५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नजिकको पर्यटकीय गन्तव्य

धार्मिक हिसाबले भालेश्वर, मातातीर्थ, मच्छेनारायण,  विष्णुदेवी मन्दिरलगायत महत्वपूर्ण धार्मिक स्थल यसै क्षेत्रमा पर्दछन् । यहाँका  धार्मिकस्थलबारे विभिन्न किंवदन्ती र स्वस्थानी व्रतकथामा पनि उल्लेख छ । राजनीतिक हिसाबले पनि नेपालको हरेक परिवर्तनमा यो क्षेत्र र  यहाँका मान्छेले उत्तिकै योगदान दिएका छन् ।

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र प्राकृतिक विविधतायुक्त देश हो । विश्वको अग्लो शिखर सगरमाथादेखि विश्वको होचो कालीगण्डकीको खोच पनि यहीँ अवस्थित छ । नेपालका हरेक स्थानीय तहमा आ–आफ्नै किसिमका प्राकृतिक अवस्थिति र सम्भाव्यता छन् ।

चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लाको पश्चिम भेगको अत्यन्तै सम्भावना बोकेको नगरपालिका हो । उत्तरमा नागार्जुन नगरपालिका, दक्षिणमा कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र मकवानपुर जिल्ला, पूर्वमा काठमाडौं महानगरपालिका र पश्चिममा धादिङ जिल्लासँग जोडिएर यसको कचौरा आकारको बनावट छ । वरिपरि डाँडाकाँडाले घेरिएको यो नगरपालिकामा करिब साढे एक लाख जनसंख्याको बसोबास छ । यो नगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पनि त्यति नै महत्वपूर्ण नगरपालिका हो ।

ऐतिहासिक हिसाबले हेर्ने हो भने तात्कालिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले यसै क्षेत्रको चन्द्रागिरि डाँडामा बास बसी काठमाडौं उपत्यकामाथि आक्रमणको योजना बनाएका थिए । त्यस्तै पृथ्वीनारायण शाहका विश्वास पात्र काजी कालु पाण्डेको मृत्युदेखि समाधिस्थल समेत यसै क्षेत्रमा पर्दछ । सांस्कृतिक हिसाबले हेर्ने हो भने गाईजात्रा, सात गाउँले जात्राको जननीका रूपमा यसै क्षेत्रलाई लिइन्छ र प्रत्यक वर्ष जात्रा सम्मेलन पनि यसै क्षेत्रमा गराइँदै आएको छ ।

आर्थिक गतिविधिको हिसाबले हेर्ने हो भने विभिन्न उद्योगधन्दा कलकारखानाको स्थापना, कृषि क्षेत्रको विकास, व्यापार व्यवसाय, काठमाडौं उपत्यकासँग जोडिने अन्य जिल्लाको मुख्य नाका पनि यसै क्षेत्रमा पर्छ । यस क्षेत्रको मात्र नभएर समग्र देशकै अर्थतन्त्रमा समेत योगदान दिएको छ । यो क्षेत्र पर्यटनका हिसाबले पनि महत्वपूर्ण रहेको छ । चन्द्रागिरि डाँडा, इन्द्रदह, त्रिभुवन पार्क, देशका एक सय घुम्नलायक ठाउँमध्ये एक इन्द्रथान, स्विट्जरल्यान्ड पार्क, देशकै दोस्रो चन्द्रागिरि केवलकार यसै क्षेत्रमा रहेको र यसले पर्यटन क्षेत्रलाई मात्र नभएर धार्मिक क्षेत्रलाई समेत फाइदा पुर्‍याएको छ ।

धार्मिक हिसाबले भालेश्वर, मातातीर्थ, मच्छेनारायण, विष्णुदेवी मन्दिरलगायत महत्वपूर्ण धार्मिक स्थल यसै क्षेत्रमा पर्दछन् । यहाँका धार्मिक स्थलबारे विभिन्न किंवदन्ती र स्वस्थानी व्रतकथामा पनि उल्लेख छ । राजनीतिक हिसाबले पनि नेपालको हरेक परिवर्तनमा यो क्षेत्र र यहाँका मान्छेले उत्तिकै योगदान दिएका छन् ।

विकासको दृष्टिले हेर्ने हो भने नेपालकै पहिलो सुरुङ मार्ग यसै क्षेत्रमा निर्माणाधीन छ । आगामी दिनमा पनि विकासका सम्भावना यस क्षेत्रमा धेरै छन् । यस क्षेत्रमा भएका धार्मिक स्थल आमा नहुनेका लागि मातातीर्थ औंसीमा पूजा गरिने मातातीर्थ मन्दिर, सात गाउँले जात्राको जननीको रूपमा मानिने विष्णुदेवी मन्दिर, माछाबाट उत्पत्ति भएका मच्छेनारायण मन्दिरलगायत अन्य महत्वपूर्ण धार्मिक स्थलको थप व्यवस्थापन र वास्तविक महत्वलाई विश्वभर प्रचारप्रसार गर्न सकिन्छ ।

यस क्षेत्रमा विभिन्न जात्रा, महोत्सव, पर्व आफैंमा पृथक् किसिमका छन् । यसको पुस्ता हस्तान्तरणको अभावमा लोपोन्मुख अवस्थामा पुगेका छन् । यसलाई पुस्ता हस्तान्तरण गरेर विश्वसामु पु¥याउन सके पर्यटकलाई आकर्षण गर्न सकिन्छ । यस क्षेत्रका विभिन्न अग्ला डाँडा जस्तै चन्द्रागिरि, इन्द्रधारालगायत अन्य डाँडामा हाइकिङ जाने प्रवृत्ति बढिरहेको छ । त्यसकारण हाइकिङ रुटलाई थप व्यवस्थित गर्न सकिन्छ ।

यस नगरपालिकाभित्र भएका त्रिभुवन पार्क, स्विट्जरल्यान्ड पार्कलगायत मनोरञ्जन पार्कलाई थप आकर्षक बनाएर आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिन्छ । खेलकुदको विकासका लागि नैकाप फुटबल ग्राउन्डलगायत अन्य भएका खेलकुद मैदानको स्तरोन्नति र आवश्यक ठाउँमा खेल मैदान निर्माण गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको आयोजना गरी खेलकुदको विकास गर्न सकिन्छ ।

‘हेलम्बुको स्याउ बलम्बुको च्याउ’ अर्थात् नेपालमा च्याउ खेती सुरु भएको ठाउँ बलम्बुलाई च्याउ खेतीको हबका रूपमा विकसित गरी सिंगो देशलाई च्याउमा आत्मनिर्भर बनाउन सकिन्छ । आगामी दिनमा चन्द्रागिरि चक्रपथ सञ्चालन गरी काठमाडौं र अन्य छिमेकी जिल्लालाई जोड्न सकिन्छ । यस्तै यस क्षेत्रमा मोनोरेल पनि सञ्चालन गर्न सकिन्छ । विकास एउटा प्रक्रिया हो, त्यसकारण यस क्षेत्रको चौतर्फी विकास हुनु जरुरी छ ।

त्यसका लागि यस क्षेत्रमा करको दायरा बढाउने र संकलित करलाई उचित ठाउँमा प्रयोग गरेमा यो नगरपालिकामा विकासको मूल फुटाउन सकिन्छ । यस क्षेत्रको चौतर्फी विकासका लागि धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक, पर्यटकीय क्षेत्रको विकासको एउटा गुरुयोजना तयार गरे यस क्षेत्रको विकासका लागि सम्भावनाका ढोका प्रशस्त रहेका छन् । त्यसकारण चन्द्रागिरि नगरपालिका एक सम्भावना नै सम्भावना बोकेको नगरपालिका हो ।

प्रकाशित: ५ चैत्र २०७७ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App