१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विकासको लयमा भीमदत्तनगर

पालिका

महेन्द्रनगर अर्थात् भीमदत्त नगरपालिका पश्चिम नेपालको प्रमुख सहरमध्येको एक हो। ब्रह्मदेव जस्तो पुस्तैनी बजार पनि यहीँ छ। ब्रह्मदेवबाट सुदूर पहाडका सबै आमनागरिकले नुन तथा दैनिक उपभोग्य सामान किनेर या आफूले उत्पादन गरेका कृषि उपजसँग साटेर लैजान्थे। त्यति पुरानो सहर कुनै समयताका भव्य थियो। बाजेबराजुका पालामा ठूलो सहर पश्चिम नेपालको कुनामा एउटा मात्रै थियो। त्यही ठूलो सहर विस्तारै ओझेलिँदै गयो र अन्ततः महेन्द्रनगर बजार सुनसान हुँदै गयो।  

माओवादी द्वन्द्वताका महेन्द्रनगर बजारले विकासको गति लिन सकेन। असुरक्षा तथा संवेदनशीलताका कारण आम नागरिक सुरक्षा खोज्दै धनगढी भित्रिन थाले। पुरानोमध्येकै सानो सहर धनगढी फैलियो, महेन्द्रनगर ओझेलियो। द्वन्द्वमै महेन्द्रनगरले विकासको गति लिन सकेन, धनगढीले लय समात्यो र विकासमा फड्को मार्दै अगाडि बढ्यो। कुनैताका ठुलै सहर कहलिएको महेन्द्रनगर विस्तारै ओझेलियो। हो, त्यही ओझेलिएको महेन्द्रनगर (भीमदत्तनगर) ले पछिल्लो समय विकासको लय समातेको छ। त्यसैले विकास निर्माणमा राम्रो गरेको भन्दै एक महिनाअघि देशभरमै महेन्द्रनगर अर्थात् भीमदत्तनगर नगरपालिका उत्कृष्ट बन्यो।

नगर विकास कोषको ३३औं वार्षिकोत्सव अवसरमा विकास आयोजना कार्यान्वयन र व्यवस्थापनमा राम्रो काम गरेको भन्दै १ लाख नगदसहित देशमै उत्कृष्ट नगरपालिकाको पुरस्कार भीमदत्तले प्राप्त गरेको थियो।

नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो। नगर विकास कोषको ३३औं वार्षिकोत्सव अवसरमा १ लाख नगद पुरस्कारसहित देशमै उत्कृष्ट नगरपालिकाको पुरस्कार भीमदत्तले प्राप्त गरेको थियो। भीमदत्त नगरपालिकाले विकास आयोजना कार्यान्वयन र व्यवस्थापनमा राम्रो काम गरेको भन्दै देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरी पुरस्कार दिइएको हो। वार्षिकोत्सव समारोहमा सहरी विकासमन्त्री प्रभु शाहले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र उपमेयर सुशीला चन्द सिंहलाई संयुक्त रूपमा पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेका थिए।  

नगर विकास कोषले लगानी गरेका कार्यक्रममा समयमै सम्पादन गरेको तथा कार्यान्वयनमा सहज बनाएकोलगायत बुँदामा भीमदत्त नगरपालिकाले राम्रो काम गरेको भन्दै पुरस्कृत गरिएको नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जनाए। उनले भने, ‘हामीले कोषसँगको सहकार्यमा गरेका विकासनिर्माणका कार्यलाई सहज रूपमा समयमै सम्पन्न गरेकाले हामी देशमै उत्कृष्ट भयौं।’ अहिले भीमदत्त नगरपालिकाले नगर विकास कोषको साझेदारीमा ८ करोड ३२ लाख रूपैयाँको लगानीमा महेन्द्रनगरमा आधुनिक बसपार्क निर्माण गरेको छ। यो बसपार्क करिब दुई बिघा जमिनमा आधुनिक तरिकाले बनाइएको उनले बताए। ‘महेन्द्रनगरको पुरानो बसपार्कलाई आधुनिकीकरण गरेर राम्रो बनाइएको छ,’ उनले भने, ‘यसले अहिले महेन्द्रनगरमा पार्किङका लागि सहज भएको छ।’  

यसका साथै नगर विकास कोषकै सहयोगमा नगरपालिकामा अहिलेसम्मकै ठूलो लगानीको तिलाचौर खानेपानी योजनामा पनि निर्माण गरिएको छ। करिब ३२ करोड रूपैयाँको लगानीमा निर्माण भएको खानेपानीले यहाँका ४ वडावासीलाई शुद्ध पिउने पानी पुर्‍याएको छ। यसका साथै भाँसीस्थित आदर्श खानेपानी योजनामा पनि कोषसित साझेदारीका लागि सम्झौता गरिएको छ। सब्जिमण्डीमा कञ्चन मल निर्माणका लागि कोषसित साझेदारी प्रक्रिया अघि बढेको छ।

भीमदत्त नगरपालिका कोषको पुरानो साझेदार निकाय भएको बताउँदै मेयर विष्टले भने, ‘स्थानीय तह निर्वाचनअघि कोषको साझेदारीमा नगरपालिकाको भवन र बजारका केही पसल निर्माण गरिएका थिए, अहिले पनि विकास निर्माणमा निरन्तरता दिइएको छ।’ भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट हुनुमा नगर विकास कोष, नगरका बासिन्दासहितको सबैको साथ र सहयोग रहेको बताउँदै उनले भने, ‘यसमा सबैको साथ र सहयोग छ, विकसित र समृद्ध नगर बनाउने चाहना छ, त्यसको फलस्वरूप पुरस्कारसम्म पाएका छौं।’  

पुरानोमध्येको सहर महेन्द्रनगर अर्थात् भीमदत्तनगर क्षेत्रमा बसोबास गर्दै आएका अधिकतर नागरिक तथा महेन्द्रनगरमै व्यापार व्यवसाय गर्दै आएका व्यापारी पनि पछिल्लो एक दशकयता धनगढी सरे। कारण थियो, महेन्द्रनगरको व्यापार खस्कँदो। व्यापार खस्कनुको कारण थियो विकास निर्माण र बसाइँसराइका लागि आकर्षित नहुनु। बसाइँसराइमा आकर्षण नहुँदा त्यहाँ विकास निर्माणको पनि गति सुस्ताउँदै जान्छ। हो, त्यही सुस्ताउँदो गतिमा थियो महेन्द्रनगर। त्यहाँका प्रतिष्ठित व्यापारी कोही धनगढी त कोही अत्तरिया क्षेत्रतिर सरे। महेन्द्रनगर ओझेलिन थाल्यो। त्यही ओझेलिँदो सहरलाई पछिल्लो तीन वर्षयता विकासका लयमा फर्काए जनप्रतिनिधि भएर आएका नगरप्रमुख सुरेन्द्र विष्टले। ‘विकासको लय समातियो र अहिले नगरपालिका देशमै उत्कृष्ट बन्यो,’ विष्टले भने, ‘अहिले महेन्द्रनगर विकासमा पछाडि छैन।’  

महेन्द्रनगर बजारकै मुटु रहेको बसपार्क पुरानो र जीर्ण थियो। कहिल्यै कालोपत्रे नभएको बसपार्कलाई सम्याउँदै आधुनिकीकरणमा ढालियो। ग्राभेलिङ गरिएको बसपार्कलाई सम्याउँदै कालोपत्रे गरियो। रातिको समयमा बसपार्कभित्र छिर्नै डर लाग्ने अवस्था रहेको स्थानमा रातभर बत्तीले झिलिमिली हुन थाल्यो। ‘वर्षाको समयमा बसपार्कमा बस छिर्नै सक्दैनथे,’ भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टले भने, ‘करिब दुई बिघा जमिनमा फैलिएको बसपार्कलाई आधुनिकीकरण गर्दै राम्रो बनाइएको छ।’ बसपार्क निर्माण हुँदा अहिले वर्षामा होस् या गर्मीयाममा न हिलोमा गाडी फस्ने डर न त गर्मीयाममा धुलोले आँखै टाल्ला भन्ने चिन्ता, सबै हटेको उनी बताउँछन्। ‘योभन्दा अघि वर्षामा गाडी बसपार्कभित्र फस्ने र सवारीसाधन धनी बसपार्कमा गाडी लैजानै मान्दैनथे,’ उनले भने, ‘जसले गर्दा गाडी सडककिनारमै पार्किङ गरिँदा नगरको शोभा घट्नुका साथै सडक दुर्घटनाको भय बढी थियो।’  

यस्तै नगरभित्र पुरानो प्रशासकीय भवनभन्दा आधुनिक प्रशासकीय भवन निर्माण हुँदा नगरपालिकाको शोभा बढाएको छ। आधुनिक तरिकाको प्रशासकीय भवन निर्माण हुँदा यहाँबाट नगरपालिकाका कर्मचारीले सहज रूपमा सेवा प्रवाह गरिरहेका छन्। यस्तै नगरपालिकाले सातवटा सामुदायिक विद्यालयमा दुई/दुई कोठाका आधुनिक भवन निर्माण गरेको छ। जसले आधुनिक भवनमा बसेर विद्यार्थीले सहजै शिक्षा आर्जन गरिरहेका छन्। पछिल्लो तीन वर्षको समयमा ६९ किलोमिटर सडक कालोपत्रे भएको छ। नगरभित्रका विभिन्न सडकमा गरेर ६९ किलोमिटर सडक कालोपत्रे भएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए। 

यसबाट पनि के हुन्छ भने पछिल्लो समयमा महेन्द्रनगर बजार क्षेत्रमा रहेका कच्ची र ग्राभेल सडकलाई स्तरोन्नति गरेर कालोपत्रे गरिएको छ। यस्तै सिँचाइ, सडक बत्ती, सडक स्तरोन्नति, शिक्षालगायत क्षेत्रमा विकासको गतिले फड्को मारिरहेको उनले बताए। ‘हामीले हरेक क्षेत्रमा प्रगतिशील विकास गरिरहेका छौं,’ उनले भने, ‘त्यसैले पनि भीमदत्त नगरले विकासमा लय लिइरहेको छ।’

प्रकाशित: ४ चैत्र २०७७ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App