१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित

उचित क्षतिपूर्ति नदिई भक्तपुरको हनुमन्ते खोला करिडोर विस्तारको नाममा जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका छन्। बुधबार भक्तपुरको राधेराधेको अघिल्तिरको करिडोरमा प्रशासनले प्रहरी लगाएर टहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।  

‘व्यक्तिको सम्पत्ति विकासको नाममा उचित क्षतिपूर्ति नदिई भत्काउन थालिएको छ,’ हनुमन्ते करिडोर पीडित समितिका संयोजक ओमप्रकाश श्रेष्ठले भने, ‘करिडोर निर्माणका लागि जग्गा प्राप्ति गर्न कानुनबमोजिम मूल्यअनुसार मुआब्जा र क्षतिपूर्ति नदिए आन्दोलित हुनेछौं।’ करिब ११ किलोमिटर सडक विस्तार गर्दा ९ सय ५० रोपनी जमिन पर्ने भएकाले धेरैको उठिबास लाग्ने उनले सुनाए। ‘कानुनी ढंगले जग्गा अधिग्रहण गरी जग्गा एकीकरण गर्ने काम नगरी जबरजस्ती काम गर्न थालिएको छ,’ उनले भने, ‘यसले सर्वसाधारणलाई निराश बनाएको छ।’ जानकारी नै नदिई डोजरले आफ्नो कारखाना भत्काएर नोक्सान पु¥याएको साःख मेटल कारखानाका आभाष साःखले बताए। ‘हामीले सामान सार्ने समयसम्म पाएनौं,’ उनले भने, ‘लाखौं मूल्यका सामान अहिले छरपस्ट अवस्थामा छन्।’  

साथै हनुमन्ते खोला करिडोर क्षेत्रमा विकासनिर्माणको काम गर्दा हनुमन्ते करिडोर पीडितलाई सहभागी  नगराई राजनीतिक हस्तक्षेप भएको उनीहरूको बुझाइ छ। ‘राज्यशक्तिको दुरूपयोग गरेर प्रमुख जिल्ला अधिकारी र सांसदले जबरजस्ती करिडोर विस्तार गर्नुको औचित्य के हो ?’ संयोजक ओम प्रकाश भन्छन्, ‘यसमा विभिन्न खाले चलखेलको आशंका रहेको छ।’ केही स्थानमा २०२१ सालको नापी नक्साअनुसार खोलाको बहाव परिवर्तन गरे पनि सबै स्थानमा सो कुरा लागू नभएकाले आफूहरू सशंकित भएको उनले बताए।

प्रकाशित: ३ चैत्र २०७७ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App