भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्व–पश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षित रूपले खोरमा राखिएको बाघ आफैं निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताए। ‘बाघ आफ्नो प्राकृतिक बासस्थानतिर लागिसकेको छ,’ उनले नागरिकसँग भने, ‘तर मानव बस्तीतिर आएर क्षति नगरोस् भनेर हामीले सर्तकता अपनाउन आग्रह गरेका छौं।’ मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जंगलभित्र प्रवेश नगर्न अनुरोध गरिएको बताए।

निकुञ्ज कार्यालयले पूर्व–पश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न सूचना जारी गरिरहेको शाहले जानकारी दिए। निकुञ्ज बाँके, दाङ र सल्यानसम्म फैलिएको छ। यी तीनवटै जिल्लाको अधिकांश भूभाग निकुञ्जको मध्यवर्ती क्षेत्रले समेटेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने बाँकेको राप्तीसोनारी र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकाका दर्जनौं मानव बस्ती छन्। यी बस्तीका स्थानीय बासिन्दा खोरबाट बाघ भागेपछि अहिले निकै त्रसित बनेका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षित रूपले खोरमा राखिएको बाघ आफैं निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताए।

निकुञ्जले मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका साथै सर्वसाधारणलाई स्थानीय एफएम रेडियो र माइकिङमार्फत सर्तक रहन आग्रह गरिरहेको जनाएको छ। बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले खोरबाट बाघ भागेपछि मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई निकै त्रसित बनाएको बताए। ‘मानवीय क्षति पुर्‍याएको बाघलाई बाहिरबाट ल्याइसकेपछि एकदमै निगरानीका साथ राख्नुपथ्र्यो, बाघ भागिसकेपछि जनता निकै त्रसित भएका छन्,’ उनले भने। कार्यालयले सन् २०१८ मा गरेको गणनाअनुसार निकुञ्ज भित्र २१ वटा पाटेबाघ छन्। अहिले त्यो संख्या बढेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जभित्र बाघको संख्या बढ्दै जाँदा मध्यवर्ती क्षेत्रका स्थानीय थप जोखिममा छन्।  

बाघले मध्यवर्ती क्षेत्रका स्थानीयलाई समयसमयमा आक्रमण गर्दै आएको छ। ‘बाँके निकुञ्जमा बाघको संख्या बढ्दै जाँदा हामी जोखिममा त छौं, त्यसमाथि बर्दियाबाट ल्याइएको हिंस्रक बाघ बाँके निकुञ्जबाट भागेको सुनेपछि झनै त्रसित भएका छौं,’ स्थानीय भन्छन्। निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत महेश न्यौपाने प्राकृतिक बासस्थानबाट अप्राकृतिक बास स्थानमा राखिएको बाघ खोरबाट आफैं निस्केको बताउँछन्।

‘बर्दियाबाट ल्याएर अप्राकृतिक बासस्थानमा राख्दा बाघ निकै आक्रोशित भएको थियो। त्यसको निगरानीका लागि हामीले क्यामेरा नै जडान गरेका थियौं,’ उनले टेलिफोनमा भने, ‘क्यामेरामा कैद भएको रेकर्डअनुसार बाघ मंगलबार बिहान ६ बजेतिर खोरको तीनवटा डन्डी बंगाएर निस्केको देखिन्छ।’ सूचना अधिकारी न्यौपानेका अनुसार खोरबाट निस्केको बाघको पाइला पछ्याउँदा आफ्नै प्राकृतिक बासस्थानतर्फ लागेको पाइएको छ।  

निकुञ्जको दक्षिण क्षेत्रमा मध्यवर्ती क्षेत्रसँगै मानव बस्ती जोडिएको छ। ‘बाघ मानव बस्तीतिर नगएर चुरे क्षेत्रतिर गएको हाम्रो अनुमान छ,’ उनले थपे। आर्थिक वर्ष २०७४/७५ मा निकुञ्जले फलामको डन्डी, जालीलगायत सामग्री प्रयोग गरेर बाघ थुन्ने खोर बनाएको थियो। खोरमा प्रयोग भएको फलामे डन्डी नै बंगाएर बाघ निस्केपछि निकुञ्जका कर्मचारीसमेत आश्चर्यमा परेका छन्।

प्रकाशित: १२ चैत्र २०७७ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App