१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध नगदसहित भक्तपुरबाट दुईजना पक्राउ

अवैध नगदसहित भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा बैतेश्वर गाउँंपालिका ६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने वर्ष ३२ का सुमन घिमिरे र सोही स्थानमा घर भई हाल काठमाडौ माकलबारी बस्ने वर्ष ३७ का बिनोद तामाङलाई छुटाछुटै स्थानबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

हारजितको खेल (जुवातास) खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर हिडिँरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा परिसरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गरी चेकजाँच गर्ने क्रममा रातीको समयमा पेप्सीकोलाबाट सानोठिमीतर्फ आउदै गरेको बा २१ च ३८३९ नं.को नीलो रंगको कारलाई रोकी चेकजाँच गरेको थियो। त्यस क्रममा कार चालक बिनोदलाई पक्राउ गरियो। विनोदले चलाई ल्याएको गाडीको पछाडीको डिक्कीमा छरपष्ट अवस्थामा हजार, पाँच सय र एक सय दरका नेपाली रुपैयाँका बिटाहरु फेला परेको हुँदा चालक बिनोदलाई सोध्दा उक्त रुपैयाँ भक्तपुर बालकोट बस्ने सुमन घिमिरेले बालकोटस्थित घरमा पुर्‍याउन लगाएको भनी बताएको प्रहरीले जनाएको छ। 

गाडीको डिक्कीमा भएको नगद रकम बरामद गरी गन्दा २७ लाख रुपैयाँ फेला परेको र चालक बिनोदले दिएको सूचनाको आधारमा पैसा धनी सुमन घिमिरेको खोजतलास गर्दा काठमाडौ महानगरपालिका पेप्सीकोलामा निजलाई फेला पारी सोधपुछ गर्दा निजले उक्त रकम आफ्नो भनी स्वीकार गरेको हुँदा निज बस्ने बालकोटस्थित डेराकोठामा समेत तलासी गर्दा नेपाली रुपैयाँ १५ लाख ३० हजार फेला परेको प्रहरीले जनाएको छ। उल्लेखित रुपैयाँ समेत कानून बमोजिम बरामद गरी श्रोत नखुलेको अवैध रकम भएको हुँदा नगद ४२ लाख ३० हजार रुपैयाँ, श्रोत नखुलेको रकम लिएर हिडेको बा. २१ च. ३८३९ नं. को कार, निज सुमन घिमिरेको नाममा काटिएको दुई लाख ५० हजार रुपैयाँको राष्ट्रिय बाणिज्य बैंकको चेक थान –१, ९ नौ लाख पचास हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक थान– १, एक लाख २५ हजार रुपैयाँको स्ट्याण्डर चार्टर बैंकको चेक थान–१, नौ लाख १९ हजार रुपैयाँको नेपाल बैंक लि. को चेक थान–१, १५ लाख रुपैयाँको महालक्ष्मी बिकास बैंकको चेक थान–१, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ बहत्तर हजार रुपैयाँ नगद जम्मा गरेको भौचर थान–१ बरामद भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।  

पक्राउ परेका सुमन र बिनोद दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लािग सम्पति शुद्धिकरण बिभाग पुल्चोक, ललितपुरमा शुक्रबार पठाइएको प्रहरीले जनाएको छ। साथै, निज दुईमध्ये सुमनको सम्बन्धमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौ र महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौबाट बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानको क्रममा खुल्न आएको जनाइएको छ। घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App